अभिभावकलाई झुक्याएर विव्यस गठन
सुर्खेतको सबैभन्दा पूरानो विद्यालय जन माविमा अभिभावकलाई नै झुक्याएर विद्यालय व्यवस्थापन समिति गठनको प्रयास गरिएको छ । जिल्लाकै ठूलो र सबैले चासोको रूपमा लिने यो विद्यालयले मंगलवार आफ्नो ६५ औं वार्षिकोत्सव समारोहको आयोजना गरेको थियो । सोही क्रममा एकाएक विव्यसका सदस्यहरूको नाम घोषणा भएपछि त्यसको तीव्र विरोध सुरु भएको हो ।
वार्षिकोत्सव समारोहको अन्तिम चरणमा अधिकांश अभिभावकहरू घर गइसकेपछि मञ्चबाटै विव्यसका सदस्यहरूको नाम घोषणा गरिएको थियो । कार्यक्रमको अन्त्यतिर साँझपख एक्कासी विव्यसका लागि चार जनाको नाम घोषणा गरिएको थियो । विव्यस गठनको बारेमा आफूहरूलाई कुनै जानकारी नै नदिएर रातारात नाम घोषणा गरिएको भन्दै असन्तुष्ट अभिभावकहरूले तत्काल त्यो खारेज हुनुपर्ने माग गरेका छन् । साथै उनीहरूले सहमति र प्रक्रिया विपरित झुक्याएर घोषणा गरिएको समिति खारेज नभए कडा आन्दोलन गर्ने घोषणा गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयले विव्यस गठनका लागि बारम्बार ताकेता गरेको थियो । मंगलवार पनि वार्षिकोत्सव कार्यक्रममा पुगेका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले सम्बोधनका क्रममा विव्यस गठन गर्न आग्रह गरेका थिए । त्यस लगत्तै अधिकांश अभिभावक फिर्ता भएपछि मञ्चबाट विव्यसका लागि अभिभावकले सुरुवातमा छनौट गर्नुपर्ने चार जना सदस्यका लागि गोविन्द कोइराला, सुशीला परियार, रेशमबहादुर सार्की र बसन्ती थापाको नाम घोषणा गरिएको थियो । शिक्षा नियमावलीमा विव्यसका लागि अभिभावकले चार जना सदस्य छनौट गर्नुपर्ने व्यवस्था छ । ती चार जनाले चन्दा दाता र संस्थापकबाट दुई जना थप सदस्य मनोनित गर्ने प्रावधान रहेको छ । यस्तै विद्यालयका प्रधानाध्यापक सदस्य सचिव र वडा अध्यक्ष वा निजले तोकेको व्यक्ति पनि सदस्य हुने र ती सदस्यहरूबाटै अध्यक्षको चयन हुने व्यवस्था छ ।
तर जन माविमा प्रक्रिया नै नपु¥याएर, अभिभावकसँग छलफल नै नगरेर, पूर्व सूचना विना एकलौटी रूपमा वार्षिकोत्सव कार्यक्रममा नाम घोषणा गरिएको भन्दै अभिभावकले विरोध जनाएका छन् । यसैको विरोधमा अभिभावकहरूले आज (बिहीवार) जिल्ला शिक्षा कार्यालयमा लिखित उजुरी दिने भएका छन् । असन्तुष्ट अभिभावक चिन्तामणि शर्माले रातारात झुक्याएर विव्यस गठनको भ्रम फैलाइएको जनाए । उनले भने, ‘पूर्व सूचना छैन, कोहीसँग पनि छलफल भएको थिएन । झुक्याएर एकाएक घोषणा गरिएको छ, यो कुनै पनि हालतमा मान्य हुँदैन ।’ उनले एकपटक पनि छलफल नभएको, अन्य उम्मेदवारलाई झुक्याइएको, दलीय सहमति पनि नभएको र आवश्यक प्रक्रिया नै पूरा नगरेर घोषणा भएको समिति तत्काल खारेज हुनुपर्ने बताए । आफूहरूले कुनै पनि हालतमा यसको खारेज र नयाँ प्रक्रिया सुरु गराउनका लागि शिक्षा कार्यालयलाई आग्रह गर्ने बताए ।
यस्तै नयाँ समिति घोषणा हुनुभन्दा पहिला विव्यस सदस्य रहेका जीवनकुमार शाक्यले समेत आफूले सदस्यबाट हटेको पनि जानकारी नपाएको भन्दै आश्चर्य व्यक्त गरे । ‘स्कुलमा वार्षिकोत्सव थियो, दिनभरी त्यही कार्यक्रममा बसेर घर फिर्ता भएँ’ उनले भने, ‘घर पुगेपछि पो नयाँ विव्यस घोषणा भएको थाहा पाएँ, कस्तो अचम्म हो ? म विव्यस सदस्यलाई पनि नयाँ समिति गठन हुँदैछ भन्ने जानकारी दिइएन, यो त अलोकतान्त्रिक काम भयो ।’ छलफल र पूर्व जानकारी विना नै घोषणा हुनु गलत भएको र यसले विद्यालयको हित नगर्ने उनको भनाइ छ । यता यसअघिका विव्यस अध्यक्ष र मंगलवार घोषणा गरिएका सदस्य गोविन्द कोइरालाले भने प्रक्रिया पूरा गरेरै विव्यस गठनको प्रक्रिया सुरु भएको दाबी गरे । उनले भने, ‘गैरअभिभाकहरूले अनावश्यक विरोध गरेका छन्, हामीले पटक–पटक अभिभावकसँग छलफल गरेर सहमतिमा नाम घोषणा गरेका हौं । अब केहीदिनमा नै विव्यसले पूर्णता पाउँछ, विरोध गर्नुको कुनै अर्थ छैन । स्वार्थ पूरा गर्न नपाएकाहरूले अनावश्यक भ्रम फैलाएको उनको आरोप छ ।
यसैबीच विव्यस गठनमा चर्को विवाद सुरु भएपछि जिल्ला शिक्षा कार्यालय भने पर्ख र हेरको नीतिमा देखिएको छ । जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले आफूले हल्लामात्र सुनेको भन्दै हालसम्म कसैले पनि विव्यस गठन भएको र त्यसको विरोधमा उजुरी नदिएको बताए । उनले भने, ‘लिखित जानकारी आएको छैन, गठन वा विरोधको लिखित जानकारी आएपछि हामी आवश्यक प्रक्रिया थाल्नेछौं । यदि अभिभावकहरूबीच सहमित भएमा हामी निहुँ खोज्न जाँदैनौं, विवाद उत्पन्न भएमा हामीले आवश्यक हस्तक्षेप गर्नेछौं ।’ शिक्षा कार्यालयले जिल्लाका सबै विद्यालयहरूलाई यही माघ मसान्तभित्र विव्यस गठन नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । विवादकै कारण जिल्लाका ठूला भनिएका आधा दर्जन विद्यालयमा हालसम्म पनि विव्यस गठन हुन सकेका छैनन् ।
प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १२:२९
साझा बिसौनी ।