पूर्वाधार सुधार

शै®या विस्तार गरिए पनि गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको भौतिक पूर्वाधारमा सुधार हुन सकेको छैन । पूर्वाधार नहुँदा कारण अस्पतालबाट प्रदान गरिने सेवा पनि प्रभावकारी हुन सकेको छैन । १५ शैय्याको अस्पताल स्तरोन्नतिका नाममा ५० शैय्याको बनाइएको छ । तर ५० शैय्याबाट दिनुपर्ने सेवाका लागि भवन पर्याप्त छैन । अस्पतालबाट नागरिकले सहज रूपमा सेवा पाउन सकेका छैनन् । जसले गर्दा नागरिकले गुनासो गर्ने गरेका छन् । अस्पतालको शैय्या थपिए पनि सुविधा नथपिएको भन्दै सेवाग्राहीहरू आक्रोशित हुने गरेका छन् । अस्पतालमा आवश्यक पूर्वाधार नहुँदा सेवा प्रवाह गर्न समस्या भएको अस्पतालले जनाएको छ । पूर्वाधार अभाव नै सेवा प्रवाहको मुख्य बाधक भएको छ । सरकारले शै®या थप गर्ने काम गर्‍यो । तर सोहीअनुसारको पूर्वाधारको व्यवस्था छैन ।

नयाँ भवन निर्माण कार्य थालिएको समेत वर्षाै बितिसक्दासम्म पनि सम्पन्न भएको छैन । हाल अस्पतालको सेवा साँघुरो भवनबाट दिने गरिएको छ । सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ हुँदै आएको छ । पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको छ । मौसमी रोगका बिरामी बढेका छन् । दैनिक सरदर डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको छ । साँघुरो भवनबाट सेवा दिँदा एकै कोठामा भीड धेरै हुनेगरेको छ । अप्रेशन पश्चात् बिरामीलाई राख्ने ठाउँ अपुग हुँदा समस्या भएको उनले बताए । इमरजेन्सी, अपरेशन थियटर, ल्यावलगायतका सेवा प्रवाह गर्न समेत निकै समस्या भएको छ ।

भौतिक पूर्वाधारसँगै अस्पतालले जनशक्ति अभावको समेत समस्या झेल्दै आएको छ । एकातर्फ अस्पतालको दरबन्दी नै पर्याप्त छैन । त्यसमाथि दरबन्दीअनुसार दक्ष जनशक्ति पनि छैनन् । अस्पतालमा स्वीकृत दरबन्दी ५३ जनाको हो । त्यसमध्ये ४० जना स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । १३ पद रिक्त छ । अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी पाँच जनाको भएपनि पाँच वटै दरबन्दी रिक्त छ । चार जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा एक जना पनि दरबन्दीमा कार्यरत छैनन् । आवश्यक दक्ष कर्मचारीको अभावले गर्दा सेवामा प्रभाव परेको छ । ५० शैय्याको सेवा दिइरहेको अस्पताल विशेषज्ञ डाक्टरविहीन छ । अस्पताल बनाउने तर आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा ध्यान नदिनाले स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन । यसतर्फ तीनै तहका सरकार गम्भिर हुन जरुरी देखिन्छ ।

प्रकाशित मितिः   १९ भाद्र २०८०, मंगलवार ०५:०३