समस्याग्रस्त स्वास्थ्य संस्था

कर्णालीका सबैजसो अस्पतालमा पूर्वाधार र जनशक्तिको अभाव

सुर्खेत: सुर्खेतमा रहेको प्रदेश अस्पताल कर्णाली प्रदेशकै प्रमुख स्वास्थ्य संस्था हो । तीन सय शैड्ढयासहितको यो अस्पताललाई अहिले बिरामीको चाप थेग्नै धौ–धौ छ । भौतिक संरचना त छन् तर पर्याप्त जनशक्ति छैनन् । स्वास्थ्य उपचार सेवामा फड्को मार्दै गएको अस्पतालले जनशक्ति अभाव झेलिरहेको छ । बिरामीको चापअनुसार सेवाका लागि स्वास्थ्यकर्मी छैनन् । दक्ष जनशक्तिको चरम अभाव रहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।

यस्तै, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान यो प्रदेशको अर्को ठूलो स्वास्थ्य संस्थान हो । यो पनि समस्याग्रस्त अवस्थामा छ । डाक्टर उत्पादन गर्ने प्रदेशकै एक मात्र प्रतिष्ठानले आर्थिक अभाव झेलिरहेको छ । बजेट अभावका कारण आवश्यक भौतिक संरचना र पूर्वाधार निर्माण हुन सकेको छैन । कतिपय संरचना अलपत्र अवस्थामा छन् । पर्याप्त भवन नहुँदा भाडामा भवन प्रयोग गर्नुपरिरहेको छ । १४ वटा घर भाडामा लिएर प्रतिष्ठान सञ्चालन भइरहेको छ ।

कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूको अवस्था बताउने दुई उदाहरण हुन्, यी । यस्तै अनेक समस्याबाट ग्रस्त छन् यहाँका अन्य स्वास्थ्य संस्थाहरू पनि । साझा बिसौनी दैनिकले प्रदेशका दशवटै जिल्लामा रहेका मुख्य स्वास्थ्य संस्थाहरूको अवस्थाका बारेमा ११ वटा समाचार श्रृंखला प्रकाशित गरेको छ । जसले के देखाउँछ भने कर्णालीमा कुनै पनि स्वास्थ्य संस्था बलियो अवस्थामा छैनन् । सबैजसोले बेहोरिरहेको समस्या हो, पूर्वाधार र जनशक्ति अभाव ।

कतै पूर्वाधार छ, जनशक्ति छैनन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोट यस्तै एक उदाहरण हो । अस्पतालमा बिरामीको चाप बर्सेनि बढ्दो छ । २५ शैय्याबाट सुरु भएको अस्पतालको क्षमता ५० शैय्यामा पुगेको छ । सेवा र भवनहरू पनि थपिएका छन् । तर आवश्यकताअनुसार जनशक्तिको संख्या भने बढ्न सकेको छैन । अस्पतालले सेवा विस्तार गरेपनि आवश्यक पर्ने जनशक्तिको अभाव छ । बिरामीको चाप र थपिएका सेवाको अनुपातमा कर्मचारीको दरबन्दी नबढ्दा समस्या भएको कार्यालयका प्रमुख डा. प्रतिक्षा भारती बताउँछिन् । उनले भनिन्, ‘अस्पतालमा विभिन्न विभागहरू थपिँदै गयो । सेवाहरू बढ्दै गए । सरकारले कार्यक्रम दिन्छ । सेवाहरू बढाउनु भन्छ तर त्यो अनुसार कर्मचारीको दरबन्दी नै बढाउँदैन ।’

५० शैय्याको अस्पताल निर्माण भएपनि स्थायी कर्मचारीको दरबन्दी भने २५ शैय्या अनुसारको मात्र छ । कूल ६० जनाको स्थायी दरबन्दी रहेकोमा अहिले ३० जना मात्रै दरबन्दीमा कार्यरत छन् । ३० जनाको दरबन्दी रिक्त छ । बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारीको भरमा सेवा सञ्चालन भइरहेको छ । करारका कर्मचारी मात्र ५८ जना छन् भने कार्यालयमा स्थायी र करार गरी जम्मा ८८ जना कर्मचारी कार्यरत छन् । तर दरबन्दीअनुसार दक्ष जनशक्तिको अभाव कायमै छ ।

स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) सल्यानले पनि दक्ष जनशक्ति पाएको छैन । जनशक्ति नहुँदा उपलब्ध स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् । एउटा भिडियो एक्सरे मेसिन, ६ वटा भेन्टिलेटर र एउटा एम्बुलेन्ससमेत थन्क्याएर राखिएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक नै छैनन् । जसले गर्दा महँगो रकम खर्चिएर खरिद गरिएका सामग्री नै प्रयोगविहीन भएर थन्किएका छन् भने नागरिकले पर्याप्त स्वास्थ्य सेवा लिन पाएका छैनन् । जटिल रोगको उपचार गर्न बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ । स्वीकृत दरबन्दीअनुसार अस्पतालमा ६१ जना स्थायी सेवाका कर्मचारीको पदपूर्ति हुनुपर्ने हो । तर स्थायी दरबन्दीमा ३२ जनाको मात्रै पदपूर्ति गरिएको छ, २९ पद रिक्त छन् ।

जनशक्ति अभावको समस्या कतिसम्म छ भने कतिपय अस्पताल करार जनशक्तिकै भरमा सञ्चालन भइरहेका छन् । स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ । अस्पतालमा ४४ जनाको स्वीकृत दरबन्दी हो । तर अहिले ३२ जना स्थायी दरबन्दीमा कार्यरत छन्, १२ जनाको दरबन्दी रिक्त छ । अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी तीन जनाको भएपनि दरबन्दी अनुसार एक जना पनि डाक्टर छैनन् । करारमा एक जना विशेषज्ञ डाक्टर मात्र अस्पतालमा कार्यरत छन् । विशेषज्ञ डाक्टर मात्र होइन हुम्ला अस्पतालमा मेडिकल अधिकृत एक जना पनि स्थायी दरबन्दीका छैनन् । करारका पाँच जना मेडिकल अधिकृत र करारकै एक जना विशेषज्ञ डाक्टरको भरमा अस्पताल सञ्चालन भइरहेको छ । हाल अस्पतालमा करार र स्थायी गरेर जम्मा ६२ जना कर्मचारी कार्यरत छन् । करार सेवामा कार्यरत चिकित्सकले उपचार गरिरहेका छन् ।

प्रकाशित मितिः   १९ भाद्र २०८०, मंगलवार ०९:०७