सडक निर्माणको गति

सुर्खेतको धुलियाविटदेखि भेडाबारी जोड्ने सडक निर्माण थालिएको चार दशक पुगिसकेको छ । तर यो सडकको अवस्था भने अझै सुध्रिएको छैन । लामो समयदेखि स्तरोन्नति हुन नसकेको सडक पछिल्लो समय मदन भण्डारी राजमार्ग अन्तर्गत परेको छ । पूर्व–पश्चिम जोड्ने राजमार्गमा परेपछि सडक सुधार हुने अपेक्षा गरिएको छ । तर पछिल्लो केही वर्षदेखि काम थालिएको भएपनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । विभिन्न विवाद र व्यवधानमा अल्झिदै आएको छ । हालै मात्र विवाद समाधान गरेर काम अघि बढाइएको छ । अबभने सडक सुधार हुनेतर्फ अघि बढेको छ । अन्य बाधा उत्पन्न नभए र तीव्र गतिमा काम अघि बढेमा आगामी एक वर्षभित्रै सडक स्तरोन्नति गरेर कालोपत्रे हुनेछ ।

एक वर्षभित्रै सम्पन्न गर्नेगरी कालोपत्रको काम अघि बढाउन लागिएको छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी ३० किलोमिटर कालोपत्रे गर्नुपर्नेछ । वन क्षेत्रमा पर्ने रूख कटानको अवरोध हटेपछि सडक स्तरोन्नतिको काम अघि बढिसकेको छ । शनिवार सडकको अनुगमन गर्दै संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले आगामी एक वर्षभित्रैमा निर्माण सकिने बताएका छन् । गत साउनमा आयोजनाले रूख कटानको अनुमति पाएको थियो । डिभिजन वन कार्यालय सुर्खेतले सडक खण्डमा पर्ने रूख काट्न स्वीकृति दिएको हो । रूख कटानको अनुमति नपाउँदा ३५ किलोमिटर सडक निर्माणमा अवरोध भएको थियो । कटान अनुमति नपाए पनि सडक क्षेत्रका रूखमा चिनो लगाउन काम भने यसअघि नै सुरु गरिएको थियो । चिनो लगाउन थालिएको लामो समयपछि कटानका लागि स्वीकृति पाएको हो । धुलियाविट–भेडाबारी सडक खण्डअन्तरगर्त १८ किलोमिटर वनक्षेत्र पर्दछ । हालसम्म सात किलोमिटर क्षेत्रभित्रका रूखमा चिनो लगाइएको छ । एक हजार एक सय १४ वटा रूख कटानका लागि राजमार्गले वनसँग स्वीकृति मागेको थियो । तर स्थलगत अनुगमनपछि कटान गर्नुपर्ने रूखको संख्या घटाइएको छ । अनुगमनबाट एक हजार एक सय तीन वटा रूख मात्र काट्नुपर्ने देखिएको वन कार्यालयले जनाएको छ । काटिएका काठहरू पुनः राजमार्गले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने छ ।

वन कार्यालयबाट स्वीकृति पाएसँगै सडक निर्माणको कामले पनि गति लिएको हो । सडक निर्माणमा हालसम्मको प्रगति भने सन्तोषजनक छैन । सम्झौता गरिएको अवधि सकिनै लाग्दासमेत धुलियाविट–भेडाबारी सडक खण्डको कामले गति लिन नसकेको हो । हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । अब भने यसको गति बढाउन जरुरी छ । सबै विवाद समाधान भइसकेका कारण पनि अब धमाधम निर्माणको काम गर्न सकिन्छ ।

प्रकाशित मितिः   १८ भाद्र २०८०, सोमबार ०५:०३