मेहेलकुना अस्पताल

भौतिक पूर्वाधारकै कमी

सुर्खेत: शैय्या विस्तार गरिए पनि गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको भौतिक पूर्वाधारमा सुधार हुन सकेको छैन । पूर्वाधार नहुँदा कारण अस्पतालबाट प्रदान गरिने सेवा पनि प्रभावकारी हुन सकेको छैन । पूर्वाधार अभावमा दैनिक सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पतालका प्रमुख डा. सोजन सापकोटा बताउँछन् ।

१५ शैय्याको अस्पताल स्तरोन्नतिका नाममा ५० शैड्ढयाको बनाइएको छ । तर ५० शैय्याबाट दिनुपर्ने सेवाका लागि भवन पर्याप्त छैन । अस्पतालबाट नागरिकले सहज रूपमा सेवा पाउन सकेका छैनन् । जसले गर्दा नागरिकले गुनासो गर्ने गरेका छन् । अस्पतालको शैय्या थपिए पनि सुविधा नथपिएको भन्दै सेवाग्राहीहरू आक्रोशित हुने गरेका छन् । अस्पतालमा आवश्यक पूर्वाधार नहुँदा सेवा प्रवाह गर्न समस्या भएको अस्पतालले जनाएको छ । पूर्वाधार अभाव नै सेवा प्रवाहको मुख्य बाधक भएको प्रमुख डा. सापकोटा बताउँछन् । उनी भन्छन्, ‘सरकारले शैय्या थप गर्ने काम ग¥यो । तर सोहीअनुसारको पूर्वाधारको व्यवस्था छैन ।’

नयाँ भवन निर्माण कार्य थालिएको समेत वर्षाै बितिसक्दासम्म पनि सम्पन्न भएको छैन । हाल अस्पतालको सेवा साँघुरो भवनबाट दिने गरिएको छ । सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको कार्यालयका प्रमुख डा. सापकोटाले बताए । उनका अनुसार पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको छ । मौसमी रोगका बिरामी बढेका छन् । दैनिक सरदर डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको सापकोटाले जनाए ।

साँघुरो भवनबाट सेवा दिँदा एकै कोठामा भीड धेरै हुनेगरेको छ । ‘अहिले अस्पतालमा बिरामीको चाप बढी छ, फेरि सुत्केरीको संख्या पनि बढेको छ,’ प्रमुख डा. सापकोटाले भने, ‘भवन अभावका कारण ठाउँ साघुँरो भएको छ, सेवा दिन पनि समस्या छ ।’ अप्रेशन पश्चात् बिरामीलाई राख्ने ठाउँ अपुग हुँदा समस्या भएको उनले बताए । इमरजेन्सी, अपरेशन थियटर, ल्यावलगायतका सेवा प्रवाह गर्न समेत निकै समस्या भएको छ । पूर्वाधारको अभाव धेरै नै रहेको भन्दै उनले भवन निर्माणको काममा ढिलाई भइरहेको बताए ।

 

जनशक्ति पनि अपुग

भौतिक पूर्वाधारसँगै अस्पतालले जनशक्ति अभावको समेत समस्या झेल्दै आएको छ । एकातर्फ अस्पतालको दरबन्दी नै पर्याप्त छैन । त्यसमाथि दरबन्दीअनुसार दक्ष जनशक्ति पनि छैनन् । अस्पतालमा स्वीकृत दरबन्दी ५३ जनाको हो । त्यसमध्ये ४० जना स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । १३ पद रिक्त छ । अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी पाँच जनाको भएपनि पाँच वटै दरबन्दी रिक्त छ । चार जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा एक जना पनि दरबन्दीमा कार्यरत छैनन् ।

आवश्यक दक्ष कर्मचारीको अभावले गर्दा सेवामा प्रभाव परेको डा. सापकोटा बताउँछन् । ५० शैय्याको अस्पताललाई दरबन्दी नै थोरै भएको र भएको दरबन्दीमा पनि डाक्टरहरू नभएको नहुँदा सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ । अस्पतालमा जनशक्ति हुँदा पनि करारका कर्मचारी राखिएको छैन ।

२०७२ सालमा स्थापना भएको मेहेलकुना अस्पताल कर्णाली प्रदेश सरकारको मातहतमा रहेको छ । हाल अस्पतालमा विशेषज्ञ डाक्टर छैनन् । ५० शैय्याको सेवा दिइरहेको अस्पताल विशेषज्ञ डाक्टरविहीन छ । संघ र प्रदेश सरकारलाई जनशक्ति अभावबारे जानकारी गराएपनि सुनुवाइ नभएको उनको भनाइ छ । अस्पतालमा दैनिक दुई सयभन्दा बढी सेवाग्राही सेवा लिन आउने गरेका छन् । नयाँ भवन निर्माणकै क्रममा रहेको छ ।

प्रकाशित मितिः   १८ भाद्र २०८०, सोमबार ०५:०५