जनशक्ति व्यवस्थापन गर

कर्णाली प्रदेश अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि पछिल्ला वर्षमा नागरिकलाई उपचारका लागि सहज भएको छ । कर्णालीवासी मात्र नभइ छिमेकी प्रदेशबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन् । केही वर्षअघिसम्म कर्णालीका बिरामी जटिल रोगको उपचारका लागि नेपालगञ्ज, काठमाडौं र भारतसम्म पुग्नुपर्ने बाध्यता थियो । अहिले सबैजसो उपचार सेवा कर्णालीमै हुनेभएपछि उक्त बाध्यता हटेको छ । नागरिकले घरआगनबाटै विशेषज्ञ सेवा लिइरहेका छन् । तर बिरामीको चाप बढेसँगै त्यसलाई थेग्न भने अस्पताललाई धौ–धौ भइरहेको छ । पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । अस्पतालले स्वास्थ्य बीमाबापत पाइने विभिन्न सेवा पनि दिइरहेको छ । बीमामा उल्लेख भएका उपचार सेवा सहजै पाइने भएपछि उपचारका लागि आउने बिरामीको संख्या पनि बढेको हो । अघिल्ला वर्षहरूको तुलनामा सेवा लिनेको संख्या वृद्धि भएको छ ।

स्वास्थ्य उपचार सेवामा फड्को मार्दै गएको अस्पतालले जनशक्ति अभाव भने अहिले पनि झेलिरहेको छ । बिरामीको चाप अत्यधिक भएपनि सोही अनुपातमा स्वास्थ्यकर्मी छैनन् । अधिकृत स्तरको स्थायी पदपूर्ति नभएकाले दिगो रूपमा चिकित्सक तथा कर्मचारी व्यवस्थापन गर्न कठिनाई भएको देखिन्छ । बिरामीको चापअनुसार सेवा प्रवाह गर्न भवन अपर्याप्त, अस्पतालको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम नभएको र चिकित्सक तथा कर्मचारी आवासको अभाव रहेको बताइएको छ । प्रदेश अस्पतालमा स्वीकृत दरबन्दी तीन सय २५ जनाको हो । तर अहिले स्थायी दरबन्दीमा एक सय ९० जना कार्यरत छन् । त्यसमध्ये तल्लो तहका कर्मचारी धेरै छन् । एक सय ३५ दरबन्दी रिक्त छ । यसैगरी विशेषज्ञ डाक्टरको दरबन्दी ५० जनाको हो । स्थायी दरबन्दीमा दश जना विशेषज्ञ डाक्टर मात्र कार्यरत रहेका छन् भने ४० जना विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । विशेषज्ञ डाक्टरको मात्र होइन मेडिकल अधिकृत पनि दरबन्दीमा कम मात्र कार्यरत रहेका छन् । अस्पतालमा २२ जना मेडिकल अधिकृतको दरबन्दी रहेको छ । तर हाल आठ जना स्थायी दरबन्दीमा कार्यरत रहेका छन् । अस्पताल करारकै भरमा सञ्चालन भइरहेको छ । दरबन्दी र करारका गरी पाँच सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

भौतिक संरचना विकासका हिसाबले अस्पताल अब्बल बन्दै गएको छ । तर भौतिक पूर्वाधारको विकासले मात्रै अस्पतालको सेवामा सुधार हुन सक्दैन । सेवा सुरधारका लागि आवश्यक संख्यामा जनशक्तिको व्यवस्थापन अनिवार्य र अपरिहार्य हुन्छ । जुन कर्णाली प्रदेश अस्पतालले पाएको छैन । त्यसैले प्रदेश अस्पतालको सेवामा सुधार ल्याउन जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

प्रकाशित मितिः   १७ भाद्र २०८०, आईतवार ०५:०३