धुलियाविट–भेडाबारी सडक: एक वर्षभित्र कालोपत्र सक्ने तयारी

सुर्खेत: मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाविटदेखि भेडाबारी जोड्ने सडक कालोपत्रेको काम अघि बढ्ने भएको छ । एक वर्षभित्रै सम्पन्न गर्नेगरी कालोपत्रको काम अघि बढाउन लागिएको हो । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी ३० किलोमिटर कालोपत्रे गर्नुपर्नेछ ।

वन क्षेत्रमा पर्ने रूख कटानको अवरोध हटेपछि सडक स्तरोन्नतिको काम अघि बढिसकेको छ । शनिवार सडकको अनुगमन गर्दै संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले आगामी एक वर्षभित्रैमा निर्माण सकिने बताएका छन् । ‘सडक निर्माणको काम अहिले गति लिइरहेको छ, वर्षदिनभित्रमा सुर्खेतको पूर्वी क्षेत्रको खण्ड निर्माण सकिन्छ’ ज्यालाले भने । लक्ष्यअनुसार नै काम अघि बढेकाले निर्धारित समयमै सकिने उनको भनाइ थियो । मन्त्री ज्वालाले भने, ‘एक वर्षमा कालोपत्रेको काम सक्ने लक्ष्य राखिएको छ, लक्ष्य अनुसार नै काम अघि बढिरहेको छ, निर्माणको काम चाँडै पूरा हुन्छ ।’
गत साउनमा आयोजनाले रूख कटानको अनुमति पाएको थियो । डिभिजन वन कार्यालय सुर्खेतले सडक खण्डमा पर्ने रूख काट्न स्वीकृति दिएको हो । रूख कटानको अनुमति नपाउँदा ३५ किलोमिटर सडक निर्माणमा अवरोध भएको थियो । कटान अनुमति नपाए पनि सडक क्षेत्रका रूखमा चिनो लगाउन काम भने यसअघि नै सुरु गरिएको थियो । चिनो लगाउन थालिएको लामो समयपछि कटानका लागि स्वीकृति पाएको हो ।

धुलियाविट–भेडाबारी सडक खण्डअन्तरगर्त १८ किलोमिटर वनक्षेत्र पर्दछ । हालसम्म सात किलोमिटर क्षेत्रभित्रका रूखमा चिनो लगाइएको छ । एक हजार एक सय १४ वटा रूख कटानका लागि राजमार्गले वनसँग स्वीकृति मागेको थियो । तर स्थलगत अनुगमनपछि कटान गर्नुपर्ने रूखको संख्या घटाइएको छ । अनुगमनबाट एक हजार एक सय तीन वटा रूख मात्र काट्नुपर्ने देखिएको वन कार्यालयले जनाएको छ । काटिएका काठहरू पुनः राजमार्गले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने छ ।

वन कार्यालयबाट स्वीकृति पाएसँगै सडक निर्माणको कामले पनि गति लिएको हो । रूख कटानको बाटो खुलेसँगै सडक निर्माणको कामले गति लिने मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले बताए । उनले भने, ‘जग्गा विवाद र वनको कुरा सुल्झिएको छ । अब रफ्तारमा काम अघि बढ्छ ।’ धेरै काम गर्न बाँकी रहेको भन्दै उनले वनले त्यसको बाटो खोलिदिएको जनाए । ‘काम गर्न धेरै बाँकी छ’, हरिजनले भने, ‘अब कामले गति लिनेछ । काम गर्ने सबै बाटो खुल्ला भएको छ ।

सडक निर्माणमा हालसम्मको प्रगति भने सन्तोषजनक छैन । सम्झौता गरिएको अवधि सकिनै लाग्दासमेत धुलियाविट–भेडाबारी सडक खण्डको कामले गति लिन नसकेको हो । राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका (केएस) वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । तर निर्माण सम्झौता सकिन केही महिना मात्र बाँकी रहँदा आधाभन्दा कम मात्र काम भएको छ । हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

सम्झौता अनुसार सडक स्तरोन्नति र कालोपत्र सँगै १२ वटा मोटरेवल पुल निर्माणको जिम्मा पनि सोही जेभीले पाएको छ । तीमध्ये तीन वटा पुल निर्माणको काम सकिएको छ । अन्य निर्माणाधिन अवस्थामा छन् । अन्य पुलहरूको ठेक्का पक्रियामा गएर निर्माणका काम भइरहेको छ ।

यो सडकले वीरेन्द्रनगरस्थित धुलियाविटबाट भेरीपारिका बस्ती लेकवेशी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्नेछ । हालसम्म राजमार्गको पाँच किलोमिटर कालोपत्रे हुनुका साथै १५ किलोमिटर सडक ग्राभेल भइसकेको छ । अन्य काम चलिरहेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार भेडाबारी सडकखण्डलाई नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने भएको छ । स्तरोन्नति गर्दा झन्डै ५२ प्रतिशत सडक चौडाई बनाइने छ ।

प्रकाशित मितिः   १७ भाद्र २०८०, आईतवार ०५:०५