बिरामीको चाप थेग्नै धौ–धौ

प्रदेश अस्पतालमा जनशक्ति अभाव, सेवा भने विस्तार हुँदै

सुर्खेत: कर्णाली प्रदेश अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि पछिल्ला वर्षमा नागरिकलाई उपचारका लागि सहज भएको छ । कर्णालीवासी मात्र नभइ छिमेकी प्रदेशबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन् । केही वर्षअघिसम्म कर्णालीका बिरामी जटिल रोगको उपचारका लागि नेपालगञ्ज, काठमाडौं र भारतसम्म पुग्नुपर्ने बाध्यता थियो । अहिले सबैजसो उपचार सेवा कर्णालीमै हुनेभएपछि उक्त बाध्यता हटेको छ । नागरिकले घरआगनबाटै विशेषज्ञ सेवा लिइरहेका छन् । तर बिरामीको चाप बढेसँगै त्यसलाई थेग्न भने अस्पताललाई धौ–धौ भइरहेको छ ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । अस्पतालले स्वास्थ्य बीमाबापत पाइने विभिन्न सेवा पनि दिइरहेको छ । बीमामा उल्लेख भएका उपचार सेवा सहजै पाइने भएपछि उपचारका लागि आउने बिरामीको संख्या पनि बढेको हो । अघिल्ला वर्षहरूको तुलनामा सेवा लिनेको संख्या वृद्धि भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

जनशक्तिको चरम अभाव

स्वास्थ्य उपचार सेवामा फड्को मार्दै गएको अस्पतालले जनशक्ति अभाव भने अहिले पनि झेलिरहेको छ । बिरामीको चाप अत्यधिक भएपनि सोही अनुपातमा स्वास्थ्यकर्मी छैनन् । दक्ष जनशक्तिको चरम अभाव रहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । प्रदेश लोकसेवा आयोगले नवौँ तहको विज्ञापन नगर्ने, संघबाट दरबन्दीमा कर्मचारी नपठाउने जस्ता कारणले अस्पतालले विशेषज्ञ डाक्टर पाउन नसकेको उनको भनाइ छ । दक्ष जनशक्ति अभाव नै सेवा प्रवाह गर्नका लागि मुख्य बाधक बनेको डा. खड्काले बताएका छन् । उनले भने, ‘बरु पूर्वाधार र उपकरणविना सेवा दिन सम्भव छ तर जनशक्ति नभए सेवा प्रवाह गर्न कठिनाइ हुन्छ ।’

अधिकृत स्तरको स्थायी पदपूर्ति नभएकाले दिगो रूपमा चिकित्सक तथा कर्मचारी व्यवस्थापन गर्न कठिनाई भएको देखिन्छ । बिरामीको चापअनुसार सेवा प्रवाह गर्न भवन अपर्याप्त, अस्पतालको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम नभएको र चिकित्सक तथा कर्मचारी आवासको अभाव रहेको बताइएको छ ।

प्रदेश अस्पतालमा स्वीकृत दरबन्दी तीन सय २५ जनाको हो । तर अहिले स्थायी दरबन्दीमा एक सय ९० जना कार्यरत छन् । त्यसमध्ये तल्लो तहका कर्मचारी धेरै छन् । एक सय ३५ दरबन्दी रिक्त छ । यसैगरी विशेषज्ञ डाक्टरको दरबन्दी ५० जनाको हो । स्थायी दरबन्दीमा दश जना विशेषज्ञ डाक्टर मात्र कार्यरत रहेका छन् भने ४० जना विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । विशेषज्ञ डाक्टरको मात्र होइन मेडिकल अधिकृत पनि दरबन्दीमा कम मात्र कार्यरत रहेका छन् । अस्पतालमा २२ जना मेडिकल अधिकृतको दरबन्दी रहेको छ । तर हाल आठ जना स्थायी दरबन्दीमा कार्यरत रहेका छन् । अस्पताल करारकै भरमा सञ्चालन भइरहेको छ । दरबन्दी र करारका गरी पाँच सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

अस्पतालले उपचारका लागि आएका बिरामीमध्ये एक प्रतिशत मात्र रिफर गर्ने गरेको छ । उपकरण र सेवा विस्तार गरेर अस्पतालमा सबै सेवा पु¥याउने लक्ष्य लिइएको निर्देशक खड्काले जनाए । जसअनुसार एक वर्षभित्रमा क्याथल्यावको स्थापना र सञ्चालन गर्ने योजना राखेको छ । यसका लागि संघीय सरकारसँग १२ करोड बजेट माग गरिएको उनले जानकारी दिए ।

आगामी दिनमा विद्युत र वैकल्पिक ऊर्जाको प्रर्याप्त व्यवस्था गर्ने तथा एक महिनाभित्रमा एम.आर.आई. मेसिन जडान र सञ्चालन गर्ने योजना पनि अस्पतालले अघि सारेको छ । यसबाहेक डायलिशिस सेवाको विस्तार, बर्थिङ सेन्टर सञ्चालन गरिनेछ । आगामी तीन वर्षभित्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि पहल भइरहेको छ । तीन वर्षमा तला थप निर्माण कार्य सम्पन्न, बाल अस्पताल निर्माण र सञ्चालन गर्ने लक्ष्य राखिएको निर्देशक खड्काले जनाए । प्रदेश अस्पताल हाल तीन सय शैड्ढयाबाट सञ्चालन भइरहेकोमा तला थप गरी पाँच सय शैड्ढयामा विस्तार गर्नेगरी काम भइरहेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रतिबद्धता जनाएका छन् । शुक्रवार प्रदेश अस्पताल सुर्खेतको अवलोकन गर्दै उनले अझैपनि कर्णालीका जनताले सर्वसुलभ स्वास्थ्य सेवा नपाइरहेको बताए । यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको मन्त्री बस्नेतनको भनाइ थियो ।

प्रकाशित मितिः   १६ भाद्र २०८०, शनिबार ०५:०९