‘नगर बस’को भाडा वृद्धि

सुर्खेत: वीरेन्द्रनगरमा सञ्चालित ‘नगर बस’को भाडादर वृद्धि गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भाडा पनि बढाइएको हो ।

संयुक्त यातायात व्यवस्थापन समितिले वीरेन्द्रनगरमा केही समयदेखि नगर बसका रूपमा माइक्रो बस सञ्चालन गर्दै आएको छ । जसको भाडादर प्रतिव्यक्ति २० रूपैयाँ कायम गरिएको थियो । नेपाल आयल निगमले डिजेलको मूल्य ह्वात्तै बढाएपछि साविकको भाडादरमा सेवा दिन नसकिने भन्दै व्यवसायीले १० रूपैयाँ वृद्धि गरेका छन् ।

धुलियाविट–प्रदेश अस्पताल–बाँगेशीमल–धुलियाविट रुटमा गुड्दै आएका नगर माइक्रो बसले २० रूपैयाँमा भाडादर लागू गरेर सेवा दिँदै आएका थिए । तर पछिल्लो १५ दिनमा तीन पटक डिजेलमा मूल्यवृद्धि गरेर एक सय ६९ रूपैयाँ प्रतिलिटर पुगेपछि संयुक्त यातायात व्यवसायी समितिले नगरभित्र चल्ने माइक्रो बसको भाडा ३० रूपैयाँ कायम गरेका हुन् । ‘पछिल्लो पटक लगातार तेलको मूल्यवृद्धिहुँदा २० रूपैयाँमै यात्रुहरूलाई सेवा दिन सकिने अवस्था रहेन,’ देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले भने, ‘यसअघि दुई पटक बढेको मूल्यमा २० रूपैयाँमै यात्रुहरूलाई सेवा दिइरहेको हो । तर लगातार तेलको मूल्य बढ्दा १० रूपैयाँ बढाएर प्रतियात्री ३० रूपैयाँ लिने गरी भाडादर बढाइएको हो ।’

पछिल्लो पटक बढाइएको भाडादर शनिवारदेखि लागू गरिने उनले बताए । सरकारले तेलको मूल्य घटाएमा बढाइएको भाडादार पनि घटाउने यातायात व्यवसायीहरूले जानकारी दिएका छन् । वीरेन्द्रनगरमा दैनिक १४ वडा नगर माइक्रो बस सञ्चालन गरिँदै
आएको छ ।

प्रकाशित मितिः   १६ भाद्र २०८०, शनिबार ०५:०४