सुन्दर नेपालको साधारणसभा

सुर्खेत: सुन्दर नेपाल संस्थाको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षता एवम् कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा सभा गरिएको हो ।

संस्थाले कर्णाली र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा विभिन्न १२ वटा परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनाहरूबाट करिब ७१ हजार सात सय ३३ जना नागरिक लाभान्वित भएको संस्थाका सचिव हिरामणि पौड्यालले जानकारी दिए । यस्तै गत आर्थिक वर्षमा नौ करोड ६३ लाख १८ हजार रूपैयाँ बराबर खर्च भएको जानकारी दिँदै आगामी वर्षका लागि १० करोड ६१ लाख ७० हजार बराबरको आयव्यय प्रस्ताव गरिएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूहरू ओमप्रकाश थापा र गोमा हमाललाई पुरस्कृत गरिएको थियो भने सामाजिक अभियान्ता डा. नवराज केसीलाई सम्मान गरिएको छ ।

सभालाई सम्बोधन गर्दै प्रमुख अथिति शाहीले सुन्दर नेपाल संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू अत्यन्तै प्रभावकारी भएको बताए । भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुन्दर नेपालले राज्य पुग्न नसकेका ठाउँहरूमा पुगेर समेत संस्थाले काम गरिरहेको भन्दै प्रशंसा गरे ।

प्रकाशित मितिः   १६ भाद्र २०८०, शनिबार ०५:०२