अस्थायी ‘टहरो’मा अस्पताल

भवन नहुँदा सेवा प्रवाहमा समस्या, जनशक्ति पनि अपुग

 

सुर्खेत: भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) कालीकोट अहिले अस्थायी टहरोबाट सञ्चालन भइरहेको छ । पुरानो भवन भत्काइएको छ भने नयाँ भवन निर्माण थालेको ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । जसले गर्दा अस्पतालको सेवा प्रभावित बनेको छ ।
वि.सं. २०४३ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रूपमा स्थापना गरिएको पुरानो भवन भत्काइएको ६ वर्ष बित्यो । नयाँ भवन निर्माण गर्ने भन्दै उक्त भवन भत्काइएको हो । नयाँ भवन निर्माण कार्य थालिएको समेत वर्षा बितिसक्दासम्म पनि सम्पन्न भएको छैन । हाल अस्पतालको सेवा अस्थायी रूपमा टिनको टहरोबाट दिने गरिएको छ । २०७२ मा निर्माण गरिएको ट्रष्टको भवनबाट अस्पतालको रूपमा सेवा प्रदान गरिएको छ ।
सेवाग्राहीको चाप बढ्दा उक्त अस्थायी भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको कार्यालयका निमित्त प्रमुख डा. शङ्केत विश्वकर्माले बताए । उनका अनुसार पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक सरदर दुई सय बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको विश्वकर्माले जनाए ।
साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै हुनेगरेको छ । ‘अहिले अस्पतालमा बिरामीको चाप बढी छ, फेरि सुत्केरी संख्या पनि बढेको छ,’ प्रमुख डा. विश्वकर्माले भने, ‘भवन अभावका कारण ठाउँ साघुँरो भएको छ, सेवा दिन पनि समस्या छ ।’ अप्रेशन पश्चात् बिरामीलाई राख्ने ठाउँ अपुग हुँदा समस्या भएको उनले बताए । इमरजेन्सी, अपरेशन थियटर, ल्यावलगायतका सेवा प्रवाह गर्न समेत निकै समस्या भएको छ ।
सम्झौताअनुसार नयाँ भवन निर्माणको काम एक वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो । २०७५ असोजमा भएको ठेक्का सम्झौतामा चार वर्षमा काम सम्पन्न गर्ने सहमति छ । तर हालसम्म भवन अस्पताललाई हस्तान्तरण गरिएको छैन । अस्पतालको सेवा भने टिनको छाप्रोबाट प्रवाह भइरहेको छ । अस्पतालको भवन बनाउन डाँफे क्यारावान सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको २१ करोड बजेटमा निर्माण सम्झौता गरिएको छ ।
निर्माण कम्पनीले जतिसक्दो छिटो भवन हस्तान्तरण गरिने जनाएको छ । व्यवसायी तारा शाहीले आउँदो असोजमा अस्पताललाई भवन हस्तान्तरण गरिने बताइन् । उनले भनिन्, ‘२०७५ असोजमा चार वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको हो । कोरोनाका कारण दुई वर्ष काम हुन सकेन । विविध कारणले समय पर धकेलियो । अब भवन निर्माणको काम सकिएको छ । असोजमा भवन हस्तान्तरण गर्छौं ।’
दरबन्दी अनुसार छैनन् जनशक्ति
एकातिर भवनको समस्या झेलिरहेको अस्पतालले अर्कोतर्फ जनशक्ति अभावको समस्या पनि बेहोरिरहेको छ । दरबन्दीअनुसारका जनशक्ति नहुँदा समस्या हुँदै आएको छ ।
१५ शैड्ढयाको मान्यता पाएको उक्त अस्पतालले २७ शैड्ढयाबाट सेवा दिइरहेको छ । अस्पतालमा ४४ जनाको स्थायी दरबन्दी भए पनि हाल २७ जना कार्यरत रहेका छन् । १७ जनाको दरबन्दी रिक्त छ । अस्पतालमा विशेषज्ञ चिकित्सक नै छैनन् । विशेषज्ञ चिकित्सकको दरबन्दी तीन जनाको हो । तर तीन वटै दरबन्दी रिक्त छन् । चिकित्सक नहुँदा अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह हुन सकेको छैन ।
दरबन्दीअनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको अस्पतालका प्रमुख डा. विश्वकर्माले बताए । दरबन्दीअनुसार जनशक्ति आउने हो भने सेवालाई थप प्रभावकारीरूपमा प्रदान गर्न सकिने उनको भनाइ छ । अस्पतालमा रहेको अक्सिजन प्लान्ट ६ महिनादेखि बिग्रेको छ । जसले गर्दा सिलिण्डरको भर पर्नुपरेको छ ।
प्रकाशित मितिः   ९ भाद्र २०८०, शनिबार ११:५६