विशेषज्ञविहीन अस्पताल

नागरिकलाई स्वास्थ्य सेवा दिनुपर्ने संस्था नै समस्याग्रस्त छन् । स्वास्थ्य सेवा कार्यालय दैलेख एक उदाहरण हो । जिल्लास्थित प्रमुख स्वास्थ्य संस्था (अस्पताल) रहेको कार्यालयले वर्षौदेखि जनशक्ति अभाव झेलिरहेको हो । आवश्यक जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन । विशेष स्वास्थ्य सेवा दिन दक्ष जनशक्तिको अपुग छ । हाल अक्सिजन प्लान्ट, विशेषज्ञ सेवा, ओटी सेवाजस्ता सम्पूर्ण सेवाका लागि जनशक्ति अभाव देखिएको हो । कार्यालयबाट विशेषज्ञ सेवा ठप्पजस्तै छ । जनशक्ति अभावले अप्रेसन, पोष्टमार्टम, शल्यक्रियालगायतको सेवामा असर पुगेको छ । त्यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा पनि जनशक्ति अभावै रहेको छ ।

अस्पतालमा ६१ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर अहिले ४० जना मात्रै कार्यरत छन्, २१ जनाको दरबन्दी रिक्त छ । त्यसैगरी नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । स्थायी दरबन्दीमा पदपूर्ति नभएपछि करारमा कर्मचारी नियुक्त गरिएको छ । करार कर्मचारीको संख्या भने स्थायीको भन्दा धेरै छ । स्थायी ४० जना र करार सेवाका ५६ जना कर्मचारी छन् । जनशक्तिको अभाव कतिसम्म छ भने अस्पताल हाल कार्यरत रहेका नौ जना मेडिकल अधिकृत (डाक्टर) मध्ये दुई जना मात्रै स्थायी रहेका छन् । अन्य सात जना मेडिकल अधिकृत (डाक्टर) छात्रवृति करार र दरबन्दी करारका हुन् । जनशक्ति अभावकै कारण कार्यालयमा चार वर्ष अघि खरिद गरिएको आइसियु र भेन्टिलेटर हालसम्म प्रयोगमा आएका छैनन् । अहिलेको जनशक्तिले भेन्टिलेटर सञ्चालन गर्न सक्ने अवस्था छैन । अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसियु र भेन्टिलेटरको सेवा दिन सकिरहेको छैन । कोरोना संक्रमण फैलिएको समयमा जटिल खालका बिरामीहरूको उपचार गर्ने भन्दै अस्पतालमा आइसियु र भेन्टिलेटर कक्ष जडान गरिएको थियो । तर हालसम्म पनि आइसियु र भेन्टिलेटर सञ्चालनमा आउन सकेका छैनन्, प्रयोग नभएर थन्क्याइएको छ । बरु जटिल समस्या देखिएका बिरामीलाई उपचारका लागि बाह्य जिल्लामा जानुपर्ने बाध्यता छ ।

एकातिर जनशक्ति अभावका कारण समस्या झेलिरहेको अस्पताल भौतिक पूर्वाधारमा पनि कमजोर छ । भवनकै समस्या छ । वि.सं. २०४५ मा बनेको पुरानो भवनबाट अस्पतालले सेवा दिइरहेको छ । सेवाग्राहीको चाप हुँदा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भइरहेको छ । पछिल्लो समय बिरामीको चाप पनि बढेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता अस्पतालमा थप बिरामीको चाप बढेको छ । बिरामीको चापसँगै अस्पतालको स्तरोन्नति गर्नु आवश्यक भइसकेको छ । स्वास्थ्य संस्था नै समस्याग्रस्त हुँदा नागरिकले सहज र भरपर्दो स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

प्रकाशित मितिः   ७ भाद्र २०८०, बिहीबार ११:०४