झाडापखालाले दुई जनाको मृत्यु

साझा बिसौनी संवाददाता
दैलेख, २ फागुन ।
झाडापखालाबाट दैलेखमा दुई जनाको ज्यान गएको छ । यस्तै १८ जना गम्भीर बिरामी भएका छन् । स्थानीय बासिन्दाका अनुसार शनिवार राती उपचारका क्रममा दुई जना बालकको ज्यान गएको हो ।
झाडापखालाका कारण गम्भीर बिरामी भएका तोलीजैसी–८ निवासी नैन तिरुवाका सात महिनाका नाती अञ्जल विक र मन्दिरे तिरुवाको आठ महिनाका नाती कृष्ण विकको उपचारकै क्रममा ज्यान गएको हो । उनीहरूको स्थानीय मेडिकलमा उपचार गर्दागर्दै शनिवार राती ज्यान गएको हो । स्थानीय बासिन्दा टेकबहादुर थापाले अहिले पनि गाउँमा १८ जना गम्भीर बिरामी रहेको बताए ।
झाडापखालाको कारण बिरामी भएका दुई जनालाई थप उपचारका लागि आइतवार नेपालगन्ज रिफर गरिएको डाक्टर विकास शाहले जानकारी दिए । आइतवार बिहानैबाट उपचारका लागि बिरामीहरू आउनेक्रम एकाएक बढेको भन्दै डाक्टर शाहले भने, ‘बिरामीको संख्या हेर्दा यसले महामारीको रूप लिने सङ्केत देखिएको छ, मानिसहरू उपचारका लागि आउने क्रम जारी छ ।’ उनका अनुसार अहिले १८ जना बिरामीको स्थानीय मेडिकल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । गाउँमा समेत बिरामीहरूको संख्या बढ्दै गएको स्थानीयले बताएका छन् ।
एकाएक फैलिएको झाडापखालाबाट एकै रातमा दुई बालकको मृत्यु भएको र दर्जनौं व्यक्तिहरू बिरामी भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । यस्तै छिमेकी गाविसहरू लकान्द्रा, सात्तला, विशाला र तिलेपाटाका स्थानीय बासिन्दाहरू समेत त्रसित बनेका छन् । उनीहरूले तत्काल गाउँमै उपचारको व्यवस्था गर्न र स्वास्थ्यकर्मी पठाउन समेत माग गरेका छन् । यता जिल्ला स्वास्थ्य कार्यालय दैलेखले भने प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र डाक्टर पढाउने तयारी भइरहेको बताए । स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर निर्मल रसाइलीले उपचारका लागि थप औषधि पठाउन लागिएको समेत जानकारी दिए । 
प्रकाशित मितिः   ३ फाल्गुन २०७२, सोमबार १०:२०