गंगालाई जलाएर हत्या

साझा बिसौनी संवाददाता
सुर्खेत, २ फागुन ।
सुर्खेतमा एक महिलालाई जलाएर हत्या गरिएको छ । भेरीगंगा नगरपालिका–१४ निवासी ४३ वर्षीया गंगा थापालाई जलाएर हत्या गरिएको रहस्य खुलेको छ । 
भाईलाई भेट्न कल्याण पुगेकी थापालाई गत माघ १४ गते स्थानीय स्याउली बजारमा जलाइएको भए पनि घटना ढिला गरेर मात्र बाहिर आएको हो । 
मृतक गंगाको शरीरको ९० प्रतिशत भाग जलेको छ । हत्याको आरोपमा प्रहरीले कल्याण निवासी ललिता कालुङ्गलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामघाटले ललितासँगै गोविन्द थापा, डिलबहादुर कालुङ्ग र रमेश विकलाई पनि पक्राउ गरेको भए पनि ललिताले आफू मात्र घटनामा संलग्न भएको बताएपछि प्रहरीले बाँकी तीन जनालाई तारिखमा छोडेको छ । प्रहरीले हत्यामा संलग्नहरूलाई कारबाही गर्न आलटाल गरेको भन्दै मृतकका आफन्तहरू न्याय माग्दै आइतवार सदरमुकाम वीरेन्द्रनगर आएका छन् ।
उनीहरूले गंगाको हत्यामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको भन्दै सबैलाई कारबाही गर्न माग गरेका छन् । ललिता एक्लैले हत्या गर्न नसक्ने भन्दै पीडितहरूले अन्यलाई पनि कानुनी दायरामा ल्याउन माग गरे । हत्या गरिएकी गंगाका पति कर्णबहादुर थापाले गंगाको शरीरमा पेट्रोल छर्केर आगो लगाएको बताए । माघ १४ गते गंगालाई शरीर पूरै जलेको अवस्थामा आफन्तले उद्धार गरेर वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पतालमा भर्ना गरेका थिए । तर, त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज हुँदै पाल्पामा रहेको मिसन अस्पतालमा लगिएको थियो ।
उपचारकै क्रममा गंगाको माघ १७ गते अस्पतालमै मृत्यु भएको परिवारले जनाएको छ । प्रहरीका अनुसार गंगाको ९० प्रतिशत शरीरको भाग आगोले जलेको थियो । गंगाको मृत्युपछि आफन्तले माघ १८ गते नै रामघाट प्रहरीमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दिएका थिए ।  प्रहरीले सुरुमा चार जनालाई नै पक्राउ गरे पनि बाँकी तीन जनालाई छोडेपछि घटना थप रहस्यमय भएको आफन्तको आरोप छ । 
गंगालाई किन जलाइयो भन्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरूले समेत घटनाको कारण थाहा नभएको बताए । मृतकका पति कर्णले गंगाको शरीरमा कपडा समेत नभएको आवस्थामा आफूहरूले फेला पारेको बताए । दोषीलाई कारबाही गर्नुको साटो प्रहरीले पक्राउ गरेर छोडेको भन्दै पीडित परिवारले आफूहरूमाथि अन्याय भएको गुनासो पोखे । यता इलाका प्रहरी कार्यालय छिन्चुले भने हत्यामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने जनाएको छ । 
कार्यालयका प्रहरी निरीक्षक जयसिंह विष्टले घटनामा संलग्न चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको समेत जानकारी दिए । घटनाका मुख्य आरोपी ललितालाई जिल्ला अदालतबाट १० दिनको म्याद थपेर गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनाको थप अनुसन्धान जारी रहेको भन्दै उनले अपराधीहरू कानुनबाट उम्कन नसक्ने बताए । 
प्रकाशित मितिः   ३ फाल्गुन २०७२, सोमबार १०:२४