राम्रीकाँडामा वैंशको याद
साझा बिसौनी संवाददाता
सुर्खेत, २ फागुन ।
नयाँ पुस्ताका युवायुवतीहरू आइतवार आफ्नै शैलीमा प्रेम दिवस मनाउँदै थिए । मिलेसम्म उनीहरू आफ्नो जोडीसँगै घुम्न गए, एकले अर्कोलाई गुलाबका फूलहरू आदानप्रदान गरे । त्यतिमात्र होइन, कतिपयले सँगै बसेर दुःख र सुखहरू पनि साटासाट गरे । तर, सदरमुकामदेखि उत्तरमा रहेको गढी गाविसको राम्रीकाँडमा भने प्रेम दिवसको दिन फरक दृष्य देखियो । त्यहाँ उमेर ढल्केका, गाला चाउरी परेका र कपाल फुलेकाहरूको जमघट थियो । उनीहरू आपसमा नाचगान गरेर रमाइरहेका थिए ।
नयाँ पुस्ताका युवायुवतीहरू प्रेम दिवसमा रमाउँदै गर्दा राम्रीकाँडामा पनि उमेर ढल्कदै गरेकाहरूले आफ्नो विगतलाई सम्झे । वैंशको बेलामा गाँसेको माया र प्रेमलाई समेत उनीहरूले सम्झने प्रयास गरे । आफ्नो जवानीको समयलाई उनीहरूले गीत र मादलको तालमा नाच्दै स्मरण गरे । आइतवार दिउँसो सुर्खेतका अग्रज कलाकारहरूको जमघट थियो राम्रीकाँडामा । अग्रज कलाकारहरूले आफ्नो वैंशलाई गीतमार्फत् सम्झिरहँदा जिल्लाका नयाँ पुस्ताका कलाकाहरूले समेत साथ दिएका थिए । उक्त जमघटको अवसर जुटाइदिएका थिए सुर्खेती माटोमै जन्मिएका गायक कृष्ण कँडेलले । अग्रज तथा पूराना कलाकारहरूको सम्मान गर्न र नयाँ पुस्ताका कलाकारहरूलाई प्रोत्साहन गर्नका लागि आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका अग्रज कलाकारहरूले आफ्नो विगतलाई मात्र सम्झेनन्, भुइँको धुलो नै उड्ने गरेर नाचे ।
जिल्लाका कलाकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उमेरले ७२ वर्ष पुगेकी गौमती गुरूङ्गले आफ्नो गीतमार्फत् वैंशको बेलाका साथीहरूलाई सम्झिन् । त्यतिमात्र होइन, उनले उमेर छँदा युवा अवस्थामा गाएको गीत समेत गाउँदैं सबैलाई नचाइन् । उनले बुढेशकालमा पनि वैंशको याद दिलाएको र साथीहरूसँग भेट्न पाएको भन्दै खुशी व्यक्त गरिन् । यस्तै उमेरले पाका भए पनि कलाकार प्रेमदेव गिरीको जोसमा कुनै कमी थिएन् । उनले मादलमा ताल दिएर सबैलाई नचाउन सफल भए । कार्यक्रममा अग्रज गायक भीमबहादुर कार्कीले २०२५ सालमा गाएको गीत गाउँदै सबैलाई नचाउन सफल भए । उनले ‘झुम्के साल फिरिरि त्यता, एकपटक रमाउँदै हेरौं सुर्खेत’ बोलको गीत गाएका थिए । उनले युवा अवस्थामा आफूले गाएको गीत अहिले आएर पुन सबैको माझमा गाउन पाएको भन्दै खुशी व्यक्त गरे । साथै उनले आफूले गाएका अन्य गीतहरू पनि गाएका थिए ।
यस्तै अग्रज गायक टीकाभक्त भारतीले पनि आफ्नो जवानी छँदाको क्षणलाई गीतमार्फत् स्मरण गरे । सो अवसरमा कलाकारहरू कुलमान नेपाली, सन्ध्या बुढा, कृष्ण कँडेल, भीमा सुवेदी, यज्ञ गिरी र बागीना समूहका कलाकारहरूको सहभागिता रहेको थियो । सो अवसरमा स्थानीय बासिन्दाहरू समेत नाच्दै रमाएका थिए । यो कार्यक्रमले पूराना तथा अग्रज कलाकारहरूको सिर्जनालाई पुनः स्मरण गराएका भन्दै गायक कृष्ण कँडेलले लोककलाको संरक्षणमा समेत टेवा पुग्ने बताए । यस्ता कार्यक्रमले अग्रजबाट नयाँ पुस्ताले समेत ज्ञान आर्जन गर्ने भएकाले आगामी दिनमा समेत निरन्तरता दिइने उनको भनाइ छ ।
प्रकाशित मितिः ३ फाल्गुन २०७२, सोमबार १०:३३
साझा बिसौनी संवाददाता ।