हटारुका कथा–व्यथा

२०६९ सालमा प्रकाशित ‘रूँदै बग्दोछ मुगुकर्नाली’ नियात्रा संग्रह पढेपछि ओम रिजाललाई चिनेको हुँ मैले । त्यसपछि मायाको काँडा बनेर त्यो नाउँ मुटुमा गडिरह्यो ।

‘रूँदै बग्दोछ मुगुकर्नाली’ लेखकको नियात्रा मात्रै होइन, समग्र कर्नालीका कथालाई चित्रण गरेको एक गैरआख्यान संग्रह हो । राज्य चलाउने शासक र राजनीतिक नेताहरूको संरक्षणमा कर्नालीको विकास बजेटलाई कसरी झ्वाम पार्दा रहेछन् भन्ने दृष्टान्त उक्त पुस्तकमा भेटिन्छन् ।

साहित्यकार रिजाल सरकारी सेवामा आफ्नो पहिलो नियुक्ति बुझेर मुगु रमना हुन्छन् र सुस्ताउन पुग्छन् ताल्चा विमानस्थलमाको एक चियापसलमा । चियाको आहालमा पौडिरहेको झिँगा र गिलासको ओठमा झिँगाहरूले गरेका ताण्डब चुम्बनको दृष्यले साहित्यकारको आँत भरिन्छ । झिँगाको रामलिला हेरे वापत हुस्सु दण्ड साउनीलाई तिर्दै हानिन्छन् मार्तडी । यो त एउटा स्वास्थ्य र सरसफाइसँग जोडिएको विष भयो । कर्नालीलाई डलरमा भजाएर खाने संघ–संस्थाको कुरा भने बेग्लै छ । खुलेआम प्रशासनको अगाडि पेस्तोल देखाएर ठेक्कपट्टा कब्जा गर्ने चुल्ठेमुन्द्रेको कहानी र आफ्नै गाउँमा, आफ्नै जिल्ला र आफ्नै घरको आगनमा चुल्ठेमुन्द्रेहरूको ज्यादतीको सिकार बन्नुपरेको निरिह मुगालीहरूको कथा भनि साध्य छैन । यि यावत कथाहरू बुझ्न गिलासमा डुबेको झिँगाझै एक पटक ‘रूँदै बग्दोछ मुगुकर्नाली’ मा डुब्नै पर्छ ।

ओम रिजाललाई लेखकीय रूपमा चिन्ने मौका त्यहीँ बेला भएपनि दाजु–भाइको रूपमा चिन्ने र चिनिने मौका भने धेरै पछि जु¥यो, चौकुने साहित्य महोत्सवको मेलोमा । त्यसपछि नुवाकोटको साहित्यिक कार्यक्रमसँगै हाम्रो सम्बन्धको आत्मियता फाँटभरी फैलियो । चारकोसे झाँडीभन्दा घनीभुत भएर झाँगीयो । वनभरी वनमारा झार झाँगिए झैं मायाको झारले हामी मुटुमा झागियौँ । ‘हटारू’ उपन्यास रिजालको तेस्रो कृति हो । उनी नेपाल सरकारको उपसचिव हुन् । उच्च ओहोदामा रहेर नेपाली साहित्यमा रिजालको योगदान अतुलनीय छ ।

हटारू उपन्यास मात्रै होइन, कर्नालीका कथा–व्यथा चित्रण गरिएको दोस्रो महाभारत हो भन्दा अतिशयोक्ति नहोला । यहाँका मान्छेको जनजीवनमा आधारित बनेको सिँगो कर्नालीको चलचित्र हो, हटारू । हटारूका कथामाथि फिल्म बन्यो भने फिल्म फ्लप हुनेछैन । बरु त्यो फिल्मले आधुनिक जमनाको चपेटामा लोप हुँदै गएको कर्नालीको कलासंस्कृति, रहन–सहन र भाषाको संरक्षण गर्ने छ ।

कथानकका हिसाबले हटारू सुनकेशा र उसकी आमाको कथा हो । कथा पढ्दै जाँदा पाठकको मन घ्यू झैं पग्लिन्छ । भक्कानो फुट्छ । आँखा रसाउँछन् । कतिपय अवस्थामा किताब बन्द गर्नुपर्ने हुन्छ आफ्नै मन शान्त पार्न ।

कहीँ न कहीँ हटारूका कथाहरू आफ्नै जीवनमा आएर ठोक्किन्छन् । र, पाठक सोचमग्न हुन्छ, कतै म त्यहीँ हटारूबाट उछिट्टिएको पात्र त होइन ! अध्ययन पश्चात् पाठकलाई गम्भीर बनाउनु लेखकीय कला हो ।

पुरुषबाट शोषित महिलाको बारेमा धेरैले वकालत गरे, न्याय दिलाए तर महिलाबाट महिला उत्पीडन हुँदा महिलाहरूले मुखको बाफ फाल्न नसेकोको कुरा बडो मार्मिक रूपले लेखकले श्रीमान्को मृत्युपश्चात् सुनकेशाकी आमा, सासुबाट पीडित भएको कुरालाई उजागर गरेका छन् । मृत्युपश्चात् छोराको हातबाट क्रियाकर्म भएन भने स्वर्गको द्वार खुल्दैन भन्ने मान्यता हाम्रो समाजमा विद्यमान रूपले रहिआएको छ । सुनकेशाकी आमाले छोरा नजन्माएर छोरी जन्माउनु र उसकी सान्ज्यले छोरा जन्माउनुको विषयले सुनकेशाकी आमा त्यो घरकी जिउँदो लास हुन् । सुनकेशाकी बजैले बुहारीमाथि गरेको लैंङ्गिक विभेदले जोकोहीको मन रुन्छ । एउटा बुहारीलाई मासुभात अर्को बुहारीलाई तल्लो दर्जा अर्थात् खान लागेको भासुभातसमेत खोसेर मासुको कचौरा कुकुरको मुखमा घोप्टाउनु । त्योभन्दा दर्दनाक उत्पीडन नारीले नारीमाथि गरेको अरु के हुन सक्छ । उत्पीडनले हद नाघेपछि बिद्रोह हुन्छ तर त्यहाँ सासुको उत्पीडनलाई बुहारीले सहजै पचाउने हाम्रो समाजको प्रचलन हो । यहीँ कर्नालीको कथा र बुहारीहरूको व्यथाभित्र लुकेको चुरो कुरा हो ।

छोरा जन्माउनु पून्य र छोरी जन्माउनु के अभिसाप हो ? के स्त्री बेगर संसार चल्न सक्छ ? समाजमा पुरुष मात्रै सर्वश्रेष्ठ प्राणी हो ? साहित्यकारको गम्भीर प्रश्न समाजसँग तेस्रिएको छ । यदी महिला–पुरुष एक रथका दुई पांग्रा हुनभने समाजमा हरेक आमा–बाले किन छोरी माथि विभेद गर्छन् ? छोरालाई काखा र छोरीलाई पाखा लगाउने आमाबा र समाजसँग साहित्यकारको मुख्य अन्तरविरोध रहेको छ ।

समाजमा ठुलाबडा कहलिएका जिम्माल, मुखियाले जे गर्दा पनि हुने तर समाजले अस्तित्व स्वीकार नगरेमा भुइँमान्छेद्वारा गरिएको राम्रो कर्मलाई पनि जात र पानीसँग जोडेर जात घटाएर मान्छेलाई बिटुलाउने चलनमाथि पनि साहित्यकारले कलम चलाएका छन् । प्रेम गरेकै अभियोगमा दलित कि छोरी मर्नु पर्ने र उच्च जातका भनाउँदाहरू समाजमा साँढेझै मैमत्ता भएर बाँच्नुपर्ने कुरामाथि पनि साहित्यकारको कलम दौडिएको देखिन्छन् । धर्म फरक भएकै कारण ध्वजे र सोताको प्रेममा समाज बाधक भएको कुरालाई लेखकले उल्लेख गरेका छन् । प्रेममा जात–भात र धर्म हुँदैन भनिन्छ तर व्यवहारमा त्यही जात र धर्मले समाजलाई ग्रसित बनाएको कुरा बढो मार्मिकरूपले उपन्यासका पात्रहरूको चरित्रद्वारा प्रस्ट्याएका छन् ।

मन्दिरसिंहजस्ता पात्रले आफ्नै जातलाई धरापमा राखेर प्रेममा जातभात र धर्म हुँदैन भन्ने कुराको उदाहरण समाजलाई चुनौती दिँदै पेस गरेका कथाले उपन्यासलाई जीवन्त बनाएको छ । छोइछिट्टो, जातभातका कुरा गरेर समाज भड्काउनेका विरुद्ध राज्य पेचिलो रूपमा उभिएर दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने कुरामा लेखकको मत रहेको छ ।

पुतला एक उच्च जातकी छोरी हुन् । डल्लोको बा लुहार अर्थात् कामी । आफ्नो उच्च जातलाई तिलाञ्जली दिँदै पुतलाले डल्लोको बा रोजिन् । अब उप्रान्त पुतलाले छोएको पानी समाजमा चल्ने भएन । उनलाई किन्चित पानी चल्ने नचल्नेसँग सम्बन्ध रहेन बरु डल्लोको बा प्यारो लाग्यो । अर्थात् डल्लोको बा चलाइन । उनले रोजेको र मनले खोजेको मान्छे प्यारो लाग्यो । संकिर्णताको जडतामा बाँचेको समाजलाई चुनौती सानो मुटु भएका मान्छेले दिन सक्ने कुरा होइन । मन्दिरसिंह र पुतला त्यस्तो पात्र हुन् आज उनको मार्गमा समाज हिँडेको भए जात प्रथाको अस्तु अहिलेसम्म जिवित रहने थिएन । मान्छे भएर मान्छेको नजरमा बहिस्करण पर्ने परम्पराको अन्य भएर छुवाछुतरहित समाजको निर्माण पहिले नै भइसक्थ्यो । पुतला र मन्दिरसिंहजस्ता समाजका आदर्श पात्र हुन् भन्ने कुरा उपन्यासमा औंल्याउन खोजिएको छ ।

किम्बदन्तीअनुसार रूपस्या धाराको अस्तित्व अहिले नामेट भएपनि रूपस्या धारासँग जोडिएको कहानी अहलेसम्म जिवित छ । जनश्रुतीको कुरालाई आधार मान्य हो भने रूपस्या धाराको कहानी सत्य घटनामा आधारित कथा हो । रूपस्या धाराको स्नानले रूप नै परिवर्तन हुन्छ भन्ने मान्यता बोकेर एकदिन कलसा त्यस धारामा नुहाउन जान्छिन् । उक्त धारो तल्लो जातको लागि बर्जित थियो । उक्त धारा माथि पूर्ण हक दुल्लूका राजा रजौटा र उपल्लो जातको लागि थियोे । कलसा पानी नचल्ने दलित जातकी छोरी हुन् । एक दिन उनी मान्छेको चहलपहल नहँुदै धारामा जान्छिन् र स्नान पश्चात् पानी भर्न लाग्छिन् । सोहीबखत राजकुमारको आगमन धारामा हुन्छ । झिसमिसे अध्यारोमा कलसालाई आफ्नै फूपू ठानेर राजकुमारले खुट्टा ढोग्छन् । राजकुमारले आफ्नो खुट्टा ढोगेकोमा प्रायश्चित महसुस गर्दै कलसाले राजकुमारसँग माफी माग्न बिन्ती बिसाउँछिन् । उक्त कुरा सुनेपछि रिसले आगो भएका राजकुमारले कलसालाई माफीको साटो उनको गर्धन छिनाल्छन् । कलसाको पेटमा भएको बच्चाको श्रापले रूपस्या धारो सदाको लागि बिलप हुन्छ । यो त जनजिब्रोमा झुन्डिएर किम्बदन्ती बनेको रूपस्या धाराको कहानी थियो ।

अर्को मुख्य कुरा हो खस साम्राज्यको खुइलिदै खिँइदै जीर्ण बन्दै गएको दामुपालको अभिलेख । नेपाली भाषाको विकास र बिस्तार खस साम्राज्यकै कालमा भएको थियोे भन्ने कुरा वि.सं. १०३८ को दैलेख दुल्लुमा अवस्थित दामुपालको अभिलेख नेपाली भाषाको पहिलो अभिलेख मानिन्छ । त्यसैगरी वि.स ११४६ मा स्थापित संग्राम सिंहको हुम्ला डुम्राकोटको अभिलेख । वि.सं. १३१२ मा असोक चल्ल द्वारा स्थापित हुम्ला रेलिङ्ग गुम्बाको अभिलेख । दुल्लूमै अवस्थित कृर्ति खम्ब आदी अभिलेखहरूले खस साम्राज्यको जीवित ईतिहासको बिरेचन अहिले पनि गरिरहेका छन् । गर्मीयामको समयमा सिंजा र हिउँदेयामको समयमा दैलेखबाट खस राजा नागराजको शासन सत्ता चल्थ्यो भन्ने कुरा जनमानसमा रहि आएको छ । दामुपालको अभिलेख अनुसार अझै पनि थप ईतिहास खोजतलास गर्न जरुरी देखिन्छ । साहित्यकार रिजालले हटारू उपन्यासमा दामुपाल र कृर्ति खम्बको इतिहास कोट्याउनु भनेको इतिहास जोगाउनको लागि राज्यलाई सचेत गराउनु हो । कर्नाली खस राजाको साम्राज्य भएको कुरा धेरैले वकालत गरेका छन् । राजा नागराज कालिनका भग्नावशेष माथी उत्खनन् र त्यस बेलाका कला कौसलको अनुसरण गरि भौतिक पूर्वाधार निर्माण गर्न जरुरी छ । इतिहास पहिचान हो । इतिहास गौरव हो । इतिहास स्वाभिमान भएको कुरा प्रति नागरिक सचेत हुनुपर्ने साहित्यकार रिजालको दृष्टिकोण रहेको छ ।

दोर्णाचल पर्वतमा ऋषि दोर्णले ध्यान गरेका थिए त्यसैको नामबाट उक्त पर्वतको नाम दोर्णाचल रहन गएको मान्यता छ । कसै कसैको मान्यता अनुसार ऋषि दोणको नामबाट दैलेख रहन गएको किंवदन्ती पनि छ । जे भएपनि दैलेख देवहरूको पावन भूमि हो । दैलेखको पहिचान एउटा जिल्ला भनेर मात्रै बुझियो भने त्यो गलत हुनेछ । दैलेख आफैमा तिर्थस्थल हो । दैलेखमा पञ्चकोशी नामका पाँचवटा तिर्थस्थलहरू छन् । शिरस्थान, नाभिस्थान, पादुका, कोटीला र धुलेश्वर । जुन तिर्थस्थलहरू प्रचार प्रसारको अभावमा कुण्ठित भएर विश्व जगत र राज्यको नजरमा ओझेल पर्नु परेको छ । धार्मिक स्थलहरूलाई पर्यटकीय स्थलको रूपमा राज्यले वृद्धि, विकास गर्ने कुराको जिकिर गर्दै लेखकले उपन्यासका कथामा धार्मिक स्थलहरूलाई कथाको स्वरूप दिएर लेपन गरेका छन् । यसरी धार्मिक स्थलहरू उपन्यासमा कथाका पाटा भएर अटाउनु राम्रो कुरा हो ।

नेपालका सत्तरी भन्दा धेरै जातजातिको पुर्खौली थलो दैलेख हो भन्ने केही बिज्ञहरूले बताउँदै आएका छन् । अहिले पनि ३६ वटा जातीहरूको अस्तित्व दैलेखमा रहेको छ । दहमा बसोम्बास गर्ने–दाहाल, रिजु मा बसोबास गर्ने– रिजाल÷पोखरेल, लम्सुमा बसोबास गर्ने– लम्साल, पराजुलमा बसोबास गर्ने– पराजुली र वडबाडमा बसोबास गर्ने वड भएको कुरा ती जातिहरूले स्विकारेका छन् । साहित्यकार रिजालले पनि जातिहरूको उत्पति दैलेखबाट भएको हो भन्ने कुरालाई उपन्यासमा लिपिबद्ध गर्दै जातिहरूको थातथलो उदाहरण स्वरूप पेश गरेका छन् । आफ्नो गोत्र जात र पुर्खौली थलोको ठेगान नभएकाहरूले एकपटक आफ्नो गोत्र तथा पुर्खीली इतिवृतान्त थाहा पाउन दैलेख आउँनै पर्ने दावा लेखकको छ । यसरी साहित्यकार रिजालले दैलेख जिल्लालाई विभिन्न कोणबाट चिनाउने प्रयास गरेका छन् ।

हटारू उपन्यासका कथाले एक्लो सुनकेशाको मात्रै प्रतिनिधित्व गर्दैन । उपन्यासले जातजाति, इतिहास, धार्मिक तथा पर्यटकीय स्थल, खस साम्राज्यको इतिहास र कर्नालीको भाषा संस्कृतिको समेत वकालत गरेको छ । उत्तर आधुनिक्तावादको चपेटामा रूपस्या धाराझै लोप हुनलागेको रत्यौरी, झोडा, मागल, भोस्सी, भैलो, ठाडीभाका, न्याउले भाका र डेउडा जस्ता परमपरालाई बचाउने कुरा लेखकले उपन्यासको कथा मार्फत औंल्याएका छन् । सुनकेशाको कहानीमा कर्नालीको सिँगो तस्बिर लेखकले हटारूमा अटाएका छन् ।

जिम्माल र मुखिया जस्ता अगुवाको निर्देशनमा बोक्सीको आरोप लगाएर र कर्नालीमा रेलिन बाध्य पार्ने माइली फुपुको कथा । जिम्मालको छोराले पेट बोकाएर पासो लगाएकी दमाई दाइकी छोरी, कालीको कथा । मुठ्ठीभर सम्भ्रान्त वर्गको जुठोपिठोमा हुर्केको कानुनले गरिवहरूमाथी न्याय गर्न नसकेको कुरा उपन्यासका कथामा आएका छन् ।

कर्नालीमा पुल थिएन, यातायातका साधन चल्दैन थिए, राम्रो बाटो थिएन । पहरामा बाबियाको झाँङ्ग समाउदै घ्युसँग नुन साट्न हाट जानु पर्ने कर्नालीबासीको बाध्यता थियो । महिनादिन लगाएर राजापुर, कटासे, चिसापानी हाट जान्थे हटारूहरू । भाग्य भएकाहरू औलोबाट बचेर घर फर्किन्थे दैवले भाग्य खोसेकाहरू बाटोमै अकालमा मर्थे । हर्के जस्तै बाटोमा विरामी भएर मृत्युवरण गरेका हटारूको कहानीले पंतिकारलाई झस्कायो । पंतिकार कुनै समय अछाम जाँदै थियो, सैनको गाउँ तल एक ओडार थियोे । ओडारमा एक हटारूको लास कुइएर गनाइरहेको थियोे । पछि थाह भयो झाडापखला लागेर मरेको रहेछ । प्रहरीको रोहबरमा त्यो लास त्यसैठाउँ गाडिएको थियोे । रंगिन सपना बोकेर हाट गएको हर्के बिच बाटोमै मर्नु परेको घटनाले हृदय छोयो । यो पनि एक कर्नालीका कथाभित्रको वास्तविक कथा हो । अझै पनि ती बाटोमै अलपत्र मृत्युवरण गर्ने हरूलाई घरका सदस्यले बाटोकुरी बसिरहेका होलान् । के थाहा मरे–जिउँदो प्रदेशीको बातखबर ती घरका अन्जान मान्छेहरूलाई ।

सुनौंलो आशाको पर्खाइमा आँसुको तलाउमा डुब्नु परेको सुनकेशाको कथाले मन गह्रौ बनाउँछ नै । काँशीकाँध र रानीवनको सिरानमा ठिङ्ग उभिएको महाबु जस्तै सुनकेशाको जीवनमा देखा परेका दुःखका पहाडले मान्छेलाई बाँच्नुभन्दा मर्न अभिप्रेरित गर्छ । त्यस्ता दुःखलाई सहेर पनि कर्नालीकी बुहारीहरू बाँच्न विवश छन् भन्ने तथ्य हटारू उपन्यासले जीवन्त बोलेको छ ।

हटारूका धेरै कुरा ‘हटारू’ भित्रै छन् । हटारू उपन्यास मात्रै होइन, कर्नालीका कथाको वास्तविक पाण्डुलिपि अर्थात् कर्नालीको दस्तावेज हो । आञ्चलिकताको जगमा उभिएको सुन्दर कृति हो ।

प्रकाशित मितिः   २ भाद्र २०८०, शनिबार ०५:०४