मुक्तीको सपनाले मृत्युवरण गरेकी मिना

कुरा वि.सं. २०५७ सालतिरको हो । म ११ वर्षकी थिएँ । कक्षा ६ मा पढ्थेँ । जनयुद्धले चरम रूप लिएको थियो । दुर्गम हिमाली जिल्लामा सञ्चार साधनको नाममा रेडियो मात्र उपलब्ध थियो । रेडियोमा दिनदिनै लडाइँ र मान्छे मारिएका समाचार आउँथे ।

हाम्रो बसोबास रहेको क्षेत्रमा सरकारीतर्फका सुरक्षा निकाय थिएनन्, केवल विद्रोही पक्ष माओवादीका कार्यकर्ता र छापामारहरूको बाक्लो चहलपहल हुन्थ्यो । छापामारहरूको पिटी–परेडस्थल जस्तै थियो ।

विद्यालयमा पढाइ कम हुने गर्दथ्यो, बरु विद्यार्थीहरूलाई माओवादी कार्यकर्ताबाट माक्र्सवादका विचारका र सिद्धान्त पढाइन्थ्यो । उमेर सानो हुनाले होला राजनीतिबारे धेरै नबुझे पनि यो जनयुद्धबाट जनताले मुक्ति पाउँछन् भन्ने कुरा मनमा गढेर बसेको थियो ।

लगभग फागुन/चैत्र महिनातिरको कुरा हो, क. आकाश नाम गरेका माओवादीका एरिया नेतालगायतको टोली हाम्रो विद्यालयमा संगठन विस्तार गर्न आयो । दिनदिनै उनीहरूको प्रशिक्षण र भाषणबाट विद्यार्थीहरू पनि उत्प्रेरित हुन्थे । ‘यो बुर्जुवा शिक्षा पढेर खासै काम लाग्दैन, वैज्ञानिक शिक्षा हाम्रो सत्ता प्राप्त भएपछि पढ्न पाइन्छ’ भन्ने शिक्षा दिइन्थ्यो । उत्प्रेरिरत भएर अधिकांश विद्यार्थीहरू माओवादीमा भर्ति भए । अलिक हुनेखानेका छोराछोरीहरू गाउँ छोडेर शहरतिर गइहाल्थे । हामी निम्न मध्यम वर्गीय परिवारका बालबालिकासँग त्यस्तो विकल्प पनि थिएन ।

कमरेड आकाश एकदिन विद्यार्थीलाई भूमिगत गराउने उद्देश्यका साथ विद्यालयमा आए । त्यहाँ रहेका करिब ५०–६० जना विद्यार्थीहरू भूमिगत हुन तयार भए । उमेरमा हामी भन्दा ठुलो भएर पनि होला साथी मिना माओवादी आन्दोलनका विषयमा धेरथोर जान्दथिन् । विद्यार्थी संगठनमा रहेर काम गरिहेको कुरा पनि मलाई थाहा थियो । निम्न वर्गीय परिवार, गरिबीको चपेटा, त्यसमा पनि साहुमहाजनको थिचोमिचो पूर्ण अनुभूति थियो उनीसँग । अत्यन्त विद्रोही स्वभाव पनि थियो ।

हामी पनि भूमिगत भयौँ, एक कार्यक्रमबीच पार्टीमा समाहित भयौँ । सानै उमेरका छोराछोरी घर छोडेर युद्धमा होमिन लागेपछि आमाबुवाहरू चिन्तित भए । हामीलाई फर्काउने प्रयास गरे । हामी नफर्कने निर्णय गरीसकेपछि घर परिवारलाई सम्झाउने काम भयो र हामीलाई घर भन्दा टाढा लगियो । त्यसपछि हामी पनि पूर्णकालीन रूपमा पार्टीको सदस्य भयौँ ।

केही साथीहरू छापामार भए, केही साथीहरू विद्यार्थी संगठनमा सामेल भए भने हामी केही जनकलाकार । मिना र मलगायत साथीहरू जनताका गीत गाउँदै गाउँगाउँ डुल्दै आन्दोलनका बारेमा जनतालाई सुसूचित पार्दै हिँड्थ्याैँ । जहाँ पार्टीका कार्यक्रम हुन्थे त्यहीँ गएर सांस्कृतिक कार्यक्रम देखाउँदै जनतालाई आन्दोलनका बारेमा प्रस्ट्याउथ्थौँ ।

जनकलाकार बनेर युद्धमा हिँडेको ६ महिना बितिसकेको थियो । एकदिन नेताहरू सम्मिलित कार्यक्रम हुनेभयो, जहाँ करिब तीन हजारको उपस्थिति थियो । सबै फिल्डका कार्यकर्ता, जनमिलिसिया र आस्थावान जनसमुदायको उपस्थित थियो । पार्टीका ठुला नेताहरू उपस्थित थिए, कमरेड दिबाकर, क. अनन्त, क. सुरेश, क. प्रकाण्ड लगायत थुप्रै नेता । पार्टीमा लागेपछि हाम्रो नाम पनि बदलिएको थियो । साथी मिना क. अस्मिता बनेकी थिइन्, म क. प्रमिता ।

सो कार्यक्रम तीनदिन चल्यो । कार्यविभाजन भयो । रणनैतिक प्रत्याक्रमणको योजना चलिरहेकोले होला जनमुक्ति सेनाको संख्या वृद्धि गर्नुपर्ने भएपछिसाथी मिनालाई सेनामा लिने कुरा भएछ । मनमिल्ने साथी भएकोले उनले यो कुरा सबैभन्दा पहिला मलाई नै सुनाइन्, उनी निकै खुसी थिइन् निरंकुश सत्ताका विरुद्ध लड्न जाने भनेर । उनले मलाई पनि सेनामै जान आग्रह गरिन्, म दोधारमा परेँ ।

मिनाले मेरो बारेमा पनि त्यतिबेला कमान्डर क. हिमालसँग कुरा गरेकी रहिछन्, सानो उमेरको हुनाले हिमालले मञ्जुरीविना नलैजाने, यदि मञ्जुरी भयो भने लैजाने कुरा गरेछन् । त्यसपछि मलाई सोधनी भयो, मैले हुन्छ भनेँ । आफ्नै स्वीकृतिमा म जनमुक्ति सेना भएँ ।

उनी र म एउटै प्लाटुनमा रहने गरी हाम्रो कार्यक्षेत्र तोकियो । जनमुक्ति सेनाको आधारभूत तालिममा गयौँ । सो अवधिमा नेपाली क्रान्तिका बारेमा विभिन्न छलफल हुन्थ्यो, साथी मिना र म समीक्षा गथ्यौँ । हाम्रो आन्दोलन सफल होला त ? यदि हुने भयो भने कहिलेसम्म होला ? नेपालीहरूले मुक्ति पाउलान त ? यो अवश्य एकदिन सफल हुन्छ भन्ने निश्कर्ष निक्लिन्थ्यो । साथीले विभिन्न पुस्तक ल्याउँथिन्, हामी अध्ययन गथ्र्यौं । विभिन्न पिटिपरेड सिक्दै मुक्तिका दिनहरू त दिमागमा खेलाउँदै थियौँ । मिना र मेरो ड्युटी पनि प्राय सँगै हुन्थ्यो । हामी जहिले पनि सामन्ती सत्ता कहिले ढल्छ ? हामीले समाजलाई मुक्ति कसरी र कहिले दिलाउँछौँ ? यी र यस्तै छलफल हुन्थ्यो ।

वि.सं. २०५८ साल असार २५ गते जनमुक्ति सेनाले लम्जुङको बिचौरी प्रहरी चौकी आक्रमण गर्‍यो । हामी पनि सहभागी भयौँ । चौकी पुरै कब्जा भयो । लडाइँ हाम्रो पहिलो अनुभव थियो । हमी निक्कै उत्साहित भयाैँ । छिट्टै सत्ता कब्जा गर्छौं भन्ने पूर्ण विश्वास भयो । सो आक्रमणपछि हाम्रो टोली पुनः भेरी कर्णाली क्षेत्रतिर फर्कियो । साउन ७ गते बाजुरा पाण्डुसेन प्रहरीचौकी कब्जा गरी हामी हुम्ला, मुगुतिर लाग्याैँ । गाउँगाउँमा जनतासँग रमाइलो लाग्थ्यो । सांस्कृतिक कार्यक्रम हुन्थे । भेला प्रशिक्षण पनि चल्थ्यो ।

२०५८ साल साउन ८ गते सरकारले युद्धविराम घोषणा गयो । साउन १४ गते पहिलो चरण तथा साउन २८ र २९ गते दोस्रो चरणको वार्ता विभिन्न ठाउँमा भयो । साउन ३१ गते भारतको सिलगुढीमा विभिन्न राजनीतिक दल र हाम्रो पार्टीबीच वार्ता वार्ता भयो । ति सबै वार्ताहरू असफल भएसँगै पुनः युद्धबिराम भङ्ग भयो । लडाई सुरु भयो, हामी बाँके–बर्दियातिर थियाैँ ।

मंसिर ८ गते दाङको घोराहीमा जनमुक्ति सेनाले आक्रमण ग¥यो । मंसिर ११ गते शाही नेपाली सेनाको परिचालन गरेर संकटकाल समेत घोषणा भएपछि सोही दिन सुरक्षाकर्मीले हामी नजिकैबाट जनदिशा दैनिक ताथा जनादेश साप्ताहिकको कार्यालयबाट कृष्णसेन क. इच्छुक लगायत ११ जना पत्रकारहरू गिरफ्तार गरेको खबर सुनियो । हामी अत्यन्त चिन्तित भयौँ । किनभने हाम्रा गतिबिधिहरू मुक्तिगामी जनसमुदायमा पु¥याउने भरपर्दो माध्यम यि नै थिए । साथी मिनाले भनिन्, ‘हाम्रो विचारहरूलाई रोक्न खोज्ने सरकारी भाडाका टट्टुहरूलाई फौजी आक्रमण गर्नहुन्थ्यो, कमाण्डरले आदेश दिएको भए ।’ मैले पनि समर्थन दिएँ ।

राज्यले दमन बढाउँदै थियो, यता हाम्रो पार्टीले पनि लडाइँलाई उत्कर्षमा पुर्‍याउँदै विजय हासिल गर्ने लक्ष्य लिँदै थियो । सोही क्रममा २०५८ फागुन ४ गते अछाम मंगलसेन आक्रमण गर्ने योजना बन्यो । सो योजनामा म लडाइँमा जाने भएँ, साथी मिना त्यो लडाइँमा नजानेमा परिन् । यो सूचना सुनेपछि उनी चिन्तित हुँदै महत्वपुर्ण लडाइमा सहभागी हुने जिद्दि गरिन् । कमान्डर क. मुनालसँग आग्रह गरिन् हामी लडाइँमा जाने भयाैँ । उनी निकै उत्साहित भइन् ।

फागुन ४ गते अछामको मंगलसेन कब्जा ग¥यौँ । सुरक्षा फौजको मद्दतका लागि साँफेबगरमा रहेको सेना आउने स्थितिलाई बुँझ्दै साँफेबगर विमानस्थलमा पनि सँगै लडाइँ भयो र त्यो पनि बिहानसम्म कब्जा भइसकेको थियो । भिडन्तमा करिब ५५ जना शाही सेनासहित एक सय ५० जना प्रहरीको मृत्यु भयो, हाम्रो तिर पनि क्षति भयो । मलाई छर्रा लाग्यो, मेरो साथीलाई दुई वटा गोली लाग्यो, एउटा खुट्टामा र अर्को हातको पाँखुरामा । घाइते भइन् उपचारपछि निको नहुँदै हामी हाम्रो प्लाटुनमा सामेल भयौँ ।

२०५९ साल जेठ १३ गते गिरफ्तार परेका पत्रकार कृष्णसेन इच्छुकलाई हत्या गरेको खबर आयो । हामी अत्यन्तै मर्माहत भयाैँ । साथी मिनाले संचारमा काम गर्ने एक जना कमरेडलाई जोसँग राम्रो चिनजान थियो, मार्मिक पत्र लेखिन् र सोको विवरण मलाई पनि सुनाइन्, ‘कमरेड विचलित नहुनु होला, तपाईंहरू र हाम्रो अथक मेहेनत र संघर्ष सहिदहरूको बलिदानीले एकदिन मुक्ति प्राप्त हुनेछ ।’ केही समयमा उनी सेनाको कम्पनी सहकमान्डर भइसकेकी थिइन् म भने प्लाटुन कमान्डर थिएँ ।

त्यसबीच हामी बिदा लिएर परिवार भेट्न घर गयौं । भेटघाटका बेला गाउँघरका सामन्तहरूलाई हाम्रो पार्टीको योजनाबारे सुनाउँथ्यौ । तपाईंहरूको विगतमा जेजस्तो गर्नुभयो त्यसलाई सच्चाउनुहोस्, जाली तमसुक जलाउनुस् र हाम्रो पार्टीमा आउनुस् भन्थ्यौँ । यो समयमा अलि टाठाबाठा सामन्तहरू हाम्रो पार्टीमा लागेपनि कति जना कारबाहीमा परे, कति सच्चिएर लागे ।

हाम्रो बिदा सकिनँ लाग्यो । हामी कार्यक्षेत्रमा फर्किनु पर्ने भयो । मनमा पीर भएपनि खुसीका साथ बिदाई भयौँ । उनीहरूलाई हामी लडाइँ जितेर आउँछौ । हाम्रो मुक्ति अब आउँदै छ, तपाईहरू पनि पार्टीमा विभिन्न भूमिकामा सामेल हुनु होला, साथीहरूलाई सहयोग गर्नुहोला भन्दै बिदाइका हात हल्लाउँदै हिँड्याैँ ।

३/४ दिनको हिँडाइपछि हामी हाम्रो सम्पर्कमा पुगेर नियमित काममा जोडियौँ । यो अवधिभित्र अर्घाखाँचीको सन्धिखर्क, सिन्धुली लगायतका ठाउँमा लडाइँ भयो, राजा ज्ञानेन्द्र शाहले देउवा सरकारलाई माओवादी द्वन्द्व निष्कृय गर्न असक्षम भन्दै बर्खास्त गरे र प्रत्यक्ष शासन हातमा लिएका थिए । राज्यपक्षबाट दमन बढ्दै थियो । हामी त्यसको प्रतिरोध गरिरहेका थियौँ । यहि बिचमा माओवादी आधार क्षेत्रको रूपमा रहेको कर्णाली अञ्चल सदरमुकाम जुम्ला कब्जा गर्ने योजना पार्टीले बनायो । उक्त योजनाअनुसार तयारी भयो । हामी पनि तयार भयाैँ । साथी मिनामा उत्साह निकै फरक थियो । त्यतिबेला उनी एसाल्ट ग्रुपमा थिइन् र म भने उपचारमा लाग्नु पर्ने भयो ।

एक दिन, एक रात लगातार हिँडेर २७ गते जुम्ला आसपास पुग्याैँ । २०५९ साल कार्तिक २८ गते जुम्ला खलंगामा आक्रमण भयो । लडाइँ सुरु भएको केही घण्टामै घाईते साथीहरूको उद्धार गर्दै थिएँ । सोही समयमा लास बोक्ने साथीहरूले पानी छ या छैन भनि सोधे । लासको बिचमा एक लास देखेँ, म छाँगाबाट खसे जस्तै भएँ । आकाश मडारिएको जस्तो, केही नदेखिएको जस्तो अनुभूति भयो । हेर्न हिम्मतसम्म भएन तर पनि पहिचानको लागि हेरेँ, त्यो लास त साथी मिनाकै रहेछ ।

म स्तब्ध भएँ । हुनत थुप्रै साथीहरूका लास त थिए तर उनी मेरो आत्मिय साथी थिइन् । त्यो पल मलाई अहिले पनि झल्झली याद आउँछ । म केही गर्न नसक्ने जस्तो भएँ, तर पनि लडाइँ हो त्यो सबैलाई छोडेर म पुनः उपचारतर्फ लागेँ । लडाइँमा कम्पनी कमाण्डर क. कर्णालीसहित मुक्ति योग्दा क. अस्मिता जो मेरी साथी मिना पनि हामीले गुमाउनु पर्‍यो । उनी पनि शहिदको सूचीमा दर्ज भइन् । पिडामै भएपनि हामी फर्कियौँ । मेरो हितैषी साथी उन्मुक्ति योद्धा अस्ताएको दिन असाध्यै पीडा बोध भयो । उनको मुक्तिको सपना उनले पूरा गर्न नसके पनि मैले जिम्मा लिनु पर्छ भन्ने लाग्थ्यो ।

२०५९ माघ महिनामा युद्धविराम हुने कुरा भयो र वार्ता हुने भयो । पार्टीले मलाई पनि सैन्य फिल्डबाट राजनीतिक फिल्डमा खटाउने निर्णय ग¥यो । सो जिम्मा लिएर पुनः म जिल्लामा गएँ र आफ्नो जिम्मेवारी पूरा गर्न थालेँ । यसबीचमा विभिन्न गतिविधि हुँदै थिए, विभिन्न चरणमा वार्ता पनि भए र पार्टी शान्ति प्रक्रियामा आएर देशमा संघीय गणतन्त्र स्थापना भएको छ । जनयुद्धको मुल उपलब्धी हाँसिल भएपनि कमरेड मीनाले देखेको मुक्तिहरू अझै प्राप्त हुन बाँकी रहेको छ, आशा छ अझै पूर्णरूपले मुक्ति प्राप्त हुनेछ । देशमा समाजवादी व्यवस्था लागू हुनेछ ।

प्रमिला नेपाली

(लेखक मध्यपश्चिम विश्वविद्यालयमा एम.एड प्रथम सेमेष्टरमा अध्ययनरत छिन् ।)

प्रकाशित मितिः   २ भाद्र २०८०, शनिबार ०५:०३