शिक्षक आन्दोलित

सुर्खेत: सामुदायिक विद्यालयका शिक्षक आन्दोलित हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । संघीय शिक्षा ऐन–२०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै कर्णालीमा पनि शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्देशन र नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशको आयोजनामा कर्णालीका दश वटै जिल्लामा विरोधका कार्यक्रमहरू भइरहेका छन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत बिहीवार कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालयमा तीन घण्टाको धर्ना दिइएको छ । प्रस्तावित संघीय शिक्षा ऐनको विरोधमा आफूहरू आन्दोलित बनेको नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवेन्द्र अधिकारीले बताए । स्थानीय सरकारलाई सम्पूर्ण अधिकार दिनेगरी ल्याइएको ऐनले शिक्षामा राजनीतिकरण हुनेभएकाले परिमार्जन गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘हाम्रा मागमा सामाजिक विकास मन्त्री सकारात्मक देखिनुभएको छ । आफ्ना ३१ बुँदे माग मन्त्रीलाई बुझाएका छौँ ।’

सरकारले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान राखेकोले आफूहरू आन्दोलित हुनुपरेको अधिकारीले जनाए । शिक्षक तथा कर्मचारीको हितविपरीतका व्यवस्थाहरू सरकारले सुधार नगरे कडा आन्दोलन गरिने चेतावनी शिक्षकहरूको छ । नेपाल शिक्षक महासंघको केन्द्रीय समितिले राखेका मागहरू सम्बोधन गर्न सरकारलाई दबाब दिनका लागि प्रदेश मन्त्रालयमा धर्ना दिइएको हो । उनले भने, ‘सकेसम्म विद्यालय बन्द गरेर आन्दोलन गर्न नपरोस् भन्ने हाम्रो चाहाना हो तर हाम्रो मागप्रति सरकारले बेवास्ता गर्दै मिचेरै जान खोजे हामी अनिश्चतकालका लागि विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनेछौँ । जसरी सरकार प्रस्तुत हुन्छ, हामी पनि त्यसरी प्रस्तुत हुनेछौँ ।’

शिक्षकहरूको आन्दोलनका कारण विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप भने प्रभावित भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइरालाले बालबालिकाको पढाइमा असर नपर्नेगरी दबाबका कार्यक्रम गर्न शिक्षकहरूलाई सुझाव दिइएको बताए । उनले भने, ‘शिक्षकहरूका माग जायज छन् । तर एउटा विद्यालयको एक शिक्षकको प्रतिनिधित्व हुनेगरी मात्र कार्यक्रममा सहभागी हुनुपर्छ ।’ वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धीरेन्द्रप्रसाद शर्माले आन्दोलनका नाममा विद्यार्थीहरूलाई पढ्न पाउने अधिकारबाट वञ्चित गराउन नहुने बताए ।

प्रकाशित मितिः   १ भाद्र २०८०, शुक्रबार १०:४५