एमालेद्धारा संसद् अवरुद्ध
सुर्खेत: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । नागरिक उड्डयन प्राधिकरणको निर्णय सच्याउनुपर्ने माग गदै एमालेले मंगलवारको बैठक अवरुद्ध पारेको हो ।
नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लाका विमानस्थलमा दिउँसो १२ बजेपछि हवाई उडान नहुने निर्णय गरेपछि कर्णालीबासीले भोग्नुपरेको पीडा र समसामयिक जनजीविकाको सन्दर्भमा प्रदेश सरकारले ध्यान नदिएकोले संसद् अवरुद्ध गरिएको एमालेका प्रमुख सचेतक टेकराज पछाईले जनाए । नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता गर्न प्रदेश सरकारले संघीय सरकारलाई दबाब दिनुपर्ने उनलेको भनाइ छ ।
प्राधिकरणको उक्त निर्णयले हुम्लाको सिमिकोट विमानस्थलमा जहाज पर्खँदै गर्दा ६ महिने बालक इमरान सुनार, ७ महिने रोहित शाही, साढे १ वर्षे आरेन परियार र पाँच महिनाका सन्देश लुहारको मृत्यु भएको एमालेले जनाएको छ । प्रमुख सचेतक पछाईले जनताको ज्यान गएपनि सरकारको ध्यान नदिएको भन्दै संसद् बैठक अगाडि बढ्न नसक्ने बताएका हुन् ।
बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि जहाज सञ्चालन नगर्ने निर्णयबारे सरकारले ध्यान दिनुपर्ने र जनतालाई बुझिने गरी संसद्मा जवाफ दिनुपर्ने बताए ।
प्रकाशित मितिः ३१ श्रावण २०८०, बुधबार ०५:०२
साझा बिसौनी ।