समयमै कार्यालय जाँदैनन् मन्त्रालयकै कर्मचारी

सुर्खेत: कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीहरू समयमै कार्यालय नपुग्ने गरेको पाइएको छ । प्रदेश मामिला समितिले मंगलवार गरेको छड्के अनुगमनका क्रममा कर्मचारीहरू बिहान समयमै कार्यालय नजाने गरेको पाइएको हो ।

अनुगमन टोली बिहान १० बजे कार्यालयमा पुग्दा चार जना कर्मचारी मात्र भेटिएका थिए । मन्त्रालयका सचिव धु्रव घिमिरे पनि कार्यालयमा भेटिएनन् । उनी करिब १०ः३६ मा मात्र कार्यालयमा पुगे । कार्यरत २६ जना कर्मचारीमध्ये धेरैजसो कर्मचारी कार्यालय समयभन्दा एक घण्टा ढिला पुगेका थिए ।

मन्त्रालयमै कर्मचारी नै नभेटिने गरेको गुनासो आएपछि प्रदेशसभाका प्रदेश मामिला समितिले छड्के अनुगमन गरेको हो । समितिकी सभापती कल्याणी खड्काको नेतृत्वमा गरिएको छड्के अनुगमनमा कर्मचारीको कार्यसम्पादन सन्तोषजनक नभएको पाइएको छ । कार्यालय समयमा कर्मचारी नआउने, परिचय खुल्नेगरी परिचयपत्र नलगाएको, सूचना पाटी नराखिएको, सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने गरेको पाइएको हो ।

सभापति खड्काले कर्मचारीले आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताइन् । कर्मचारीहरू समय पालक भएर सेवाप्रवाहमा जुट्नुपर्ने भन्दै उनले कर्मचारीले समयको ख्याल नगरेको पाइएको जनाइन् । नीति निर्माणमा महŒवपूर्ण मानिएको मन्त्रालयमा कर्मचारीको लापरबाहीले सेवाग्राहीमा नराम्रो सन्देश जाने भन्दै व्यवस्थित भएर कार्यसम्पादन गर्न उनले सुझाव दिएकी छिन् ।

समितिका सदस्य रनसिंह परियारले कर्मचारीको कार्यशैली सेवामैत्री हुनुपर्ने बताए । राज्यलाई आवश्यक पर्ने नीति कार्यान्वयनमा कर्मचारीहरूको महŒवपूर्ण भूमिका हुने भन्दै उनले नागरिकमुखी काम गर्नुपर्नेमा जोड दिए । अनुगमनमा पुगेका अर्का प्रदेश सभा सदस्य महेन्द्र केसीले यो वा त्यो बहानामा सेवाग्राहीले समस्या भोग्न नहुने बताए । उनले भने, ‘कर्णालीमा कर्मचारी अभाव छ । त्यसमा पनि नागरिकका काम ढिलासुस्ती लगायतका विलम्व हुनुहुँदैन ।’

मन्त्रालयका सचिव घिमिरेले मन्त्रालयमा कर्मचारी अभाव रहेको बताए । उनले भने, ‘कूल दरबन्दी ३८ रहेकोमा हाल २६ जना कर्मचारी कार्यरत छौँ । केहि काजमा जानुभएको छ ।’ प्रर्याप्त कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको उनले बताए ।

प्रकाशित मितिः   ३१ श्रावण २०८०, बुधबार ०५:०१