संसद्मा सरकारको खोजी

सुर्खेत: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले कर्णाली प्रदेशमा सरकार भएको अनुभूति हुन नसकेको जनाएको छ । सोमवारको प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले कागजमा सरकार देखिएपनि नागरिकले सरकार भेट्न नसकेको टिप्पणी गरेका छन् ।

प्राकृतिक विपद्ले नागरिक समस्यामा परिरहेको समयमा समेत सरकार खोज्नुपर्ने अवस्था आएको कँडेलले बताए । ‘जतिबेला अप्ठेरो पर्छ त्यतिबेला जनताले सरकार खोज्दछन्’ उनले भने, ‘तर यहाँ त सरकार भए–नभएको जस्तो देखियो ।’ वर्षात्ले नागरिक डुबानमा पर्दासमेत सरकार बेखबर हुनु दुखद भएको कँडेलको टिप्पणी थियो । ‘अविरल वर्षा भइरहेको छ,’ उनले भने, ‘राजधानीमा सबै मन्त्रीदेखि सांसदसम्म छन् । तर काँक्रेविहारदेखि तल्तिरको भाग डुबानमा छ । समस्या समाधानका लागि सरकारको ध्यान खै ?’

कँडेलले जनताको पक्षमा रहेर सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोपसमेत लगाएका छन् । उनले बाढी पहिरो, डुबान र नागरिक उड्ययन प्राधिकरणका कारण कर्णालीका हिमाली जिल्लाले भोग्नुपरेको पीडाबारे सरकारको ध्यानाकर्षण गराए ।

यस्तै अर्का प्रदेशसभा सदस्य विजया बुढाले पनि हवाई सेवाका विषयमा सरकारको ध्यानकर्षण गराइन् । उनले संसद् बैठक सुरु भएलगत्तै विशेष समय लिई सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् । हिमाली जिल्लामा हवाई सेवा सञ्चालन हुन नसक्दा समस्या भएको भन्दै यसको समाधान निकाल्नुपर्ने बताइन् ।

प्रकाशित मितिः   ३० श्रावण २०८०, मंगलवार ०८:३६