एक काव्यिक बकपत्र

 

साहित्यकार डा. महेन्द्रकुमार मल्लको नामसँग म अपरिचित थिइनँ । यद्यपि, हाम्रो पहिलो भेट भने मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान सुर्खेतले आयोजना गरेको एक कार्यक्रममा भएको थियो, शिक्षा क्याम्पसकै हलमा । मञ्चले कार्यक्रमको प्रमुख अतिथिको रूपमा मल्ललाई निम्त्याएको थियो ।

कुनै पनि मान्छेले आफ्नो प्रभाव समाज र मान्छेमा दुई प्रकारले पार्ने गर्छ । आकर्षण र विकर्षण । आकर्षणको अर्थ हो समाजमा मान्छे कमाउनु । मान्छे कमाउनु सामान्य कुरा पनि होइन । साहित्यकार मल्लको शालिन, सरल र सौम्य स्वभावको प्रभावले मलाई सधैँ आकर्षण नै ग¥यो । नापेर, तौलिएर बोल्नु मल्लका विशेष गुण हुन् ।

बचपनमा सामान्य जागिर खाने उद्देश्य बोकेका मल्लमा ठूलो ओहोदामा पुग्ने सपना कहिल्यै नपालेको बताउँछन् । तथापी समयक्रमसँगै उनले महŒवपूर्ण पद र ओहोदामा पुगेर जिम्मेवारी निर्वाह गरिसकेका छन् । २०६९ वैशाख २७ देखि २०७१ भदौ ३ गतेसम्म सुर्खेत बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख भएर कार्य सम्पादन गरे । त्यसपछि २०७१ भदौ ४ गते मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारको पदभार ग्रहण गरेर कुशलतापूर्वक कार्यसम्पादन गरे ।

मल्ललाई मैले समाजसेवी, पूर्वक्याम्पस प्रमुख र विश्वविद्यालयको पूर्व रजिस्ट्रार र एक बौद्धिक व्यक्तित्वका रूपमा मात्र चिनेको थिएँ ।

जब नुन, चिनी र पानीको सम्बन्धको रूपमा हामी आपसमा अन्तरघुलन हुँदै गयौँ, त्यसपछि सम्बन्ध गाढा भयो । नजिकबाट चिनिने अवसर जु¥यो । उनी त विराट प्रतिभाको खानी पो रहेछन् । दुई वटा साङ्गितिक गजल ‘कर्ली केश’ र ‘सरगम’ सार्वजनिक भइसकेका छन् भने तिज गित ‘राधा’ भर्खरै बजारमा ल्याएका छन् ।

‘भाषाको बकपत्र’ उनको पहिलो कविता संग्रह हो ।

चोट लागेपछि मान्छे रन्थनिनु ठूलो कुरा होइन । तर कविता अध्ययनपश्चात् मथिङ्गल हल्लिनु सामान्य कुरा होइन । भाषाको बकपत्रमा समाविष्ट भएका ३४ वटा कविताका पानाहरूलाई जब मकैको सिया जसरी एक–एक उधार्दै गएँ, परिकल्पनाको गहिराइमा डुबेर सिर्जना गरिएका मल्लका कविताका बान्कीहरूले फराकिलो दृष्टिकोणबाट कवितालाई अन्दाज गरेर बुझ्नुपर्ने पाठ सिकायो । साँघुरो दिमागी दायरालाई फराकिलो बनायो । वाह ! कविताको खासियत त यस्तो पो हुँदो रहेछ ।

झटारो हानेर झारिएका आँपका स्वादजस्ता कविता नपढिएका र नसुनिएका होइनन् तर कविता बन्नलाई काव्यीक भट्टीमा खारिनु पर्ने रहेछ । भावनाको दिवारमा हजार पटक ठोक्किनु पर्ने रहेछ । मन भित्रभित्रै भुसको आगोझै जल्नु पर्ने रहेछ । भन्न त भन्छन्, ‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’ तर शब्दमा जलप र दिमागी चेतमा कल्पनाको हम्बर बर्सिएन भने कविता नहुने रहेछ । काव्यिक शब्दका बान्कीहरूमा उच्च कल्पनाको कसी लगाउनै पर्ने रहेछ । भाषाको बकपत्र त्यसैको निरन्तरता हो । बजारमा आएका हजारौँ कविता संग्रहका बिचबाट एक्लो बृहस्पति भएर उच्च कल्पना चेतको वकालत गरिरहेको कृति हो भाषाको बकपत्र ।

अँध्यारोमा बस्ने मान्छेहरूका वेदनाका कथा मार्मिक, गम्भीर र यथार्थपरक हुन्छन् । तर तडगभडकसहित चर्चामा आउनेहरूका कथाले एकछिनलाई चर्चा बटुले पनि त्यो तडकभडक घामपानीमा देखिने इन्द्रेणीको रंगजस्तै हो । रंगिन सपनाको संसार कतिखेर कहाँ बिलाउँछ थाहा हुँदैन । साहित्यकार मल्लसँग लामै संगत भएपनि उनले आफू अब्बल साहित्यकार भएको भनक कहिल्यै देखाएनन् । तडगभडकबाट टाढै रहे । रबाफको गन्धलाई कहिल्यै आफ्नो वरिपरि घुम्न दिएनन् । र प्रेमको वजनतह नाप्ने क्रममा कवि ‘रहर’ नामक आफ्नो कवितामा शब्दद्वारा यसरी पोखिन्छन् ।

 

बधशालाको चौपायाझै ढकसँग दाँजिएर
मोलमोलाइको काँटामा कहिल्यै जोखिन नपरोस्
मलाई रहर छ
म बगरको त्यस्तो ढुङ्गा बनुँ जो
कुल्चिएर पनि फुटाइएर पनि ताछिइएर पनि
मुर्तिको स्वरूप पाएर पुजिन्छ
हो म त्यसैगरी
उसको मायाको मन्दिरमा पुजिन सकुँ ।

 

कैफियत नमिसिएको प्रेम मात्रै कञ्चन पवित्र हुन्छ । प्रेममा कैफियत मिसियो भने त्यो पवित्र प्रेम हुन सक्दैन । त्यो प्रेमको नाममा धोकाधडी छलछाम हो । चाहे सुनकै ढकतुलो किन नहोस् । आकास छुने चर्को मूल्य किन नहोस्, प्रेमलाई महँगो भाउमा न त किन्न सकिन्छ न त जोख्न । प्रेमको उहाहरण दाइजो र छुवाछुत प्रथामा पोखिएर समाज विकृत हुनुहुँदैन । दाइजो न ल्याएको आरोपमा रामदुलारी जस्ता बुहारीले सासुससुरा र श्रीमानबाट कुटिएर ज्यान गुमाउन परेका घटना छन् । केहीवर्ष पहिले रुकुममा कथित उच्च जातकी केटीसँग प्रेम गरेकै कारण नवराज विक नदिमा बग्नु परेको थियो । भर्खर मात्रै जुम्लामा अन्तरजातीय प्रेम गरेकै कारण दलित केटाको घर खरानी भएका घटनालाई साहित्यकार मल्ल कविताका माध्यमद्वारा सामाजिक सद्भाव फैलाउने उद्देश्य राख्दै धनी, गरीब र जात प्रथालाई गौण ठानेका छन् । उक्त प्रथाको विरुद्ध चट्टान बनेर सिर्जनामार्फत् उभिएका छन् । हजारौँ हम्मरको ठक्करबाट बनेको सुन्दर मूर्तिलाई जसरी सबैले आस्थाको फूल चढाउँदै प्रेमले पुज्छन् । त्यसैगरी सुन्दर प्रेमलाई लैला–मजनु र रोमियो–जुलियट जसरी पुजौँ न । धनी–गरिब, उच–निच जात बीचको छोइछिटो समुल नष्ट भएर समाजमा मानवीय सद्भाव कायम भएको कवि देख्न चाहान्छन्ः

 

एकदिन रेडियोले खबर फैलाएछ
घमासान युद्धको
मसानघाट बनेको गाउँबस्तीको
नेपाली जितेको नेपाली हारेको
आँसु बनेर समुद्रको बाटो समाएछ
गाउँ छाड्ने लर्कोले
उर्बर कोखहरूलाई बाँझो बनाएछ
उन्मत्त मातेको एउटा जँड्याहा भने
सडकको किनारमा बेसरी बर्बराएछ
वा, क्यावात !
दुवै जितेछन् तर देशले हारेछ ।

 

देशमा परिवर्तनको लागि पटक–पटक क्रान्ति भए । २०५२ सालमा भएको माओवादी शसस्त्र विद्रोह पनि त्यसैको एक कडी हो । जनताका छोराछोरीले समाज र देश परिवर्तनको लागि रगत बगाए । देश चलाउने शासकको आन, बान र शान परिवर्तन भयो तर देश परिवर्तन भएन । पटक–पटक शासकहरूले जीते तर देशले हारी रह्यो । जनताको रगत पसिनाबाट प्राप्त व्यवस्था संकल्प हालेर पर्छिएर मौलामा काटिन लागेको बोका झै निरिह बनिरह्यो । जनताको रगत पसिनाको मूल्य, बालुवामा वृक्षारोपण गरेको बिरुवालाई सिँचाइ गरे जस्तै भयो । परिवर्तनको संज्ञा दिएको युद्धबाट देश र जनताले के पाए ? अहिलेको शासन व्यवस्था र शासकप्रति सबै नागरिकले गर्ने प्रश्न यही हो । आर्थिक, राजनीतिक, सांस्कृतिक रूपमा परिवर्तनको सपना देखेका युवाहरू दिनहँु पलायन भएर मरुभूमिमा पसिना बगाउँदा बगाउँदै बाकसमा फिर्ता भएका घटनासँग कवि पग्लिन्छन् । खेतबारी बाँझो र गाउँमा मान्छे मरेपछि मलामी नपाउने अवस्था देखेर कविको मन कुँडिन्छ । सधँै भट्टीको सोमरसमा मैमत्ता हुने जड्याहा देशको दुरदशा देखेर होसमा आउँदै शाससहरूलाई सच्चिनको लागि खबरदारी गरेको कुरा कविले व्यंग्य गरेका छन्ः

 

गौरीशंकरबाट फाल हालेर
मिश्रको पिरामिड पुग्न पाइयोस
अट्लान्टिक ओसनमा पौडिँदै
उक्लन पाइयोस् युराल पर्वत
राजमार्गको गोलाद्र्धमा जोडिनुपर्छ
विश्व यात्रामा मखमल बिछ्याइनुपर्छ
बादलको अनन्त फैलावट
हावाको निष्कण्टक प्रवाह
र चराको उन्मुक्त उडान ।

 

पाखुराको बलमा शासकहरूद्वारा खिचिएको भूगोलको साँघुरो गोलाद्र्धमा कविको मन अट्दैन । कविले सिँगो भूगोललाई मानव प्राणीको साझा घर ठानेका छन् । हावाले उडाएर वहने बादलका थुम्का जसरी कवि उन्मुक्त भएर संसारको यात्रा हिँड्न पाउनुपर्छ भन्ने वकालत गर्छन् । मिश्रको पिरामिड, युराल पर्वत, हिमालय र एट्लान्टिक महासागरलाई मानव सभ्यतासँग जोडेका छन् । गणितको जननी भनेर इजिप्ट देशलाई चिनिन्छ । मान्छेको जीवन पनि गणितको हिसाब जसरी सन्तुलित भएर शुत्रबद्ध चल्नुपर्छ भन्ने मतसहित मानव निर्मित मिश्रको पिरामिडलाई उदाहरण स्वरूप बिम्बको रूपमा प्रयोग गरेका छन् ।

कविको मन यहाँ मात्रै रोकिदैन, पश्चिम रुसमा अवस्थित युराल पर्वतले एसिया र युरोपलाई दुई भागमा छुट्टाउँछ । युराल पर्वतलाई मानव जीवनको सभ्यतासँग जोडेका छन् । हुन पनि हो खोला नदी, समुद्र, हिमाल–पहाड मानव जीवनको लागि अपरिहार्य स्रोत हुन् । यी विनामान्छे जिउँदो रहन सम्भव छैन । त्यसैले प्रकृतिलाई सिमासाध मानेर छुटाउने मान्छे को हो ? कवि प्रश्न गर्छन् । संसारलाई साझा फुलबारी ठानेर प्रकृतिको अनुपम वात्सल्यमा रमाउन पाउनु पर्ने कविको जिकिर रहेको छः

 

जुम गरेर हेर त अहिले पनि उस्तै छ
सारा बदलिए मेरो आधार दुरुस्तै छ
कोछे र जिगेलोका परिधानमा
नुन र चामललाई लुकालमा कसेर
बथानका बथान
भेडालाई उकाली ओराली गराउने
सिन्जालीहरूको कर्म उस्तै छ

 

नेपाली खस भाषाको उत्पत्ति भएको ठाउँ । आजभन्दा ३४६० वर्ष पहिले राजा जाल्नधरले राज्य गरेको सिंजा राज्यको सिमाना पूर्वमा त्रिशुली, पश्चिममा गढवाल र उत्तरमा भोटसम्म रहेको थियो । खस साम्राज्य अठारौँ शताव्दीको सशक्त साम्राज्य थियो । अन्य राज्यहरूको तुलनामा खस साम्राज्य धनी भएता पनि खस साम्राज्यको पतन भएसँगै सिंजालीहरूका दुःखका दिन सुरु भए । भोकमरीको बेला अन्य राज्यलाई सिँजाले अन्नदान गथ्र्यो । आधुनिक नेपालको रंगमञ्चमा आफूलाई विश्वसामु उभ्याउने बेला कर्नालीमा भोक, शोक र रोगको उपचार नपाएर सिंजालीहरूले ज्यान गुमाउनुको पीडा त्यो भन्दा भयानक के हुन सक्छ ? एनजिओहरूले कर्नालीलाई मागी खाने भाडो बनाए, सरकार त्यसैमा रमायो । लुगालमा नुन, चामल, खुर्सानी बोकेर सामल ल्याउने हुम्ली, जुम्ली र मुगालीहरूको जीवनमा परिवर्तन नभएको कुरामा कवि चिन्तिज हुँदै राज्यलाई कवितामार्फत गुनासो पोखेका छन् ।

कर्नालीलाई नजिकबाट नियाल्न नसक्ने र कर्नालीप्रति उदासिन हुने शासकलाई ईतिहासको बाइनाकुलरबाट खस साम्राज्यको इतिवृत्तान्त बुझ्न चुनौती पेस गरेका छन् । कविले आफ्नो भाषाको बकपत्र नामक कविताको शीर्षकद्वारा राज्यले बक गर्न नसकेको सिँगो कर्नालीको विषयलाई कविताको भाषाद्वारा बक गरेका छन् । इतिहासको वीरगाथा बोकेको खस साम्राज्यको पहिचानको लागि प्रदेश तथा केन्द्र सरकार लागि परेर कर्नालीबासीको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा परिवर्तन हुनुपर्ने कुरा कविले कविताको माध्यमद्वारा बक गरेका छन्ः

 

खन्याएर इन्द्रेणीका सातवटै रंग
तिमीलाई
संसारकै सर्वोत्तम बसुन्धरा बनाउनु छ
त्यसैले म आउनु छ ।

 

कविताका माथिका हरफमा कविको मत छ जननी जन्म भूमिश्चः स्वर्गादपी गरियस्ची । जन्म दिने आमा र आफू जन्मेको माटो स्वर्ग भन्दा पनि प्यारो हुन्छ । त्यसैले त सुनको लंकामाथि विजय प्राप्त गर्दा पनि भगवान रामको मन लंकामा अडिन सकेन । रावणकै भाइ विभिषणलाई लंकाको राजा बनाएर राम आफ्नै राज्य अयोध्यामा फर्के । आफ्नै राज्यलाई रामराज्य बनाउन पट्टि लागे । दिनहु विदेशिने युवाहरूलाई कविताका बान्कीबाट सम्झाउँदै कवि भन्छन् । आफू नेपाल आमाको चरणमा समर्पित भएर सेवा गर्ने र आफू जन्मेको माटो र देशलाई संसारकै उत्कृष्ट बनाउने प्रतिज्ञासहित विदेशिएका युवायुवतीहरूलाई पनि आफ्नै माटोमा पर्किन अनुरोध गरेका छन् । शासकहरू आउँछन् जानछन् तर आफ्नो कर्तव्यबाट बिमुख नहुने प्रण कविको छ ।

२०२६ भदौ २६ गते दैलेख ढुङ्गेश्वरमा जन्मिएका साहित्यकार डा. महेन्द्रकुमार मल्ल उमेर ले ५३ वर्ष पुगिसकेका छन् । उनको उमेरको परिपक्कता कवितामा पनि झल्किन्छन् । सिर्जनाको भट्टीबाट खारिएर निख्खर कविताले भाषाको बकपत्रलाई जीवित त राख्ने नै छ त्यसको अलवा नेपाली साहित्यलाई पनि उल्लेखनीय टेवा पुरा¥याएको छ । डा. मल्लका कवितामा मायाप्रेम त झल्किन्छ नै त्यसभन्दा धेरै कवितामा देश र मातृभूमि प्रेम र प्रकृति प्रेम पोखीएको छ । अँध्यारामा बस्ने मान्छेका कथाहरूले कविलाई भावुक बनाएको छ । अस्थिर र अराजक राजनीतिले देशलाई थिलोथिलो बनाएर नेपाली जनता र नेपाली माटोले दुःख पाएका घटनालाई कविले कविता मार्फत् ओकलेका छन् । सुनौंलो सपना बोकेर खरानी हुने युवायुवतीका कथालाई कविताका बान्कीहरूमा कोरेका छन् । प्रकृतिप्रेमी भएर प्रकृतिका कविता उठान गरेका छन् । सौन्दर्य के हो, सौन्दर्य चेत कस्तो हुनुपर्छ डा. मल्लका कवितामा नडुबी पत्ता लगाउन सकिँदैन ।

भाषाको बकपत्रमा संग्रहित कविताहरू सौन्दर्य चेत र उच्च परिकल्पनाले पूर्ण छन् । कविताको वजन युग बोल्ने कोशेढुङ्गा भएर उभिएका छन् भने कविताको गहिराई मरियान ट्रेन्चको भन्दा कम छैन । सरल र सरस भाषाको प्रयोग गरी कविताका शब्दहरू उन्नुनै कविको पहिचान हो । कविता पढेपछि जोकोहीलाई गम्भीर र सिरियस बनाउनु साहित्यकारको कला हो । भाषाको बकपत्रमा समाविष्ट कविताहरू लामा, मझौला र छोटा गरी तीन प्रकारका छन् । कुनै कविताहरू पढ्दापढ्दै विषयवस्तु टँुगिएको आभास हुन्छ र कविता त्यहीँ सकिदिए पनि हुन्थ्यो भन्ने कुरा पाठकलाई लाग्छ । तर कविता सकिएको हुँदैन । लामा भएपनि जादुमयी शब्दको जालमा उनीएका कविता अध्ययन गर्दा पट्यार लाग्दो महशुस हुँदैन ।

प्रकाशित मितिः   २७ श्रावण २०८०, शनिबार ०५:०४