कर्णालीमा मल अभाव नहुने

भदौसम्म पुग्नेगरी गोदाममा मौज्दात, थप आपूर्ति गर्ने तयारी

सुर्खेत: कर्णालीमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले आवश्यक मात्रामा मल सञ्जय गरेको छ । भदौ महिनासम्मका लागि चाहिनेजति मल गोदाममा रहेको कार्यालयले जनाएको छ ।

विगतमा धानखेतिको समयमा बर्सेनि मलको अभाव हुने गरेको थियो । भदौसम्मलाई पुग्नेगरी गोदाममा आइसकेको र आउने क्रममा समेत रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठले जनाए । उनकाअनुसार हाल युरिया एक सय २० टन, डिएपी एक सय ५० टन, पोटास ४४ मेट्रिक टन र कृषि चुन ११ टन गोदाममा रहेको छ ।

गोदाममा मौज्दात रहेको मल भदौ तेस्रो सातासम्मका लागि पुग्ने र भदौको तेस्रो साता नै थप मल आउने भएकाले अभाव नहुने प्रमुख श्रेष्ठको भनाइ छ । उनले भने, ‘हामीकहाँ गोदाममा पर्याप्त मल उपलब्ध छ, भदौ तेस्रो सातामा थप मल आउने क्रममा रहेको र खरिद प्रक्रियामा रहेकोले मल सबै आयो भने गहुँ बालीलाई पनि धान्न सक्ने देखिन्छ ।’ थप मलका लागि प्रक्रिया सुरु भइसकेकाले मल अभाव नहुने उनले जनाए ।

श्रेष्ठका अनुसार धानखेतीको मुख्य सिजन असार, साउन र भदौमा रासायनिक मलको माग अत्यधिक हुन्छ । त्यसका लागि जिल्ला–जिल्लामा मल पठाइएको छ । रासायनिक मल अभाव हुन नदिन थप मल आपूर्तिको प्रक्रियामा छ । कम्पनीले प्रदेशका चार जिल्लामा मल वितरण गर्दै आएको छ । सुर्खेत, दैलेख, कालीकोट र जाजरकोट जिल्लामा दर्ता भएका सहकारी संस्थामार्फत् मल वितरण हुने गरेको हो ।

कर्णालीमा युरिया मल बढी खपत भइरहेपनि साविक कर्णाली अञ्चलका जिल्लाहरूमा भने रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ । प्रदेशमा कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ्ग कर्पोरशनले ३० प्रतिशत मल वितरण गर्दै आएका छन् । अहिले पनि विभिन्न समूह, सहकारीमार्फत् मल धमाधम बिक्री वितरण भइरहेको छ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म कर्णालीमा एक सय ६५ टन युरिया मल, ३० टन डिएपी, पोटास ६ टन र कृषि चुन १० टन खपत भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा १४ सय ५५.३ टन युरिया, आठ सय ४९.३५० टन डिएपी र ६८.७ टन पोटास खपत भएको थियो ।

९८ प्रतिशत रोपाइँ

कर्णालीमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ४४ हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतले दिएको जानकारीअनुसार कूल ४५ हजार तीन सय ८७ हेक्टर क्षेत्रफलमध्ये ४४ हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमा अहिलेसम्म धान रोपिएको हो । अब बाँकी आठ सय ८२ हेक्टर क्षेत्रफलमा पनि रोपाइँ भइरहेको निर्देशनालयले जनाएको छ ।

यो वर्ष समयमै वर्षा नहुँदा मध्येअसारसम्म पनि रोपाइँ सुरु भएको थिएन । कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाका अनुसार वर्षा ढिला हुँदा रोपाइँ ढिला सुरु भएको थियो । समग्रमा कर्णाली प्रदेशभर ९८.०५ प्रतिशत रोपाई सम्पन्न भएको छ । उनले भने, ‘वर्षा ढिलो मात्र भएको हुँदा गतवर्षभन्दा रोपाइँ सकिन समय लागेको हो । रोपाइँ ढिला भएपनि उत्पादनमा कुनै असर नपर्ने देखिन्छ ।’

निर्देशनालयका अनुसार दैलेख, डोल्पा र रूकुम–पश्चिममा सतप्रतिशत रोपाइँ सकिएको छ भने सुर्खेतमा ९६.५ प्रतिशत, जाजरकोटमा ९८.६ प्रतिशत, सल्यानमा ९८ प्रतिशत, मुगुमा ९८ प्रतिशत, जुम्लामा ९७ प्रतिशत, कालीकोटमा ९९ प्रतिशत र हुम्लामा ९७.८६ प्रतिशत रोपाइँ भइसकेको छ । निर्देशक रोकायाका अनुसार अब छिटफुट मात्र रोपाइँ बाँकी छ ।

प्रकाशित मितिः   २६ श्रावण २०८०, शुक्रबार ०५:०५