लगानीको वातावरण
कर्णालीमा औद्योगिक विकास हुन सकेको छैन । ठूला उद्योग नै छैनन् । लगानीमैत्री वातावरण बन्न सकेको छैन, जसले गर्दा लगानीकर्ता पनि आकर्षित भएका छैनन् । औद्योगिक विकासको सम्भावना हुँदाहुँदै पनि लगानी भित्रिन सकेको छैन । लगानी गर्न इच्छुक लगानीकर्ता पनि पछि हट्नुपर्ने अवस्था सिर्जना हने गरेको छ । पश्चिम सुर्खेतको चौकुनेमा निर्माण थालिएको सिमेन्ट उद्योग पनि अहिले यही अवस्थामा पुगेको छ । सूर्यतारा इन्भेष्टमेन्ट कम्पनी लगानीमैत्री वातावरण नभएको भन्दै उद्योगबाट हात झिक्ने अवस्थामा पुगेको छ । दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको थियो । तर सरकारी तहबाट पर्याप्त सहयोग नभएपछि अहिले काम नै रोकिएको छ ।
उद्योग स्थापनास्थलसम्म पहुँच मार्ग र विद्युत विस्तार नहुँदा समस्या निम्तिएको हो । पूर्वाधार अभावका कारणले उद्योग सञ्चालन गर्न कठिनाइ भएको हो । उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको छ । तर समन्वयको अभावका कारण अन्य काम हुन सकिरहेको छैन । करिब १५ अर्ब रूपैयाँ बराबरको लगानीमा उद्योग सञ्चालन हुन लागेको थियो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको । अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ । तर काम अघि बढ्नुपर्ने बेलामा पूर्वाधार अभावकाबिच उद्योग सञ्चालन गर्न नसकिने भन्दै सरकारले थप पहल नगरे आयोजनाबाटै हात झिक्ने अवस्था आउने कम्पनीले जनाएको छ । यस्तै चार दशकअघि नै अध्ययन गरिएको सुर्खेत सिमेन्ट (चौकुने) उद्योग पनि अलपत्र छ । उद्योग सञ्चालनका लागि २०६६ मा मुक्ति श्री प्रालिलाई जिम्मा दिइएको थियो । तर सरकारबाट अनुमति पाएको डेढ दशक बितिसक्दासम्म पनि उक्त उद्योग स्थापना हुन सकेको छैन । उद्योग स्थापनास्थलमा सम्पर्क कार्यालय राख्नेबाहेक निर्माणको कुनै काम अघि बढेको छैन ।
सिमेन्ट उद्योग मात्रै होइन कर्णालीमा यस्ता कुनै पनि ठूला उद्योग सञ्चालनमा आउन सकेको छैन । प्रदेश सरकारले आवश्यक ठोस नीति निर्माण गर्न सकेको छैन । पहुँच मार्गको अभाव छ । विद्युत विस्तार हुन सकेको छैन । यस्ता अनेक कारणले लगानीमैत्री वातावरण बन्न नसकेको हो । ठूला उद्योगका लागि आवश्यक कच्चा पदार्थ प्रशस्त भएपनि उद्योगीहरूले कर्णालीमा लगानी गर्न सकेका छैनन् । लगानी सुरक्षित नहुँदा ठूला उद्योग सञ्चालनमा समस्या हुने गरेको बताइएको छ । त्यसैले औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार र लगानीमैत्री वातावरण तयार गर्न सरकारले ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः २५ श्रावण २०८०, बिहीबार ०५:०३
सम्पादकीय ।