‘पढ्दै–कमाउँदै’ कार्यक्रमको औचित्य

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन गरिएको छ । कार्यविधि अनुसार विद्यालयहरूले आफ्नो विद्यालयको क्षमताअनुसार प्रस्तावना पत्र तयार गरेर सम्बन्धित स्थानिय तहमा प्रस्तावना पेश गरेपछि प्रस्तावनाको मुल्याङ्कनपश्चात् कार्यक्रम सञ्चालनका लागि स्वीकृति हुन्छ । बजेट प्राप्त भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमाझ कार्यक्रम कार्यान्वयन गरिन्छ । कार्यक्रमको मूल उद्देश्य भनेको शिक्षा सँगसँगै विद्यार्थीलाई सीप पनि प्रदान गर्नु हो र बाँकी जीवनमा आत्मनिर्भर भएर समाजमा घुलमिल भइ बस्न सक्ने नागरिक बनाउनु हो ।

हाल नेपालका एक सय ४० विद्यालयहरूमा ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमको ढाँचाको मेजोरिटी हेर्ने हो भने कृषि, पशुपालन, माछा, च्याउजस्ता विधामा धेरैजसो विद्यालयमा कार्यक्रम लागू भएको देखिन्छ । केही प्राविधिक धारका विद्यालयहरूमा कम्प्यूटर र कतै मात्र मेकानिकल शिक्षा, निर्माण सामग्री बनाउने विषयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको छ ।

यसरी हेर्दा नयाँ भनौं कृषिभन्दा बाहेकमा करिव सात प्रतिशत मात्र विद्यालयहरूले कार्यक्रम चलाएका छन् । बाँकी ९३ प्रतिशत विद्यालयरुले पुरानै ढाँचाको कार्यक्रम सञ्चालन गरेको पाइन्छ । कृषि तथा पशुपालनका कार्यक्रमहरूको बजार बढी प्रतिस्पर्धी हुन्छ भन्ने कुरो विद्यालयले बुझ्न नसकेको हो कि के हो ? गाउँमा पनि कृषि र पशुपालन गर्ने र विद्यालयमा पनि कृषि गर्दा के हुन्छ ? भन्न खोजिएको ।

नेपाल आफै कृषिप्रधान देश हो । यसमा कुनै दुइमत अवश्य छैन । तर बर्सेनि चामल, दाल, तेलहन, तरकारी, मासु जस्ता नितान्त खाद्यजन्य पदार्थ भारत तथा अन्य मुलुकदेखि ल्याउनु पर्ने बाध्यता छ । हाम्रो कृषि प्रणाली उही पुरानै ढङ्गको भएकाले उत्पादन बढ्ने आशा पनि भएन । जनसंख्या दिन प्रतिदिन बढ्ने अवस्थामा वा बढेको छ । तर उत्पादनशील भूमि उही छ वा बढ्दो सहरीकरणका कारण घट्दो अवस्थामा छ । उपभोग र उत्पादनको सम्बन्ध ऋणात्मक देखिन्छ । यो ऋणात्मक हुने बित्तिकै खाद्यान्नको आयात बढ्ने र निर्यात घट्ने स्वभाविक नै भयो ।

मागमा आधारित उत्पादनमा जोड दिन सक्यो भने उत्पादित बस्तु सहजै बिक्री हुन्छ । जाडो महिनामा न्यानो कपडाको बिक्री हेरौँ । राम्रो र गुणस्तरिय न्यानो कपडाहरू जाडो महिनाको बेला बजारमा आउन सक्यो भने महँगो भएपनि त्यसको माग बढी हुने भएकाले सजिलै खपत हुन्छ । माछा, अण्डा, मासु जाडो महिनामा बढी खपत हुन्छ । वर्षाको मौसममा छाता, रेनकोट खपत हुन्छ । गर्मी मौसममा चिसो पेय पदार्थ, पंखा, रेफ्रिजेरेटरहरू, कुलर आदिको खपत बढी हुन्छ । नयाँ फेसनका कपडाहरू चाडो बिक्री हुन्छ ।

यहाँ प्रष्ट पार्न खोजिएको के हो भने, विद्यालयहरूले पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा लागू गर्दा विद्यालयको पहुँच क्षेत्रमा के कुराको माग बढी छ सोहीबमोजिम कार्यक्रम बनाउनु पर्ने हाइन र ? जस्तो सहरी क्षेत्रमा रहेका विद्यालयहरूले बजारलाई मध्यनजर गर्दै तरकारी तथा फलफूल प्याकेजिङका आकर्षक सामग्री उत्पादन गरेर बिक्री वितरण गर्न सक्छन् । पर्यटकीय क्षेत्र नजिक पर्ने विद्यालयहरूले हातले बनाएका ह्याण्डीक्राफ्ट (ह्याण्ड लुम) का सामग्रीहरू जस्तैः हिमाल, पहाड, नदी, चरा, नेपालका जनजातीहरूको संस्कार झल्कने चित्रहरू, हातमा लगाउने नेक्लेस, पोते, ब्यागहरू, माला, चावी झुण्डाउने डोरी, काठका फोटो फ्रेमहरू आदि उत्पादन गर्ने कार्यक्रमहरू सञ्चालन गर्दा राम्रो हुने देखिन्छ । तर, हाम्रो कार्यक्रमहरू ९३ प्रतिशत कृषि, माछापालन, वन, कुखुरा पालन आदिमा केन्द्रित छन् । हो यो पनि आवश्यक छ तर ठाउँ हेरेर, बजार हेरेर कार्यक्रम बनाउनु पर्ने हाईन र ? पैसा कमाउन त बजार पनि त चाहिन्छ होला । घर घरमा पनि खेति किसानी छ । विद्यालयमा पनि खेति किसानीका उत्पादन भयो भने कहाँ बिक्री गर्ने हो ? कल्ले किन्ने हो ? यसमा ध्यान किन जान नसकेको होला ? आखिर बजेट त सरकारले उपलब्ध गराउँ छ नि । बजेटको सही सदुपयोग हुनु पर्छ होला कि पर्दैन होला ? नेपालको बजेट यसरी नै खेर जाने गरेको परम्परा पनि छ ।

विद्यालयमा थप समय खर्च गरेर कमाउने काममा विद्यार्थी सहभागी हुन्छन् । त्यस विषयमा सीप पनि सिक्छन् । तर, त्यो सीप भविष्यमा कति बिक्छ, कहाँ बिक्छ ? भन्ने कुरा ख्याल नै नगरी धमाधम विद्यालयहरूमा ‘सिक्दै–कमाउँदै’ कार्यक्रमहरू लागू भएका छन् । यस कार्यक्रममा सरकारको पनि बजेट खर्च भइनै रहेको छ । तर उपलब्धी ?

भारतको धेरै विद्यालयहरूमा यस्ता कार्यक्रमहरू लागू भएका छन् । तर त्यहाँ कम्पनीहरूको मागअनुसार ह्याण्डलुमहरूको सीप सिकाइन्छ । जस्तो आग्रामा ढुङ्गाका सामग्री बनाउने सीप सिकाइन्छ । विद्यार्थी विद्यालयको शिक्षापछि बजारमा आफ्नो उत्पादन बिक्री गर्दछ । राजस्थानको जोधपुरमा कपडाको डिजाईनिङ्ग, चित्रकला, छालाको काम सिकाइन्छ । पकेट क्षेत्र हेरेर कृषि पनि सिकाईन्छ । विद्यालयपछि उनीहरूले सोही काम पनि गरेर थप अगाडीको शिक्षालाई निरन्तरता दिएको पाइन्छ ।

 

अब, के गर्ने त ?

नेपालका विद्यालयहरू जजसले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ति विद्यालयहरूले पनि आफ्नो बजार हेरेर कार्यक्रम बनाउनु पर्ने देखिन्छ । जस्तो सुर्खेतको बराहताल गाउँपालिकाको जन ज्योति माध्यमिक विद्यालयले यो कार्यक्रमबाट सुरुमा चर्चा पनि कमायो । त्यहाँ विद्यार्थीले पढ्दै–कमाउँदै त गरे तर उनीहरू अहिले थप शिक्षाका लागि बाहिर गए पनि होलान् । त्यहीँ पनि बङ्गुर पालन, माछा पालन, तरकारी खेती गरेर आम्दानी गरेर पढाइ अगाडि बढाउन सकेका छन् ? के यो सम्भव छ ? सबै ठाउँमा ? सीपलाई दिर्घकालीन बनाउनको लागि के सिप सिक्यो भने अन्यन्त्र पनि बिक्छ ? भन्ने कुरो विद्यालयले र कार्यक्रम स्वीकृत गर्ने निकायले पनि थाहा पाउनु प¥यो । विद्यालयबाट प्रस्तावना आयो त्यसलाई अध्ययन गरेर, त्यसको नतिजा के हुने ? र यसले भविष्यमा कस्तो प्रभाव पार्दछ ? जस्ता कुराको ख्यालै नगर्ने । शिक्षाको उद्देश्य पूरा गर्ने खालका कार्यक्रम दिगो हुने किसिमले काम गर्नु पर्दछ ।

कोठामा बसरे ह्याण्डीक्राफ्टको काम, ह्याण्डलुमको काम गरेर बजारमा बिक्री गर्ने खाले सिप सिकाएको भए उसले गर्न सक्थ्यो । आर्टको काम, बेकरीको काम, मेकानिक्सको काम, कम्पूटरको काम, सफ्टवयर डिजाईनको काम, सिलाई बुनाइको काम, फाष्ट फुडको काम, मोबाइल रिपियरिङ्गको काम सिकेको भए आज अन्य सहरमा गएर पनि पढ्दै कमाउँदै गर्न सक्ने थिए ।
त्यसकारण बजारको माग कता छ ? यसलाई ध्यान दिएर यो कार्यक्रम लागू गर्न आवश्यक छ । सरकारको बजेट विनाफाइदा खर्च गर्न त्यति उचित नहोला कि ?

प्रकाशित मितिः   २५ श्रावण २०८०, बिहीबार ०५:०४