चामल आपूर्तिमा ढिलाइ
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले सर्वसाधारणका लागि चामल वितरण स्थगित गरेको छ । गोदाममा खाद्यान्न कम भएपछि वितरण रोकिएको हो । गोदाममा नौ सय ६० क्वीन्टल मात्रै मौज्दात छ । अतिआवश्यक काममा प्रयोग गर्नेगरी चामल मौज्दात राखिएको हो । नयाँ चामल ढुवानी नहुँदासम्म सर्वसाधरणका लागि चामल वितरण स्थगित गरिएको छ । दुई हजार क्वीन्टल खाद्यान्न आपूर्ति गर्नका लागि प्रादेशिक कार्यालयमार्फत् केन्द्रीय कार्यालयलाई अनुरोध गरेको भएपनि आपूर्ति हुन सकेको छैन । मुगु जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको गोदामबाट पनि सर्वसाधरणले चामल पाएका छैनन् । गोदाममा ६ सय आठ क्वीन्टल मात्र चामल मौज्दात छ । ढुवानी हुनुपर्ने चामल आपूर्ति नहुँदा समस्या भएको छ ।
जुम्ला र मुगुमा मात्रै होइन कम्पनीको प्रदेश कार्यालय सुर्खेतको गोदाम पनि रित्तिएको छ । अत्यावश्यक परेको खण्डमा प्रयोग गर्ने भनेर राखिएको मौज्दातबाहेक गोदाममा चामल सकिएको हो । गोदाम रित्तिए पनि थप खाद्यान्न आपूर्ति हुन सकेको छैन । पछिल्लो केही समययता खाद्य आपूर्ति ठप्प भएको छ । प्रादेशिक कार्यालयले २० हजार क्वीन्टल चामल माग गरेको थियो । तर टेण्डर प्रक्रियामा भएको ढिलाइले चामल ढुवानी हुन सकिरहेको छैन । दुई पटकसम्म टेण्डर नै रद्द भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुनु, भारतले चामल आयातमा प्रतिबन्ध लगाउनु र टेण्डर प्रक्रियामा भएको ढिलाइले खाद्य आपूर्तिमा विलम्ब भएको हो । प्रदेशमा आउने आठ हजार क्वीन्टलको लागि सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । बाँकी १२ हजार क्वीन्टल चामल ढुवानीका लागि टेण्डर खुलाइएको छ । अहिले प्रादेशिक कार्यालयमा सात सय ५० क्वीन्टल चामल मात्र मौज्दात रहेको छ । अघिल्लो वर्ष यो समयमा कार्यालयमा १२ हजार क्वीन्टल चामल मौज्दात रहने गरेको थियो ।
गोदाम रित्तिएसँगै अन्य चालम बिक्री वितरण भएको छैन । जसले गर्दा दैनिक नागरिक रित्तो हात घर फर्किनुपरेको छ । चामलले टनाटन भरिने खाद्य गोदाम रित्तिएपछि उपभोक्ता भने चिन्तित् बनेका छन् । खाद्यमा चामल नभएपछि बजारबाट महँगोमा चामल किनेर उपभोग गर्न बाध्य छन् । सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन् । यो वर्ष पनि तोकिएको समयमा चामल ढुवानी हुन सकेको छैन । समयमै टेण्डर प्रक्रिया पूरा गरेर खाद्यान्न आपूर्तिमा सम्बन्धित सरोकारवालाको ध्यान जान जरुरी छ ।
प्रकाशित मितिः २४ श्रावण २०८०, बुधबार ०५:०३
सम्पादकीय ।