बहुमुखी क्याम्पसमा तालाबन्दी

अनियमितताबारे छानविन गर्न अख्तियारमा उजुरी

सुर्खेत: सुर्खेत बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी र अध्यापनरत आंशिक शिक्षकहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिएका हुन् ।

त्यसैगरी क्याम्पसमा तालाबन्दी समेत गरिएको छ । आफ्ना मागहरू पूरा नभएसम्म आफ्ना आन्दोलनका कार्यक्रमहरू जारी रहने बताउँदै आंशिक प्राध्यापकहरूले मंगलवार क्याम्पसमा तालाबन्दी गरेका हुन् । आंशिक प्राध्यापक संघले एक ज्ञापन पत्र बुझाउँदै देशका अन्य क्याम्पसहरूले आंशिक प्राध्यापकहरूलाई करार सेवामा व्यवस्थापन गरिसकेको भएपनि बहुमुखी क्याम्पसले त्यसतर्फ कुनै चासो नदिएको भन्दै ध्यानाकर्षण गराएको छ ।

उनीहरूले करार नियुक्ति र उचित पारिश्रमिक माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय कार्यविधि अनुसार आंशिक प्राध्यापकहरूलाई करार सेवामा व्यवस्थापन गर्नुपर्ने, पारिश्रमिक एक हप्ताभित्र उपलब्ध गराउनुपर्ने, सुर्खेत बहुमुखी क्याम्पसले खुला गरेको व्यवस्थापन संकायको शिक्षक सहायकको विज्ञापनको प्रक्रिया रोक्नु पर्ने, कोर्ष करार व्यवस्थापन समितिको प्रतिवेदन बमोजिम क्याम्पसमा संचालित सबै संकायहरूको करार शिक्षण सहायकको एकमुष्ट रूपमा विज्ञापन गर्नुपर्ने, क्याम्पस प्रशासनले गरेको विभेदपूर्ण व्यवहारको अन्त्य गरिनुपर्ने र भ्रष्टाचारका विषयको यथासिघ्र छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग आंशिक प्राध्यापकहरूले राखेका छन् ।

प्रकाशित मितिः   २४ श्रावण २०८०, बुधबार ०५:०१