कर्मचारीको व्यवस्थापन
कर्णाली प्रदेश सरकार प्रमुख सचिवविहीन भएको छ । प्रमुख सचिव गोपीकृष्ण खनाल सरुवा भएर गइसके पनि उनको स्थानमा कसैलाई पठाइएको छैन । खनाल साउन १० गते नै सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएका हुन् । उनको स्थान रिक्त छ । प्रदेश सरकार नै प्रमुख सचिवविहीन भएपछि प्रशासनिक कार्यसम्पादन, निर्णय प्रक्रिया र सार्वजनिक सेवा प्रवाहमा असर परेको छ । कर्णाली प्रमुख सचिवविहीन भएको यो पहिलो पटक भने होइन । विगतमा पनि महिनादिनसम्म प्रमुख सचिवविहीन नै सरकार सञ्चालन भएको थियो । कर्णाली निजामति कर्मचारीहरूको रोजाइमा पर्दैन । त्यसो त पूर्व प्रमुख सचिवहरू पनि छोटो समयमा नै सरुवा भएर गएका थिए ।
कर्णालीमा प्रमुख सचिव फेरबदल भइरहन्छन् । ६ वर्षमा आठ जना प्रमुख सचिव फेरिएका छन् । जसमध्ये अधिकांश दुई महिनादेखि १३ महिनाको समयावधि मात्र कर्णालीमा बसेको थिए । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय पनि यतिबेला सचिवविहीन बनेको छ । गत बुधवार मन्त्रालयका सचिव श्यामकृष्ण थापा सरुवा भएर गइसकेका छन् । तर उनको ठाउँमा को आउने भन्ने टुँगो छैन । सचिव नहुँदा उपसचिव दीर्घबहादुर पोखरेललाई निमित्त सचिवको जिम्मेवारी तोकिएको छ । उच्च तहका मात्रै होइन कर्णाली प्राय निजामित कर्मचारीको रोजाइमा पर्दैन । प्रदेश सरकार सञ्चालन भएको ६ वर्ष पुग्दा पनि कर्णाली प्रदेशले कर्मचारी अभाव झेलिरहेको छ । अधिकांश कर्मचारीहरू कर्णालीमा आउनै नमान्ने र आएका कर्मचारी पनि चाँडै सरुवा हुने गरेका छन् । यो अस्थिरताले मन्त्रालयहरूको कार्यसम्पादनमा समेत प्रत्यक्ष असर देखिने गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्णालीमा अझैँ २८ प्रतिशत कर्मचारीको अभाव छ । प्रदेशभर दुई हजार नौ सय २९ जना कर्मचारी दरबन्दी छ । हाल दुई हजार ८६ कर्मचारी कार्यरत छन् । जसमध्ये पाँच सय ४१ जना करारमा भर्ना गरिएका कर्मचारी हुन् । प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका दुई सय पाँच जना छन् भने एक हजार एक सय ३१ जना संघीय सरकारबाट समायोजन भएर आएका कर्मचार हुन् । दुई सय नौ जना कर्मचारी काजमा रहेका छन् । प्रदेशमा कूल दरबन्दीमध्ये आठ सय ४३ पद रिक्त छ । यसरी कर्मचारी नै अपुग हुँदा सरकारको कार्यसम्पादन सुस्त छ । बजेटदेखि योजना कार्यान्वयनको गति बढ्न सकेको छैन । जसले गर्दा लगानीअनुसारको नतिजा प्राप्त हुँदैन । कर्मचारी अभावको समस्यालाई समाधान गरेमा मात्रै सरकारी सेवा प्रभावकारी हुनसक्दछ ।
प्रकाशित मितिः २३ श्रावण २०८०, मंगलवार ०९:५४
सम्पादकीय ।