रित्तिदै खाद्य गोदाम
सुर्खेत: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयको गोदाम रित्तिन थालेको छ । अत्यावश्यक परेको खण्डमा प्रयोग गर्ने भनेर राखिएको मौज्दातबाहेक गोदाममा चामल सकिएको हो । गोदाम रित्तिए पनि थप खाद्यान्न आपूर्ति हुन सकेको छैन ।
पछिल्लो केही समययता खाद्य आपूर्ति ठप्प भएको छ । प्रादेशिक कार्यालयले २० हजार क्वीन्टल चामल माग गरेको थियो । तर टेण्डर प्रक्रियामा भएको ढिलाइले चामल ढुवानी हुन सकिरहेको छैन । माग गरिएको चामल भनेकै समयमा पु¥याउन नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताए । उनका अनुसार दुई पटकसम्म टेण्डर रद्द भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुनु, भारतले चामल आयातमा प्रतिबन्ध लगाउनु र टेण्डर प्रक्रियामा भएको ढिलाइले खाद्य आपूर्तिमा विलम्ब भएको हो । उनले भने, ‘प्रदेशमा पठाउने आठ हजार क्वीन्टलको लागि सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । बाँकी १२ हजार क्वीन्टल चामल ढुवानीका लागि टेण्डर खुलाएका छौँ ।’ खाद्य अभाव हुन नदिनेगरी प्रक्रियागत रूपमा काम भइरहेको चन्दको भनाइ छ । उनका अनुसार दुर्गममा खाद्य अभाव हुन नदिनेगरी व्यवस्था मिलाइएको छ ।
अहिले प्रादेशिक कार्यालयमा सात सय ५० क्वीन्टल चामल मात्र मौज्दात रहेको छ । गोदाम रित्तिएसँगै अन्य चालम बिक्री वितरण भएको छैन । जसले गर्दा दैनिक नागरिक रित्तो हात घर फर्किनुपरेको छ । अघिल्लो वर्ष यो समयमा कार्यालयमा १२ हजार क्वीन्टल चामल मौज्दात रहने गरेको थियो । माग गरिएअनुसार खाद्य आपूर्ति नहुँदा सहज रूपमा चामल बिक्री गर्न नसकिएको प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिए । उनका अनुसार मौज्दातबाहेक गोदाममा चामल छैन । प्रक्रिया अघि बढेकाले अबको केही दिनमा चामल गोदाममा आइपुग्ने उनले बताए । मिश्रले भने, ‘अहिले गोदाममा चार क्विन्टल दुई हजार दुई सय पर्ने मसिनो चामल मात्र छ । अन्य चामल छैन । गोदाम खाली नै छ ।’
चामलले टनाटन भरिने खाद्य गोदाम रित्तिएपछि उपभोक्ता भने चिन्तित् बनेका छन् । चामल लिन बसेका स्थानीय रित्तो हात फर्कन बाध्य भएका हुन् । खाद्यमा चामल नभएपछि बजारबाट महँगोमा चामल किनेर उपभोग गर्नुपरेको स्थानीय जोगी सुनारको गुनासो छ । उनी सोमवार खाद्यको गोदाममा चामल लिन पुगेका थिए । चामल नपाएपछि उनी पनि रित्तो हात फर्किए । ‘गोदाम पूरै रित्तो छ । बजार मूल्य छोइसक्नु छैन’ उनले भने । करिब दुई सातादेखि प्रादेशिक कार्यालयको गोदाममा चामल छैन । प्रत्येक दिन नागरिक रित्तो हात फर्कने गरेका छन् ।
जुम्लामा पनि चामल मौज्दात न्यून छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लामा आयात हुँदै आएको चामल अभाव हुने देखिएको छ । अहिले सर्वसाधारणका लागि वितरण स्थगित गरिएको छ । कार्यालय प्रमुख निर्मल विष्टका अनुसार अघिल्लो आर्थिक वर्षबाट बचेको नौ सय ६० क्वीन्टल मात्रै मौज्दात रहेको छ ।
अतिआवश्यक काममा प्रयोग गर्नेगरी चामल मौज्दात राखिएको हो । नयाँ चामल ढुवानी नहुँदासम्म सर्वसाधरणका लागि चामल वितरण स्थगित गरिएको उनको भनाइ छ । दुई हजार क्वीन्टल खाद्यान्न आपूर्ति गर्नका लागि प्रादेशिक कार्यालयमार्फत् केन्द्रीय कार्यालयलाई अनुरोध गरिएको उनको भनाइ छ ।
यस्तै मुगु जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको गोदामबाट सर्वसाधरणले चामल पाएका छैनन् । गोदाममा ६ सय आठ क्वीन्टल मात्र चामल मौज्दात छ । ढुवानी हुनुपर्ने चामल आपूर्ति नहुँदा समस्या भएको संस्थानको शाखा कार्यालयले जनाएको छ । चामल लिन गाउँबाट सदरमुकाम आएका स्थानीय रित्तो हात फर्कन बाध्य छन् । अत्यावश्यक बाहेक नागरिकका लागि चामल बिक्री वितरण स्थगित गरिएको खाद्य संस्थानका शाखा प्रमुख पुष्कर भामले जानकारी दिए । उनका अनुसार बजारमा चामल पर्याप्त छ । नयाँ चामल नआउने बेलासम्म गोदामबाट बिक्री वितरण गरिएको छैन ।
सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन् । यो वर्ष पनि तोकिएको समयमा चामल ढुवानी हुन सकेको छैन । आइतवारबाट मात्र खाद्य ढुवानीका लागि देशैभरी टेण्डर आह्वान गरिएको छ ।
प्रकाशित मितिः २३ श्रावण २०८०, मंगलवार ०९:५३
रजनी याेगी ।