राजमार्ग स्तरोन्नति
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाविटदेखि भेडाबारी जोड्ने सडक निर्माणमा रूख कटानको समस्या सुल्झिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले सडक खण्डमा पर्ने रूख काट्न स्वीकृति दिएको छ । रूख कटानको अनुमति नपाउँदा ३५ किलोमिटर सडक निर्माणमा अवरोध भएको थियो । कटान अनुमति नपाए पनि सडक क्षेत्रका रूखमा चिनो लगाउन काम भने यसअघि नै सुरु गरिएको थियो । चिनो लगाउन थालिएको लामो समयपछि कटानका लागि स्वीकृति पाएको हो । धुलियाविट–भेडाबारी सडक खण्डअन्तरगर्त १८ किलोमिटर वनक्षेत्र पर्दछ । हालसम्म सात किलोमिटर क्षेत्रभित्रका रूखमा चिनो लगाइएको छ । एक हजार एक सय १४ वटा रूख कटानका लागि राजमार्गले वनसँग स्वीकृति मागेको थियो । तर स्थलगत अनुगमनपछि कटान गर्नुपर्ने रूखको संख्या घटाइएको छ । अनुगमनबाट एक हजार एक सय तीन वटा रूख मात्र काट्नुपर्ने देखिएको वन कार्यालयले जनाएको छ ।
आयोजनाले अब सम्बन्धित क्षेत्रको सामुदायिक वन उपभोक्ता समिति र सव–डिभिजन वन कार्यालयसँग साझेदारी गरेर मात्र रूख काट्न पाउनेछ । काटिएका काठहरू पुनः राजमार्गले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने छ । वन कार्यालयबाट स्वीकृति पाएसँगै सडक निर्माणको कामले पनि गति लिने भएको छ । जग्गा विवाद र वनको कुरा सुल्झिएको छ । अब रफ्तारमा काम अघि बढ्ने बताइएको छ । सडक निर्माणमा हालसम्मको प्रगति भने सन्तोषजनक छैन । सम्झौता गरिएको अवधि सकिनै लाग्दासमेत धुलियाविट–भेडाबारी सडक खण्डको कामले गति लिन नसकेको हो । राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका (केएस) वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । तर निर्माण सम्झौता सकिन केही महिना मात्र बाँकी रहँदा आधाभन्दा कम मात्र काम भएको छ । हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । पछिल्लो समय कामको गति पनि सुस्त भएको छ । यद्यपि, निर्माणको काम रोकिएको भने छैन । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । म्याद थप गरेर काम अघि बढाउने तयारी राजमार्गको छ ।
राजमार्ग स्तरोन्नति समयमै नहुँदा नागरिकले भने सास्ती बेहोर्दै आएका छन् । वर्षामा हिलाम्मे र हिउँदभर धुलाम्मे हुने सडकले नागरिकलाई सास्ती दिएको हो । यो सडकले वीरेन्द्रनगरस्थित धुलियाविटबाट भेरीपारिका बस्ती लेकवेशी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्नेछ । हालसम्म राजमार्गको पाँच किलोमिटर कालोपत्रे हुनुका साथै १५ किलोमिटर सडक ग्राभेल भइसकेको छ । अब बाँकी कामलाई पनि तीव्रताका साथ गर्नुपर्ने देखिन्छ ।
प्रकाशित मितिः १६ श्रावण २०८०, मंगलवार ०५:०३
सम्पादकीय ।