ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा

सुर्खेत बुलबुले यातायात प्रालिले ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा सुरु गरेको छ । प्रालिले आफ्ना सबै रुटहरूमा बिहीवारदेखि प्रत्येक गाडीमा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा सुरु गरेको हो ।

प्रालिका अध्यक्ष लोकबहादुर थाडामगरले बिहीवार वीरेन्द्रनगरदेखि नेपालगन्ज जान लागेका कालिकोट बदालकोट–२, का अनिपाल शाहीलाई निःशुल्क फ्री पास दिएर सेवा सुरु गरेका हुन् । उनले ज्येष्ठ नागरिक शाहीलाई उक्त निःशुल्क फ्री पास दिएर आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा सुरु गरिएको जनाए । उनका अनुसार सेवा लिनका लागि सेवाग्राहीले आफू ७० वर्ष भन्दा माथि उमेर भएको प्रमाणपत्र देखाउनु पर्नेछ । सेवाग्राहीलाई आकर्षित गर्न प्रालिले आफ्ना सबै सवारी साधानमा महिला, बालबालिका र अपाङ्गलाई विशेष सीटको व्यवस्था गरिएको उनले बताए ।

प्रालिले सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखि कालिकोट, जुम्ला, दैलेख, नेपालगन्ज, सेवा दिँदै आएको छ । प्रालिका सचिव सोनाम लामाले सेवाग्राहीलाई सहज तथा सुलभ सेवा दिनका लागि प्रालिले छिट्टै नयाँ प्याकेज कार्यक्रम ल्याउन लागेको जानकारी दिए । उनले प्रालिका सबै लग्जरी गाडीबाट सहुलियत मूल्यमा मुगु रारा प्याकेज ल्याउन लागिएको बताए । उनका अनुसार प्रालिले छिट्टै जाजरकोट, पश्चिम सुर्खेतको बड्डिचौर, लगाम बेतानसम्म सेवा पु¥याउँदैछ ।

प्रकाशित मितिः   १४ माघ २०७३, शुक्रबार १०:३८