रकम अभावले उपचारमा समस्या

३ महिना अगाडिदेखि थला परेका जाजरकोट थालारैकर गाविस वडा नम्बर १ का देवुसिंह ठकुरीलाई आर्थिक अभावमा उपचारमा कठिनाइ भएको छ । आर्थिक अभावका कारण उनको उपचारमा समस्या उत्पन्न भएको हो ।

खुट्टामा अकस्मात समस्या देखिएपछि गएको कात्तिक १४ गते काठमाडौंको नर्भिक अस्पताल पु¥याइए पनि अहिलेसम्म निको नहुँदा सिंहको परिवारको विजोग भएको छ । उपचारका लागि सुरुमा नेपालगन्ज लगिए पनि चिकित्सकले काठमाडौं रिफर गरेपछि सिंहलाई ऋणको जोहो गरेर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा देब्रे खुट्टा सुनिएपछि डाक्टरले सबै मासु काटेका थिए । अहिले दायाँ खुट्टाको मासु पनि अर्को खुट्टामा हाल्दा दुवै खट्टामा गम्भीर समस्या देखिएको छ । घुडाबाट सुरु भएको घाउ पछिल्लो समय दुवै खुट्टाबाट माथि–माथि सर्दै गएपछि सिंहकोे अवस्था झनै गम्भीर बन्दै गएको छ ।

उपचारका लागि तीन महिनाको अवधिमा २५ लाख रकम खर्च भए पनि अझै सुधार नआएपछि सिंह परिवारले सहयोगका लागि अपिल गरेका छन् । उपचारका लागि सहकारी संस्थाबाट चर्को ब्याजमा लिएको रकम सकिएपछि उनको उपचारमा समस्या बढ्दै गएको छ । सिंहका दुवै खुट्टा अहिले पाकेर संक्रमण थप बल्झिन थालेपछि सिंह परिवार थप समस्यामा परेको छ ।

उपचारका लागि एक दिनमा मात्र करिब १० हजार रूपैयाँ लाग्ने गरेकोले सानो सहयोगबाट पनि आफ्ना श्रीमान्को जीवन बाँच्न सक्ने भन्दै उनकी श्रीमती प्रतिमा सिंहले सहयोगको लागि देश विदेशमा रहेका नेपालीसँग पनि याचना गरेकी छिन् । सहयोग गर्न चाहनेहरूले एभरेष्ट बैंकमा रहेको खाता नम्बर ०३१००५०१२०६११० मा सहयोग रकम पठाउन आग्रह परिवारले गरेको छ । यस्तै मोबाइल नम्बर ९८४८१३३८२७ मा फोन गरेर पनि सहगोग गर्न सकिने छ ।

प्रकाशित मितिः   १४ माघ २०७३, शुक्रबार १०:४०