‘मिन्झारी’ माथिको नजर

एम.पी. केएरलेससँगको पहिलो भेट एकदशकअघि गुटुमा भएको थियोे । परिचयका माध्यम थिए, डि.पी दोभान । विशाल बजार गुटुमा मीठो चिया पाउने अड्डा थियो, जान्वी होटल । चियाकै चुस्कीमा गजल सुन्ने–सुनाउने काम भएको थियो हामीबीच । गजल लेख्ने जो–कोही अपरिचित मान्छे पनि आफन्त भन्दा नजिक लाग्ने गर्थें त्यो समय । त्यही सम्बन्धबाट हामी एकआपसमा परिचित भएर नजिक भएका थियौँ र आजसम्म पनि त्यो सम्बन्ध जीवित भएर बाँचिरहेको छ । एकाक्षरी काफियामा गजल लेखेर ‘एक’ गजल संग्रह प्रकाशन गर्ने नेपालकै पहिलो सायर हुन् उनी ।

हुन त उनको एक गजल संग्रहमाथी काफिया दोष देखाउँदै चोर औंला ठड्याउने मान्छेको कमी नभएको पनि होइन । ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै जान्छ’ भन्ने आहान जस्तै उनी लेखनीको बाटोमा अघि लम्किरहे र कलमलाई विश्राम दिएनन् । जसको फलस्वरूप आज ‘मिन्झारी’ उपन्यास महेन्द्र उपाध्यायको नामबाट बजारमा ल्याउन सफल भएका छन् ।

एउटा गजलकार गजल लेखनीबाट हँुत्तिदै आख्यान क्षेत्रमा पुग्नु सामान्य कुरा पनि होइन । अन्य गजलकारहरूलाई महेन्द्र उपाध्यायको आख्यान क्षेत्रको उफ्राइप्रति चाँसो र जिज्ञासा लाग्नु स्वभाविकै हो । गजल लेख्ने सायरले आख्यान कस्तो लेख्यो भन्ने प्रश्न उठ्नु अन्यथा होइन । म पनि कुतुहल र जिज्ञासाको घेराबाट अछुतो रहन सकिनँ । मिन्झारी जब हातमा प¥यो, मैले पनि एकसुरमा पढिरहेँ । खाना खान भुलँे । पानी पिउन भुलेँ मिन्झारी नसकुञ्जेल । मिन्झारीको अर्थ पढेपछि थाह पाएँ । थारु समुदायको बाघरूपी कुलदेवता बस्ने खोपी रहेछ । बाघ रमाउने रगतमा हो तर मिन्झारीको बाघ रगतमा नभइ गाइको दूधमा रमाउने रहेछ । पर्वतिया÷पहाडीलाई मिन्झारीको बाघ मानेर पुजा गर्ने पहाडियाबाट भूमीपुत्र थारुहरू शोषित, उत्पीडित हुनुको पीडा लेखकले ओकल्न खोजेका छन् तर यस्तो गम्भीर विषयमाथी लेखक पेचिलो रूपमा उभिएर कहानीको खोजी अझै गरेको भए उपन्यासले युगको प्रतिनिधित्व गर्नेथियो ।

मिन्झारी उपन्यासले तराईमा रहने थारु समुदाय र अछामी, दैलेखी समुदायको भाषाभाषीको चित्रण मात्रै होइन समुदायको वर्ग चरित्रको पनि चित्रण गरेको छ । पराल दिएर गोरु साट्ने थारुहरू पहाडीयाको कमैया हुनु परेको कथा मार्मिक छ । भूमीपुत्र थारुहरू भूमीहीन किन भए ? थारुहरूका पुर्खाले कमाएको जमिन पहाडीया जमिनदारहरूको नाममा लालपुर्जा कसरी भयो ? यावत प्रश्न मिन्झारी पढेपछि पाठकको मनमा प्रश्न उब्जिन्छन् । पहाडियालाई मिन्झारीको बाघ बनाएर पुजा गर्ने थारुमाथी पहाडीयाले दयाभाव नराखेको कुरा लेखकले दर्शाउन खोजेका छन् ।

कामको सिलसिलामा रुखको हाँगो लागेर मृत्युवरण गरेको स्याउल्यान छोड्काको लास वरिपरि जम्मा भएका जमिन्दार राठौंर, साइँला बाजे महेन्द्र काका, विष्ट बाजे, बटाला बाजे र शिवकी बजै उसको मृत्युप्रति उदासिन हुनु र बजैलाई खेतबारी खनजोतको चिन्ता र स्याउलान छोड्काको मृत्युपश्चात् आफ्ना केटाकेटी भोकै हुने चिन्ताले सताउनुले मालिकहरूको कामदारप्रति मानवताहीन समवेदना देखिन्छ ।

मृत्युपश्चात् आफ्ना पुर्खाले कमाएको चार हातको जमिनमा स्याउल्यान छोड्का समाधिष्ट हुन नपाउनु र शीव कि बजैसँग आफ्नो पतिको समाधीको लागि एक टुक्रा जमिनको भिख माग्दै स्याउल्यान छोट्कीले बिन्ती गर्दा पनि बजैको कठोर मन नपग्लिनु, निर्जिव छोट्काको लाससँग तँ मर्दा पनि तँ लाई गाड्ने दुईहात जमिन तेरो नाममा भएन भन्दै स्याउल्यान छोट्कीले आफ्ना पतिसँग गुनासो पोखेको प्रसँगले पाठकलाई भावविह्ल बनाउँछ । स्याउलान छोड्का बाँचुञ्जेल मालकिनी बजै र बजैका नातीहरूलाई टिकापुर, चौरी ओहोर–दोहोर गराएर कमैयाको भूमिकाबाट खुशी बनाइरह्यो तर आज ऊ महाप्रस्थानको यात्रामा निस्कदै थियोे । उसको यात्रामा रुने उसकी श्रीमतीबाहेक अरु कोही थिएनन् । अब उप्रान्त उसले पसिना बगाएर मालिकलाई खुसी बनाउने संसार कहिल्यै रोज्ने छैन । ऊ निस्किदै थियो खालिहात जमुना नदीको ऐलानी जमिनमा समाधिष्ट हुन ।

औलोको डरले तराइमा खुट्टा नटेक्ने पहाडीयाहरू समय परिवर्तनसँगै रातारात थारुहरूलाई नौकर बनाएर मालिक कसरी भए यस विषयमा लेखकले थप कहानी बनाउन सकेको भए मिन्झारी नाउले सार्थकता पाउने थियोे । सौकी प्रथालाई लेखकले मिहिन रूपले खोजतलास गरेर सौकी बसेका थारु महिलामाथि जमिनदारहरूले गरेको शोषणलाई उजागर गरेको भए यथार्थको आरनमा माझिएर मिन्झारी अझै स्पात हुने थियो ।

नेपालमा कमैया मुक्ति घोषणा २०५७ साउन २ गते भएको हो । कमैया मुक्ति घोषणा भएको २३ वर्ष हुँदा पनि थारु समुदाय अझै पनि समाजबाट बहिस्कृत छन् । राज्यको व्यबहारबाट पनि बहिस्कृत हुनु परेको ज्वलन्त उदाहरण टिकापुर घटना हो भन्ने ठम्याइँ लेखकको छ । रेशम चौधरीले टिकापुर घटना घटाएकै हुन भन्ने पक्षमा मेरो मत पनि छैन । टिकापुर घटना घट्नुमा उनले आफ्नो चिरफार नामक पुस्तकमा धेरै नेताको नाम पोलेका छन् । उनीहरूमाथि औंला तेर्सिएपछि आरोपितहरूको कठालो समातेर अनुसन्धानको दायरामा ल्याउनु राज्यको दायित्व हो, खैर हामी त्यता जादैनौं । राज्यले थारु समुदायमाथी गरेको राजनीतिक, साँस्कृतिक, लैङ्गिक र अधिकारको विभेदलाई टिकपुर घटना र राज्यले दोषी ठहराएर आम माफी पाइसकेका पात्रसँग मिन्झारी उपन्यासको कथाको साइनो नजोडी बरु त्यस्ता घटनाहरूलाई मिथकिए रूपमा जोडेको भए उपन्यासको ओज बढ्ने थियोे ।

लेखकले तत्कालिन माओवादी जनयुद्धलाई पनि कोट्याउन खोजेका छन् । जनयुद्धमा देश परिवर्तनको लागि ज्यान कुर्वानी गरेका थारुहरूको वीरगाथालाई पनि थारु पात्र बनाएर जोडेको भए विभिन्न राजनीति परिवर्तनको लागि थारुहरूले गरेको योगदानको पनि मुल्यांकन हुने देखिन्थ्यो । आन्टीको एक दिनको अनसनले घर दुई भागमा बाँडिएपछि मालिकका दाजुभाइमा आएको घरायसी फाटोबाट बिरक्तिएको बड्को रातारात घरबाट सदाको लागि हराउँछ । गाउँले नयाँ कहानी पाउँछ, बड्को हराए झैँ । शीवका काका युद्धबाट गुमनाम हुनु र गाउँबाट बड्को हराउनुको कहानीले उपन्यासमा मसला थपेको छ ।
रेडियोको तारसँग जोडिएको शिवकी बजैंको धड्कन । रेडियो बज्न छोड्नु र बजै अस्ताउनुको कहानीमा लेखकले कौसल सिपको प्रयोग गरेकाछन् । मिन्झारीका अधिकांश कहानी लेखककै जीवनमा घटेका सत्य घटना जस्तै लाग्छन् । उक्त कहानीले उपन्यास नसकुन्जेल खुलदुली बढाउँछ ।

करोड कमाउने सपना बोकेर मधेसदेखि दैलेख हिँडेको रामशङ्कर । राजधानीको ट्युसन र बोडिङ्गको कमाइप्रति आँखा नलागेपछि ठेक्का पट्टामा छिरेका शीव समयको चापसँगै दैलेखबाट विस्तापित भएर पलायन भएको घटना मार्मिक छ । मस्तिस्कमा हमेसा करोडको सपना सजाइरहने रामशङ्कर एक्कासी मध्यरातमा किन घोडाटाप कस्यो ? दुई बच्चा कि उसकी श्रीमतीलाई अर्कैले टिपेर रामशङ्कर पत्नि वियोगमा पर्नु र आफैले पढाउने विद्यार्थी केशरीको प्रेमजालमा फसेको शीव प्रेमको आलिङ्गनबाट टाँढिदै प्रेमजाल तोडेर कर्णाली तर्दै किनार लागेको घटनालाई मैले यहाँ सबै बेलिबिस्तार गर्न मनासिव ठानेन उक्त कहानीको रहस्य पत्ता लगाउने जिम्मा पाठकको जिम्मा छोडे ।

शीव र र केशरीका बिचमा हुने गीति संवादहरूले उपन्यासलाई काव्यिक रसमा डुबाउँदै आञ्चलिक्ताको कसीमा दैलेखी सभ्यतालाई उभ्याएको छ । भाषाको रूपमा मिन्झारीमा धेरै भाषीकाहरूको प्रयोग भएको छ ।

उमेर नपुगेका युवतीहरू यौन पेसामा लाग्नुको कारण आधुनिक युगको पराकाष्टा हो भन्ने कुरा लेखकले औंल्याउन खोजेका छन् । जो कसैले आफ्नो अभिष्ट पूरा गर्न जस्तोसुकै कदम चाल्नु कदापी राम्रो होइन तर आधुनिक युगप्रति राज्य उदासीन बन्नु राम्रो होइन । आधुनिकताको नाउमा नङ्ग्याउने र नाङ्गिनेप्रति सरकार निर्मम हुनैपर्छ ।

कर्मचारीको रूपमा आफुलाई समाजको सभ्य नागरिक ठान्ने कुलमानको यौनवादी चरित्रले सरकारी ओहोदमा रहेर स्खलित चरित्रका कर्मचारीमाथी व्यंगे प्रहार गरेको छ ।

अन्तराम चौधरी उर्फ कल्लु उमेरले शीव भन्दा जेठो हो । जेठो भएता पनि कल्लुले शिवलाई दाइ नभनेकै कारण पिटाइखानु परेको विषयले गरिवहरूले हरेक रूपमा दमित हुनुपर्ने र उच्च वर्गले जसरी पनि माथि भइरहनु पर्ने कुराले सामन्तवादको उजागर गरेको छ । सामन्त चरित्र व्यक्तिसँग जोडिएर आउने आउने आचरण हो । जुन आचरण गरिबहरूको जीनमा होइन सम्भ्रान्त परिवारमा जोडिएर आउने अहंकार हो । उपन्यासका पात्रहरूको चरित्रद्वारा लेखकले उजागर गरेका छन् ।

रोटीरोजीको लागि अन्तराम जागिरको चक्करमा दैलेख पुग्नु र शिव दैलेखमै भेटिनु संयोग मात्रै थिएन । कल्लुका बा आमादेखि शिवको घरमा कमैया बसेका किस्सासँग जोडिएको पसिनाको कहानी छ । कमैयाको छोराले एसएलसी पास गर्नु त्यो बेला चानचुने कुरा थिएन । थारु समुदायबाट एसएलसी पास गर्ने कल्लु उर्फ अन्तराम चौधरी एक्लो बृस्पति थियोे भन्दा अतिशयोक्ति नहोला । पढाइमा कल्लुले धेरै प्रगति नगरे पनि लघुवित्त संस्थामा जोडिएर सामान्य रोजगारी पाउनु उसको लागि अवसर थियो । जागिरकै शिलशिलामा अन्तराम दैलेख पुग्छ । सत्र हजारको जागिरले गुजरा नचलेपछि वित्तीय सहकारीबाट केही रूपैयाँ बकाए बनाउँदै कल्लु आफ्नै घर फर्कन्छ ।

राजनीति समीकरण बदलावसँगै दैलेखमा ठेक्कापट्टा गर्दै आएका शिवलाई ठेक्कापट्टा पर्न छोडेपछि शिव पनि निरास मन लिएर गाउँ फर्कन्छ । शिवले कल्लुसँग मिलेर कैलाली घरमै बाख्रापालन गर्ने योजान बनाउँछन् । बेरोजगार कल्लु पनि सहमत हुन्छ उक्त योजनामा । तर कमैया मुक्ति उन्मुलन भएको २३ वर्षपछि पुनः कल्लु शिवको घरमा कमैया बस्न थालेको कुरा थारु बस्तिमा आगोझै फैलिएपछि अचनाक राति थारुहरूको बैठक बस्छ । शिवको बाख्रा फर्ममा काम गर्नु भनेको कमैया बस्नु र थारुहरूको बेइजत हुने निस्कर्ष बैठले निकालेपछि कल्लु बाख्रा फ्रममा बस्न असमर्थ हुन्छ । वर्षौ हराएको बड्को यही सन्देश ल्याएर शिवको आगनमा पुग्छ । बड्को हराएझै भन्ने कहानी पनि आजबाट सदाको लागि गाउँबाट हराउँछ । लेखकको भनाइसहित दुईसय दस पेजमा सकिएको मिन्झारीलाई लेखकले उपन्यासकरण गरीरहँदा मलाई भने आख्यान र गैरआख्यानको मिश्रित रूप भएको आभाष दिलायो । मिन्झारी अध्ययन गर्दा पट्यार नलाग्नुले लेखकले आफूलाई भोलि बलियो लेखकको रूपमा स्थापित गर्दैछन् भन्ने उदाहरण हो ।

कृति सुन्दर हुँदाहुँदै पनि लेखक उपन्यासका केही पाटाहरूमा चुकेका छन् । हतार नगरी चुकेका पाटाहरूमा थप कथाको जलप लगाउँन सकेको भए पुस्तक अझै सुन्दर हुने थियो । कुनै कहानी अधँुरा र अपुरामा टुङ्गिएका छन् । सौकी पर्थालाई थप उजागर गरेर पुस्तकको नाम सौकी राखेको भए अझैं उपन्यास सशक्त हुने थियो । नेपाली साहित्यमा मिन्झारीले अवश्य पनि आफ्नो हैसियत बनाउने छ नै । पाठकहरूले पनि लेखकलाई ऊर्जा थप्न कृतिहरू अध्ययनपश्चात् पाठक शंस्लेशीत बिचार लेख्न पनि जरुरी छ भन्ने लाग्छ । अन्तमा लेखकलाई हार्दिक बधाई र थप कृति पढ्न पाउँ शुभकामना छ ।

प्रकाशित मितिः   १३ श्रावण २०८०, शनिबार ०५:०४