जुम्लामा ‘लम्पी स्किन’ले ठूलो क्षति
जुम्ला: लम्पी स्किन रोगले किसानका गोठ रित्तिन थालेका छन् । जुम्लाका आठै स्थानीय तहमा फैलिएको रोगले गाईगोरु धमाधम मर्न थालेका छन् । घरका हलगोरु मरेपछि जग्गा जमिन बाँझो भएको तातोपानी–७ सर्मीका किसान मुनबहादुर कुँवरले बताए । ‘घरका हलगोरु मरिसके, गाउँमै गोरू पाउन मुस्किल छ, जग्गा बाँझो भइसक्यो, ठूलो परिवार कसरी पाल्ने भन्ने पीर छ’ उनले भने ।
जिल्लाभर रोग फैलिए पनि किसानले उपचार गर्न सकिरहेका छैनन् । रोग नियन्त्रण बाहिर पुगिसकेको तातोपानी–७ का राजी कुँवरले बताए । ‘अहिलेसम्म कुनै औषधि उपचार गर्न सकिएको छैन । स्थानीय तह, पशु सेवा कार्यालयले उपचारमा सघाउन सकेका छैनन् । पशु रोगसँग लडिरहेका छन्, हामी भगवान भरोसामा बस्नुको विकल्प छैन’ उनले भने ।
समयमै सरोकारवालाले गम्भीरतापूर्वक नलिए ठूलो नोक्सानी हुनुका साथै जग्गा बाँझो रहेर भोकमरी निम्तिने खतरा रहेको पातारासी–५ का गोविन्द बुढाले बताए । ‘कुनै गाईगोरु घाँस खानै नसक्ने छन् । कुनैको शरीरभरी खटिरा र दाग छ । अवस्था भयावह छ’ उनले भने ।
जुम्लामा यसअघि गाईगोरुमा यस्तो प्रकोप कहिल्यै देखापरेको थिएन । ‘अहिले अवस्था निकै दयनीय छ । किसान आफ्ना गाईगोरु छटपटाउँदै मरेको हेर्न विवश छन् । चाहेर पनि उद्दार गर्न सकिरहेका छैनन्’ पातारासी–५ गोरिकला विष्टले सुनाइन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार रोग नियन्त्रण बाहिर गइसकेको छ । आठै स्थानीय तहको प्रारम्भिक तथ्यांकअनुसार १४ हजार गाईगोरुमा भाइरल रोग लम्की स्किन संक्रमण भइसकेको छ । झन्डै सात सयदेखि एक हजारको हाराहारीमा मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख लालबहादुर बुढ्थापाले बताएका छन् । अहिले देशभर झै जुम्लामा पनि यो रोग फैलिएकोले नियन्त्रणमा लिन कठिनाई भएको उनले बताए ।
अफ्रिकि मुलुकबाट २०७६ सालतिर नेपाल भित्रिएको लम्पी स्किन रोग जुम्लामा पहिलो पटक देखिएको उनले बताए । ‘यो भाइरल रोग भएकोले यसको खास उपचार कठिन छ, तर ज्वरो नियन्त्रणमा लिने, अन्य कठिनाई कम गर्ने खोप नै हो । जुम्लामा ५ सय खोप आएको थियो तर यो प्रयाप्त होइन’ उनले भने ।
अन्य निरोगि पशु बचाउने संक्रमित पशुलाई छुट्टै राख्नुपर्ने उनको सुझाव छ । झिँगा, भुसुना, लामखुट्टेले रोग सार्ने हुदा संक्रमित पशुलाई छुट्टै राख्नु पर्ने उनले बताए । मान्छेमा कोरोना जस्तै गाई गोरुमा लम्पी स्किन रोग नयाँ भएकोले नियन्त्रणमा लिन कठिन भएको हो । सरकारले आवश्यक खोप उपलब्ध गराउनुपर्ने प्रमुख बुढ्थापाले बताए ।
प्रकाशित मितिः १० श्रावण २०८०, बुधबार १२:४९
मानबहादुर कुँवर ।