मप क्षेत्रीय अस्पतालमा विशेषज्ञ सेवा थपिदै

कुनैबेला दक्ष जनशक्ति र सेवा सुविधाको अभावमा आफै थला परेको मध्यपश्चिम क्षेत्रीय अस्पताल विस्तारै तंग्रिन थालेको छ । आवश्यक उपकरण र दक्ष चिकित्सक नहुँदा सामान्य रोगका बिरामीलाईसमेत जिल्ला बाहिर रिफर गर्दै आएको यो अस्पतालको स्वरूप पछिल्लो समय बदलिएको हो । यही क्रममा अस्पतालले केही महिनाभित्रमा थप विशेषज्ञ सेवाहरू पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

सानो कटेरोबाट सेवा सुरु गरेको यो अस्पतालले भौतिक संरचना विस्तारसँगै पछिल्लो समय सेवाहरूसमेत बढाएको हो । यस्तै डाक्टरहरूको संख्या पनि थपिएको छ । अर्कोतर्फ अस्पतालमा सबैभन्दा सुधार भएको पक्ष भनेको अस्पतालको सरसफाइ हो । फोहोरको व्यवस्थापन नहुँदा दुर्गन्धित र अस्तव्यस्त बन्दै आएको अस्पतालमा सुधार आएको छ । पहिलाको तुलनामा फोहोर व्यवस्थापनमा अस्पतालले सुधार गरेको सर्वसाधारणले बताएका छन् । साथै उनीहरूले यसको प्रशंसा गरेका छन् ।

भौतिक संरचनाको अभाव झेल्दै आएको अस्पतालको नयाँ भवन निर्माण भएको छ । जहाँ अहिले ओपीडी सेवा सञ्चालन गरिएको छ । यस्तै अन्य भवनहरू पनि निर्माणको क्रममा छन् । अस्पताललाई प्रदेश नम्बर ६ को केन्द्रीय अस्पतालको रूपमा विकास गर्ने तयारी भइरहेको अस्पताल विकास समितिले जनाएको छ । जसका लागि अस्पतालमा साढे तीन सय शैयाको नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको छ । अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले भवन निर्माणको सम्झौता भइसकेको र काम चाँडै सुरु हुने बताए । उनका अनुसार अब अस्पतालको मुहार नै फेरिनेछ । उनले भने, ‘अब अस्पताल पहिलाको जस्तै रहँदैन, हामीले थप विशेषज्ञ सेवा पनि सञ्चालन गर्दैछौं । आईसीयू र एनआईसीयू सेवा थप्दैछौं, सम्भवतः आउँदा फागुन ७ गते अस्पतालको स्थापना दिवसको अवसरमा यो सेवाको उद्घाटन हुनेछ ।’

दरबन्दी अनुसार डाक्टर व्यवस्थापन गर्नका लागि मन्त्रालयमा पहल भइरहेको अस्पतालले जनाएको छ । विगतको तुलनामा अस्पतालले काँचुली नै फेरेको भन्दै पौडेलले अब यो अस्पताल प्रदेशकै नमुना र सुविधायुक्त हुने दाबी गरे । त्यसका लागि आफूहरू निरन्तर लागिरहेको उनको भनाइ छ । वीरेन्द्रनगर बाङ्गेसिमल निवासी गौरी सुनार केहीदिन अघि जब बुहारीलाई सुत्केरी गराउन अस्पतालमा पुगिन्, तब उनी दङ्ग परिन् । कारण उनले पहिलाको तुलनामा अस्पतालमा धेरै परिवर्तन र सुधार भएको देखिन् । अस्पतालको सरसफाइ र समयमा नै सेवा पाउँदा उनी खुशी पनि भइन् । उनले भनिन्, ‘अस्पतालको भौतिक संरचना पनि राम्रो भएछ, मैले पहिलाको भन्दा त धेरै सुधार भएको पाएँ ।’ गौरीले अस्पतालमा सुधार धेरै भए पनि अझैं त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूको व्यवहारमा भने सुधार नभएको उल्लेख गरिन । उनले थपिन्, ‘अरु सबै सेवा सुविधा त राम्रो छ, तर कर्मचारीहरूको व्यवहारमा भने अझै सुधार गर्नुपर्ने अवस्था छ ।’

अस्पतालमा उपचारका लागि पुग्ने बिरामी र कुरुवाहरूले स्वास्थ्यकर्मीहरूको बोली र व्यवहारमा सुधार नभएको गुनासो गरेका छन् । अछामबाट अस्पतालमा उपचारका लागि आएकी बसन्तादेवी शाही पनि अस्पतालमा भएको सुधार देखेर अचम्ममा परिन् । यसअघि अस्पतालको बेहाल देखेकी उनले यसपटक भने चयन महसुस गरिन् । अस्पतालको वातावरण र सेवा सुविधामा आएको सुधारको उनले खुलेरै प्रशंसा गरिन् ।

उनले भनिन्, ‘बिरामी भेट्न आउनेलाई केही समस्या रहेछ, कर्मचारीको रुखो बोली र वचनले केही पीडा दिएको छ । अब यसमा पनि सुधार गरियोस् ।’ स्थापनाकालदेखि निकै आलोचित बन्दै आएको अस्पतालको सुधार र सेवा विस्तारले सरकारी अस्पतालप्रति विस्तारै सर्वसाधारणको विश्वास बढाउँदै गएको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य पौडेलले विस्तारै स्वास्थ्यकर्मीको व्यवहारमा पनि सुधार आउने र त्यसका लागि आफूहरूले पहल जारी राखेको बताए । साथै उनले अब अस्पतालमा आउने बिरामीलाई लाइनमा बस्नुपर्ने समस्या पनि समाधान भएको जनाए ।

प्रकाशित मितिः   १३ माघ २०७३, बिहीबार १०:४८