मप विश्वविद्यालयमा अब एमफील र पिएचडी

आगामी शैक्षिक सत्रदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा एम फिल र पिएचडी अध्ययन सुरु हुने भएको छ । यसका लागि विश्वविदालयले तयारी सुरु गरिसकेको छ ।

बुधबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले उक्त जानकारी दिएका हुन् । कोइरालाले एम.फिल. र पी.एच.डी.का कार्यक्रमहरू सुरुवात गर्ने गरी तयारी पुरा भई प्रक्रियामा गएको जानकारी दिए ।

विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालयको वर्तमान अवस्था र भावी योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै विश्वविद्यालयको शैक्षिक प्राज्ञिक उन्नयनका लागि स्रोत साधन तथा जनशक्तिको अभाव भएको बताए । जनशक्ति पूर्ती गर्न माग गरिएका दरबन्दीको स्वीकृतिका लागि पहल गरिदिन समेत उनले आग्रह गरे ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. देबराज अधिकारीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय विश्वविद्यालय अनुदान आयोग मात्रै नभई नेपाल सरकारकै प्राथमिकतामा रहेको भन्दै विश्वविद्यालयमा अध्ययन, अध्यापन र अनुसन्धानको कार्य र भौतिक पूर्वाधारको विकासका लागि विश्वविद्यालय अनुदान आयोग सदैब सकारात्मक रुपमा सहयोगी भूमिकामा रहने बताए ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. देबराज अधिकारी तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको अनुसन्धान समितिका सदस्यहरू प्रा.डा. प्रेमराज पन्त, प्रा.डा. पुस्कर बज्राचार्य र प्रा.डा. माधव कोइरालालाई स्वागत तथा सम्मान गरिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

यसैबीच बुधबार नै व्यवस्थापन संकायको अनुसन्धान समितिको बैठक बैठक बसी कर्पोरेट म्यानेजमेन्टमा स्नातकोत्तर तहको पठनपाठनका साथै सयुक्त एमफिल पीएचडी कार्यक्रमको थालनी गर्ने निर्णय भएको डीन डा. मस्त बहादुर गरंजाले जानकारी दिए । विश्वविद्यालयको प्राज्ञिक परिषद्को स्थायी समितिको समेत बैठक बसी एमफिल र पीएचडी कार्यक्रम अबिलम्ब सुरुवात गर्ने गरी कार्यक्रम अगाडी बढाउने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए ।

प्रकाशित मितिः   १३ माघ २०७३, बिहीबार ११:१६