‘राज्यको दृष्टिकोण नै बदल्न बाँकी छ’
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको संख्या ठूलो छ । सुर्खेतमा पनि ठूलो संख्यामा अपाङ्गता भएका व्यक्तिहरू छन् । तर अहिले पनि उनीहरू सबै खुल्न सकेका छैनन् । परम्परागत सामाजिक संस्कारका कारण कयौं व्यक्तिहरू घरभित्रै बन्धकको रूपमा समेत बाँचिरहेका छन् । अपाङ्गता भएकाहरूको क्षेत्रमा काम गर्ने थुप्रै संघ–संस्थाहरू पनि स्थापना भएका छन् । राज्यले पनि यसका लागि काम गरिरहेको छ । तर अहिले भइरहेका कामहरू मात्रै पर्याप्त छन् त ? यसै सन्दर्भमा रहेर सहकर्मी गीता थापाले अपाङ्ग सशक्तीकरण केन्द्र सुर्खेतका अध्यक्ष विष्णुप्रसाद शर्मासँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, उनीसँगको कुराकानी :
सुर्खेतमा अपाङ्गता भएकाहरूको संख्या कति छ ?
-सुर्खेतमा अपाङ्गता भएकाहरूको संख्या भन्नु पर्दा नेपाल सरकारले लिएको तथ्यांक अनुसार ११ हजार रहेका छन् । तर, यो सत्य तथ्यांक भने होइन । किन भने सुर्खेतमा अपाङ्गता भएकाहरू अझै खुलेर बाहिर आउन सकेका छैनन् । अपाङ्गता भएका व्यक्तिहरू बाहिर आउन नचाहँदा पनि पूर्ण तथ्यांक आउन सकेको छैन ।
उनीहरूको अवस्था के छ ?
-अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र बाँच्ने कुरा गर्दा एकदमै गाह्रो छ । किनकी अपाङ्गता भएका व्यक्तिहरू आफै आफू स्वयः बोझको रूपमा लिने भएका कारण पनि उनीहरूको अवस्था एकदमै नाजुक रहेको छ । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू र हक अधिकार त दिएको छ तर, अपाङ्गता भएका व्यक्तिहरू स्वयम् बाहिर खुलेर आउन सक्नु भएको छैन । बाहिर खुलेर आउँदा समाजले के भन्ला भन्ने सोचका कारण पनि हो । अर्काे कुरा घरपरिवार, टोल, समाजले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई नबुझ्दा समस्या उत्पन्न भएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको भाषा अरुले नबुझ्ने र चासो नदिँदा पनि समाजमा घुलमिल हुन गाह्रो नै छ ।
परिवारले बोझको रूपमा लिने संस्कार अझै कायमै छ ?
-अपाङ्गता भएका व्यक्तिहरूलाई घरपरिवारले बोझको रूपमा लिने संस्कार भन्दा पनि पहिलो कुरो त अपाङ्गता भएका व्यक्तिहरू नै आफैलाई बोझको रूपमा लिने कारण यो संस्कार हट्न सकेको छैन । जब सम्म अपाङ्गता भएका व्यक्तिहरूमा शरीरको एउटा अङ्ग नचल्दैमा आफ्नो सम्पूर्ण जीवन नै समाप्त हुन्छ भन्ने सोचबाट बाहिर आउनसक्नु हुन्न तबसम्म परिवारदेखि समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोण बदलिन सक्दैन । अपाङ्गता भएका व्यक्तिहरूले पनि समाजमा केही राम्रा काम गरेर देखाएका छन् अगाडि बढेका छन् यस्ता कुरालाई आत्मसाथ गर्दै अगाडि बढ्न नसकेसम्म परिवार र समुदायले उनीहरूलाई बोझको रूपमा लिने संस्कार परिर्वतन हुन सक्दैन ।
समग्रमा हेर्दा अपाङ्गता भएकाहरूको समस्या के–के हुन् ?
-समग्रमा भन्नुपर्दा अपाङ्गता भएका व्यक्तिहरू पछिल्लो समयमा घरदेखि बाहिर आएर समाजमा खुल्न त थालेका छन् तर, जति हुनुपर्ने हो त्यति भने बाहिर आएका छैनन् । राज्यले अपाङ्गता भएकाहरूलाई रोजगारीको व्यवस्था दिएको पनि छ तर, अपाङ्गताहरू स्वयम् त्यसको उपयोग गर्नसक्नु भएको छैन । एउटा मुख्य समस्या भनेको अपाङ्गताहरू बाहिर आउन नसक्नु हो । अर्काे कुरा समाजले अपाङ्गताहरू माथि हेर्ने दृष्टिकोणको कारण पनि हो । अपाङ्गता भएका व्यक्तिहरू त मागेर खाने हुन् भन्ने मानसिकता अन्य सपाङ्ग व्यक्तिहरूमा हुनु पनि प्रमुख समस्या हो ।
अपाङ्गता भएको व्यक्तिप्रति परिवार र समाजको दायित्व के हुन्छ ?
-यसमा सबैभन्दा पहिलो कुरा त परिवार र समाजले अपाङ्गता भएकाहरूप्रति हेर्ने दृष्टिकोण बदल्न जरुरी छ । सुरुवात यहाँबाट गर्नुपर्छ । अर्काे कुरा सपाङ्ग व्यक्ति भन्दा अपाङ्गता भएका व्यक्तिबीचको विभेद छ त्यसलाई हटाउन जरुरी छ । अपाङ्गता हुनु भनेको पूर्वजन्मको पाप हो भन्ने जुन सोचाइ हाम्रो समाजमा गडेर बसेको छ त्यसलाई उखेलेर फाल्नुपर्छ । परिवार र समाजले यसलाई परिवर्तन गर्न सक्नुपर्छ र यो उनीहरूको दायित्व पनि हो । अपाङ्गता भएको व्यक्ति पनि आफ्नै परिवारको र समाजको सदस्य हो भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन ।
अपाङ्गता भएकाहरूका लागि अहिलेसम्म राज्यले गरेका कामहरूबाट सन्तुष्ट हुनु हुन्छ ?
-राज्यले अपाङ्गता भएका व्यक्तिहरूको लागि प्रयाप्र्त मात्रामा कानुन र निति नियमहरू ल्याएको छ, सन्तुष्ट नै छौं । अन्य कर्मचारीहरूको तुलनामा कमै भए पनि पछिल्लो समय राज्यले पनि अपाङ्गताको क्षेत्रमा राम्रो काम नै गरेको छ भन्नुपर्छ । राज्यले दिएको अधिकारको सदुपयोग भने अपाङ्गता भएका स्वयम् व्यक्तिले लिन सक्नु भएको छैन । दुःखको कुरा अपाङ्गताहरूको अवसर सपाङ्गहरूले लिनुभएको छ यसमा भने सम्पूर्ण सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।
राज्यले अपाङ्गता भएकाहरूका लागि के गरिदिनु पर्छ ?
-राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रशस्त अधिकार त दिएको छ तर, कार्यान्वयनको पाटो फितलो भएका कारण त्यो कार्यान्वयन हुन सकेको छैन । राज्यले अधिकार मात्र दिएर हुँदैन कि कर्तव्य पनि बोध गर्न जरुरी छ । अधिकार दिएका छौं भन्ने अनि त्यो अधिकार सही ठाउँमा सदुपयोग भएको छ कि छैन भन्ने कुराको खोजी भने हुन सकेको छैन । यो कुरा चाहिँ राज्यले खोज्न जरुरी छ ।
संविधानले तपाईंहरूका कुरा कतिको समेटेको पाउनुभयो ?
-संविधानमा अपाङ्गताहरूका लागि अधिकारका कुरा धेरै नै समावेश गरिएको छ । तर, कार्यान्वयन हुन सकेको छैन । संविधानमा अपाङ्गता भन्ने शब्द मात्रै ४३ ठाउँमा लेखिएको छ तर, ती कागजमा मात्र सीमित भएका छन् कार्यान्यवन भने हुन सकेका छैनन् । कानुनमा अधिकारका कुरा समावेश गर्दैमा सबैले अधिकार पाउँछन् भन्ने पनि हुँदैन । त्यसलाई कार्यान्वयन गर्न पनि जरुरी छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउन कसले के गरिदिनुपर्ला ?
-पहिलो कुरा त अपाङ्गता भएका व्यक्ति नै सक्रिय भएर लाग्नुपर्छ । म अपाङ्गता भए अब केही गर्न सक्दिन भन्ने र आफूलाई आफैले बोझको रूपमा लिने हो भने अगाडि बढ्न सकिदैंन । राज्यले अपाङ्गता भएकाहरूलाई प्रशस्त अधिकार दिएको छ त्यसलाई कसरी कुन ठाउँमा प्रयोग गर्ने भन्ने कुरा स्वयम् व्यक्तिले सोच्ने र अगाडि बढ्नुपर्ने कुरा हो । अन्य अपाङ्गता भएका व्यक्तिहरूले परिवार, समाज र देशको लागि थुप्रै कामहरू गरिरहेका छन् त्यो कुरालाई आत्मसाथ गर्दै अगाडि बढ्न जरुरी छ र अपाङ्गताहरूको क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाहरूले अपाङ्गता भएकाहरूलाई अन्य व्यक्ति सरह समान अधिकार र पहुँचमा पु¥याउनका लागि तालिम दिने र सत्तो ब्याजदरमा ऋण उपलब्ध गराउन जरुरी छ ।
सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई के भन्न चाहनु हुन्छ ?
-म के भन्न चाहन्छु भने हाम्रो शरीरको एउटा अङ्ग गुम्दैमा हाम्रो जीवन नै समाप्त भयो भन्ने सोचाइलाई मनैदेखि फाल्नुस् । किनकी आफूभित्रको कमजोरी पक्षलाई फाल्नसकेमा मात्र हामी अगाडि बढ्नसक्छौं । हामी आफैमा बलियो भएर बाहिर समाजमा प्रस्तुत हुनसक्यौं भने कसैले हामीलाई त अपाङ्ग होस् भन्ने आँट पनि गर्दैन । त्यसैले अन्य व्यक्ति सरह मैले पनि परिवार, समाज र देशको लागि केही गर्न सक्छु भन्ने आत्मबलका साथ अगाडि बढ्न आग्रह गर्छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
-अन्त्यमा म सञ्चार माध्यमहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको समस्या मात्र बाहिर ल्याउनु भन्दा पनि सकारात्मक कुराहरूलाई अलि बढी प्राथमिकता गरेर बाहिर ल्याइदिनु हुन अनुरोध गर्छ । त्यसले गर्दा एउटा अपाङ्गता भएको व्यक्तिले पाएको सफलताले अर्काे अपाङ्गता भएको व्यक्तिलाई जीवनमा अगाडि बढ्ने प्रेरणा मिल्नसक्छ । त्यसैले सञ्चार माध्यमहरूले अपाङ्गता भएका व्यक्तिहरूको सकारात्मक कुरालाई समाजमा ल्याइदिनु हुन अनुरोध गर्छु ।
साझा बिसौनी ।