सुरुङ मार्ग अध्ययनमा अवरोध

निर्धारित म्यादभित्र काम सक्न समस्या

सुर्खेत: सुरुङ मार्ग निर्माणको अध्ययनमा अवरोध सिर्जना भएको छ । लगातारको वर्षात्सँगै सडक अवरुद्ध हुँदा जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्ग अध्ययनमा समस्या निम्तिएको हो ।

सडक विभागले गत जेठमा इटीको–टि.एम.एस–रेज जेभीसँग सुरुङ मार्ग अध्ययन सम्झौता गरेको थियो । सोहीअनुसार अध्ययन सुरु भइसकेको छ ।

प्रस्तावित सुरुङ मार्गले जाजरकोटको कुसे गाउँपालिका वडा नं. ८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ इमिल्चाघारी जोड्ने छ । पहिलो चरणको अध्ययन भइरहँदा पहिरोले सडक अवरुद्ध पारेपछि समस्या भएको हो । बाटोको अवरोधका कारण स्थलगत काम गर्न नसकिएको टिएमएस रेज जेभीका प्रमुख राजीव झाले बताए । उनका अनुसार अहिले कागजी काम कार्यालयबाटै भइरहेका छन् । ‘आधा काम प्राविधिकको टोलिले फिल्डमा र आधा काम कार्यालयमै गर्नुपर्ने हुन्छ’ झाले भने, ‘अहिले कार्यालयमा बसेर कार्ययोजना लगायतका काम भइरहेका छन् ।’

सडकको अवरोधका कारण आवश्यक उपकरणसहित सम्बन्धित ठाउँमा अध्ययनका लागि जान नसकिएको हो । बाटोको अवरोध खुल्ने बित्तिकै फिल्डैमा पुगेर अध्ययनको काम अघि बढाउने तयारीमा टोली छ । एक चरण फिल्डमा पुगेर रिपोर्ट तयार गरिएको र उपकरणसहित पुनः जानुपर्ने भएकाले बाटोका कारण काम रोकिएको हो ।

हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट–जुम्ला जोड्ने सडक निर्माण जारी छ । ठाउँ–ठाउँमा झरेको पहिरोका कारण पनि अध्ययनका बाँकी काम अघि बढेका छैनन् । ‘एक चरणमा स्थलगत अध्ययन भएको छ’ झाले भने, ‘प्राविधिकको टोलि बाटो खुल्ने बित्तिकै काममा जानेछ ।’ सुरुङ मार्गका लागि टनेल निर्माण, माटोको परीक्षण, लागत अनुमान समेत अध्ययन हुँदैछ । पाँच महिनामा गर्नुपर्ने अध्ययनको काम भने वर्षात्का कारण केही समय लम्बिने भएको छ । सम्झौता अनुसार आउँदो असोजसम्ममा अध्ययनको काम सक्नुपर्ने हुन्छ ।

अध्ययनको काम सुरु गरेको दुई महिना बितिसकेको छ  । अहिलेसम्म फिल्डमा पुगेर काम भएको छैन । बर्खायाम भएकाले कागजी काम मात्रै भइरहेको र बर्खा सकिने बित्तिकै फिल्डैमा गएर काम सुरु हुने जेभीका प्रमुख झाले बताए । यो सुरुङ मार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ । विगतदेखि माग गर्दै आएको आफूहरूको माग पूरा हुने आशा पलाएको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनले भने, ‘सुरुङ मार्ग निर्माणले आवातजावतमा निकै सहज हुनेछ ।’

गौरवको आयोजनाका रूपमा सुरुङ मार्ग निर्माण योजना अघि सारिएको छ । दुरी र व्यापारका हिसाबले सुरुङ मार्ग नै उपयुक्त विकल्प हुने पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारी बताउँछन् । जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो बाटो सुरुङ मार्ग नै हुने भएकोले यसलाई अगाडी बढाउन आवश्यक रहेको उनको भनाइ छ । जाजरकोटको साङटाबाट जुम्लाको इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै दश किलोमिटर रहेको र सुरुङ मार्ग पाँच किलोमिटरभन्दा कमको हुनेछ ।

सुरुङ मार्ग निर्माणपछि कर्णालीका माथिल्लो भेगमा उत्पादन हुने अर्गानिक वस्तुले राम्रो बजार पाउने र किसानले प्रत्यक्ष लाभ लिन पाउने उनले भण्डारीले बताए । कालीकोट हुँदै नेपालगञ्ज तथा सुर्खेत जाने सडकभन्दा सुरुङ मार्ग हुँदै नेपालगञ्ज, सुर्खेत जाँदा र आउँदा पाँच घण्टा छिटो हुने उनले बताए । सुरुङ मार्ग सञ्चालनमा आउने चर्चा गर्दै भण्डारीले भने, ‘सुरुङ मार्गले आवतजावतका निम्ति सहज त हुन्छ नै यो आयोजनाले कर्णालीको आर्थिक उन्नति, समृद्धि र विकासमा ठुलो मद्दत पुग्ने छ ।’

प्रकाशित मितिः   ९ श्रावण २०८०, मंगलवार ०९:२७