शिक्षण अस्पतालको योजना
दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बनाउने योजना अन्योलमा परेको छ । संघीय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको योजना कार्यान्वयनका लागि बजेट अपुग भएको हो । चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेटेको संघीय सरकारले बजेटमा भने छुटाउँदा कार्यान्वयनमा अलमल देखिएको हो । सरकारले स्पष्ट बजेट नतोकीदिँदा अहिले अस्पताल निर्माणको काम अघि बढेको छैन । चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शै®याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । तर बजेट व्यवस्थापनमा चुनौती भएको हो ।
एक सय शै®याको अस्पताल निर्माणका लागि डिपीआर भने तयार भइसकेको छ । आगामी दुई वर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने योजनासहित काम सुरु गरिएको थियो । आठबिस नगरपालिका वडा नं. ३ जाक्सिमा ४० रोपनी जग्गा प्रतिष्ठानको नाममा पाससमेत गरिसकिएको छ । अझै दश रोपनी जग्गा प्राप्तिको प्रक्रियामा छ । बजेटको सुनिश्चितता नहुँदा बाँकी काम अघि बढ्न नसकेको हो । अस्पतालको भवन निर्माणका लागि मात्रै ७० करोड लाग्ने अनुमान गरिएको छ । बजेटको व्यवस्थापन कसले गर्ने भन्ने विषयमै अन्योल छ । संघीय सरकारबाटै बजेट सुनिश्चित नहुँदा प्रदेश र स्थानीय सरकारले पनि उक्त योजना कार्यान्वयनका लागि थप बजेट व्यवस्थापन गरेका छैनन् । कति, कसले, कसरी व्यवस्थापन गर्ने भन्ने विषय टुँगो नलागेको हो । यद्यपि, अस्पताल निर्माणको विषयमा प्रदेश सरकारले समेत छलफल अगाडि बढाउने तयारी भने गरेको छ । तीन तहका सरकारबीच समन्वय गरेर योजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
स्वास्थ्य सेवाका लागि सहज पहुँच नभइसकेको कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणको योजना आफैमा उल्लेखनीय छ । तर यसको कार्यान्वयन अपरिहार्य छ । दैलेखको राकम कर्णालीमा एक सय शै®याको अस्पताल निर्माण भए कर्णालसहित सुदूरपश्चिमका नागरिकले समेत सेवा पाउने छन् । दैलेख, हुम्लासहित सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जिल्लावासीले प्रत्यक्ष लाभ लिनेछन् । तर संघीय सरकारले नै बेवास्ता गर्दा प्रतिष्ठान निर्माणको योजना अलपत्र परेको छ । एकातर्फ स्वास्थ्य क्षेत्रमा लगानी नै न्युन छ, त्यसमाथि अघि सारिएका योजना पनि कार्यान्वयन हुन नसक्ने विडम्बना छ । राकम कर्णालीमा प्रस्तावित शिक्षण अस्पताल पनि यही विडम्बनाको सिकार बन्ने जोखिम छ । त्यसैले स्थानीय र प्रदेश सरकारले समेत अस्पताल निर्माणको योजनालाई प्राथमिकतामा राखेर संघीय सरकारसँग समन्वय गर्न जरुरी देखिन्छ ।
प्रकाशित मितिः ८ श्रावण २०८०, सोमबार ०९:११
सम्पादकीय ।