दुई अर्ब खर्चेर मानव निर्मित ताल
सुर्खेत: दैलेखको कोटिलामा मानव निर्मित ताल निर्माणका लागि लगानी जुटाउन पहल थालिएको छ । नारायण नगरपालिका वडा नं. १, ९ र दुल्लू नगरपालिकाको वडा नं. ११ को सिमानामा बन्न लागेको ताल निर्माणका लागि लगानी जुटाउन पहल थालिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ताल निर्माणका लागि आवश्यक सहयोग माग गरिएको दैलेख निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरबहादुर थापाले बताए । पुनः डिपीआर गरेर ताल निर्माणको काम अघि बढाउनुपर्ने भएकाले सोहीअनुसार लगानी जुटाउँन पहल भइरहेको उनको भनाइ छ । गौरवको आयोजनाको रूपमा हेरिएको पञ्चकोशी मानव निर्मित ताल निर्माणका लागि विभिन्न क्षेत्रका दातृनिकायसँग समेत छलफल भइरहेको उनले जानकारी दिए । थापाले भने, ‘नारायण नगरपालिकाले गरेको डिपीआरको काम पूर्ण छैन । पुनः डिपीआर गरेर काम अघि बढाउनुपर्नेछ ।’
ताल निर्माणका लागि ठूलो लगानी लाग्ने भएकाले बाह्य लगानीका विषयमा समेत छलफल भइरहेको उनको भनाइ छ । पर्यटन प्रवद्धनका लागि सम्भावनाको रूपमा हेरिएको आयोजना अघि बढाउन आवश्यक रहेको भन्दै थापाले सबै क्षेत्रको सहयोग आवश्यक हुने बताए ।
नारायण नगरपालिका दैलेखले मानव निर्मित ताल निर्माणका लागि २०७५ मा डिपीआर तयार गरिसकेको छ । ३३ लाख खर्चेर डिपीआर निर्माण गरिएको नगरपालिकाका इन्जिनियर पूर्णप्रसाद कोइरालाले बताए । ताल निर्माणलाई लक्षित गरी गतवर्ष प्रदेश सरकारको दुई करोड लगानीमा बाटोको स्तरोन्नति गरिएको छ । नगरपालिकाले बनाएको डिपीआरमा ताल निर्माणका लागि दुई अर्ब ६ करोडको लागत अनुमान छ । स–साना खोल्साहरूमा तटबन्ध निर्माणको काम भने भइरहेको छ । ड्याम निर्माण, जग्गा अधिग्रहण, पुल निर्माण गर्नुपर्नेछ । ताल वरिपरी चार किलोमिटर रिङरोडको अवधारणा समेत छ । डिपीआरअनुसार एक सय २७ मिटर लम्बाइ र १५ मिटर उचाइमा बाँध बाँधेर ५४ हेक्टर क्षेत्रफलमा करिब चार सय करोड लिटर पानी जम्मा गर्ने गरी ताल बनाउन लागिएको हो ।
नारायण नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत पञ्चकोशी मानव निर्मित ताल निर्माणको योजना समावेश गरेको छ । धेरै लगानी लाग्ने भएपछि लगानी जुटाउन छलफललाई तीव्रता दिएको नगरप्रमुख लोमन शर्माले बताए । उनले भने, ‘नगरपालिका आफैले यो काम सम्भव नहुने भएपछि लगानी जुटाउन पहल थालेका हौँ । ताल निर्माणको योजना अघि बढाउन विभिन्न क्षेत्रसँग छलफल गरिरहेका छौँ ।’
प्रदेश र संघीय सरकारसँग समेत आयोजनालाई अघि बढाउन मागपत्र पेस गरिएको उनको भनाइ छ । प्रदेशमा मुख्यमन्त्री र संघीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मागपत्र पेस गरिएको शर्माले बताए । नगरपालिकाले पहिलो गौरवको आयोजनाका रूपमा पञ्चकोशी मानव निर्मित ताल निर्माणलाई राखेको छ । ताल निर्माणका लागि डिपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सकिएको छ ।
पर्यटन प्रवद्र्धन गर्नका लागि कोटिलामा पञ्चकोशी मानव निर्मिता ताल निर्माण गर्न लागिएको हो । पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भिœयाउने र स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य छ । नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्र खड्काले पर्यटन प्रवद्र्धनका लागि ताल निर्माण आवश्यक हुने बताए । पञ्चकोशी तिर्थस्थललाई प्रचार–प्रसार गर्नेगरी नारायण नगरपालिकाले उक्त अवधारणा अघि सारेको हो । उनका अनुसार श्रीस्थान, नाभिस्थान, कोटिला, पाधुका, धुलेश्वरलगायत गन्तव्यमा आउने पर्यटकलाई लक्षित गरी ताल निर्माण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
तीन तहकै सरकारले प्राथमिकता दिए ताल निर्माण गर्न सकिने दुल्लू नगरपालिका वडा नं. ११ स्थानीय दलबहादुर थापा बताउँछन् । पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको उक्त स्थानमा सरकारले काम अघि बढाउनुपर्ने स्थानीयको माग छ । पर्यटकीय गन्तव्यको रूपमा श्रीस्थान, नाभिस्थान, कोटिला, पाधुका, धुलेश्वर र तल्लो डुङ्गेश्वरलाई लिने गरिन्छ । सबै स्थानमा कच्ची सडक पुगेको छ । पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न मानव निर्मित तालको अवधारणा अघि सारिएको दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य घनश्याम भण्डारीले बताए । बहूआयामिक रूपमा महŒव बोकेको आयोजनाको रूपमा उक्त आयोजनालाई लिइएको उनको भनाइ छ । उनले भने, ‘यो जिल्लाकै गौरवको आयोजना हो । यसबाट चौतर्फी लाभ लिन सकिने छ ।’
प्रकाशित मितिः ८ श्रावण २०८०, सोमबार ०९:१०
साझा बिसौनी ।