ऐतिहासिक सुन काण्ड

आजसम्मको इतिहासमा एकै पटक एक क्विन्टलको सुन तस्करी सायद भएको थिएन, त्यसकारण यो ऐतिहासिक सुन काण्ड हो । विमानस्थलबाट जाँच पास भएर टेक्सिमा बाहिरिँदै गरेको एक सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले एकाएक क¥यापझ्याप पारेपछि यो काण्डले सडकदेखि सदनसम्मको ध्यान तानेको छ ।

सुन काण्डमा दीपक मलहोत्रा संलग्न रहेकोे भन्ने ढंगका समाचारहरू पनि आए । मलहोत्राले हतारमा पत्रकार सम्मेलन गरि आफू र आफ्ना परिवार निर्दोष रहेकोे र दोषी ठहरे कानुनी सजाय भोग्न तयार भनी जानकारी दिए । लहरो तान्दा पहरो खसेर आफूलाई समेत पुर्ने डरले यसलाई थाँती राख्न खोजिएको त होइन ? शंका गर्ने ठाउँ देखिन्छ, किन त भने २०७५ सालमा ३३ किलो सुनका तस्कर चुडामणि उप्रेती गोरे जेलमा गए अरु सबै उम्किए । उक्त सुन राजनीतिक पार्टीले बाँडी खाए भन्ने आरोप पनि छ किनभने सुन कतै फेला परेन । ३३ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक नहुनुले पनि शंकामाथि थप मलजल गरिरहन्छ । यो एक सय किलो सुन काण्डमा पनि राजनीतिक संरक्षण र सेटिङविना कसैले दुस्साहस गरेहोला भनी मान्न जनसाधारण कोही तयार छैन ।

आखिर सुनमा किन यति लिप्त हुन्छ राजनीति यसैमा चर्चा गरौँ । तोकिएको निश्चित परिमाणबाट तयार गरि पशुपतिमा सुनको जलहरी चढाउनु पर्ने भयो । आवश्यकता थियो या थिएन त्यता नजाउँ विषय प्रसंग अनावश्यक तन्कन्छ । सुनको जलहरीलाई एकजना सांसदले पित्तल मिसाएको छ भन्ने सुनिन्छ भनी संसद्मा अभिव्यक्ति दिएपछि प्रतिपक्षले आपत्ति जनाउँदै पित्तल भनिएको शब्द रेकर्डबाट हटाउन माग गर्छ । माग बमोजिम शब्द रेकर्डबाट हटाइन्छ र तुरुन्तै ठूला तीन दलका शीर्ष नेताहरूको गोप्य भेटघाट हुन्छ । जलहरीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्छ, अर्का कोही सांसद बोलेपछि मुद्दा परेको दुई वर्षसम्म सुस्ताएको अख्तियार एकाएक जाग्छ । सुरक्षाको घेराभित्र जलहरी झिकि ओजन जोख्न तम्सन्छ र १०८ किलोमा आधा किलो जति तौल कम भएको निष्कर्ष निकाल्छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार करिब ११ किलो सुन नपुगेको भनी पहिल्यै आमसंचार माध्यमबाट खबर सार्वजनिक भइसकेको थियो । जलहरीको विषय उठाएर अदालतमा मुद्दा समेत परेको थियो । अदालतबाट अन्तरिम आदेश आउन सक्ने सुइँको पाएपछि राष्ट्रपति मार्फत क्षमापूजा गराई हतार हतारमा जलहरी राखिएको हो भन्ने किसिमको समाचार पनि सञ्चार माध्यमबाट बराबर सार्वजनिक भैसकेका थिए ।

जलहरी सुन र पित्तलबारे संसद्मा हंगामा भइरहँदा पशुपति विकास कोषको डाडु–पन्यू समाएका कोही भान्से, पत्रकार सम्मेलन गरि ममाथिको आरोप मिथ्या हो सुन खाए मासेको छैन भनी धरधरी रोएका थिए । मनमा चोट लागेर रोएका हुन् या अपगालबाट जोगिन रोएका हुन् उनै जानून् । उनले रुँदै सुन जोखेर एकिन गर्न पनि चुनौती दिएका थिए । जोखी जाँची हेर्दा आधा किलो कम भएको पाइयो । १०८ किलोमा आधा किलो यताउता हुने भनेको सामान्य कुरा हो सबैले यसलाई सामान्य रूपमा लिन्छन् भन्ने पो ठानिएको थियोे कि ! त्यो आधा किलो ढुङ्गा थिएन, माटो थिएन र थिएन कुनै काठको टुक्रा । आधा लाल सुनको पनि ठूलो महत्त्व छ जनजीवनमा । मान्छेले मात्रा जोडे गुणान गरे भाग निकाल्दै आधा किलो सुनको हिसाब खोजे । मिडिया पनि बारम्बार कराउन थालेपछि फेरि खबर आयो ल ल आधा किलो सुन भेटियो । कसले लुकाएको थियोे कसले कहाँ भेटायो त्यो कुरा प्रकाशमा आएन । केको आधारमा महालेखा परिक्षकले ११ किलो सुन कम देखिने प्रतिवेदन तयार पारेको थियोे, र जोख्दा आधा किलो बाहेकको सबै सुन कसरी दुरुस्त पुग्न गयो ? यी तमाम प्रश्नको जवाफ राजनीतिक स्वार्थले च्यापेको छ ।

यो एक सय किलो ठूलो झट्का भन्दा भर्खर अगाडि नौ किलो सुन काण्डमा तरंगित थियोे देश । दुबईबाट दुईवटा सुट्केशमा ल्याइएको विद्युतीय चुरोट भेपलाई सुर्तीजन्य भनी जफत गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गोदाममान थन्क्याएको थियो । जफत भएको उक्त सामान प्रक्रिया पु¥याइ लिलाम गरिदिन केही मानिसहरूले कार्यालय प्रमुखलाई पटकपटक अनुरोध गरे पनि सुर्तीजन्य माल वस्तु भएको हुनाले लिलाम नहुने सडाउनु पर्ने भनी प्रमुखले जवाफ दिन्छन् । यति थोरै सामानका लागि किन माथिल्लो स्तर समेतबाट दबाब आइ रहेकोे छ भनी जिज्ञासा लागेर कर्मचारीले भेप खोली हेर्दा सुन भेटाउँछन् । लोभी पापीहरूले घुइयाकै भाउमा सुन बेच्छन भाग बांंडेर लिन्छन् र बजारबाट अर्कै कम्पनीको भेप किनेर त्यहाँ दुरुस्त पारिदिन्छन् । केन्द्रीय अनुसन्धान शाखा सिआइबीले बदमासीको सूचना पाउँछ र संलग्न कर्मचारी लाई समाउँछ ।

सिआइबीको अनुसन्धानमा सुन तस्कर चिनिया नागरिकसँग पूर्वसभामुख कृष्णवहादुर महरा र उनका छोरा राहुल महरा को निरन्तर सम्पर्क रहेको भनी मुलधारका अनलाइन खबरहरूले प्राथमिकताका साथ समाचार प्रशारण गरे । कृष्ण महराले समाचारको खण्डन गर्दै समाचार तथ्यहीन र दुराशयपूर्ण रहेको भनी विज्ञप्ति निकालेका छन् । सिआइबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा कृष्ण महराले चीनियाँ नागरिकसँग २२ पटक र छोरा राहुलले एक सय ९५ पटक फोन संवाद गरेको कल डिटेल समेत उल्लेख गरिएको छ । हाइड्रोपावरमा काम गर्ने चिनियाँ नागरिकको लागि ल्याइएको भेप लिलाम प्रक्रियाबाट छुटाइदिन भनी महरा बाबु–छोराले पटकपटक दबाब दिएका भनी भन्सारका कर्मचारीले बताएका कुरा पनि समाचारमा उल्लेख छ । तस्करहरूसँग केका लागि त्यति धेरै फोन सम्पर्क भएको हो, महराहरूलाई छानबिनमा ल्याउनु पर्छ पर्दैन सरकारले जानोस बुझोस् । यो मामिलामा आफ्नालाई जोगाउने र अर्काकोलाई फसाउने नगरियोस् ।

अहिलेको एक सय किलो सुन दुईपाङ्ग्रे साधनको ब्रेक शुमा लुकाइ छिपाइ ल्याएको पाइयो । मोटरसाइकल र स्कुटरको ब्रेक शु भनी यस अघि पनि हङकङबाट ल्याइएको रेडि ट्रेड कम्पनीको सामान कहाँ कहाँ खपत भयो ? २१ वर्षको कलिलो भुजेल केटालाई कम्पनीको मालिक बनाउने व्यक्ति को हो ? खास मालिक कहाँ छ ? कर्मचारीले कसको आदेश र निर्देश बमोजिम जाँचबुझको नाटक गरि भन्सार पास गरे ? सरकारको इच्छाशक्ति हुने हो र तदारुकताका साथ लागिपर्ने हो भने तस्करको नाइके पानीमुनि गए पनि लुक्न सक्दैन भन्ने लाग्छ । किनकि आधार भनेको सिँगै रेडि ट्रेड कम्पनी छ, भन्सार छुटाइदिने कर्मचारीहरू छन, सूचना भेटेर खबर प्रशारण गर्ने मिडिया छन् । तिनैबाट जरो बेलो समाउदै टुप्पामा नपुगिने होइन । देखलका लागि कर्मचारीलाई निलम्बन गर्न, ड्राइभर र भरियालाई पक्राउ गर्नमै दिन फाल्ने हो भने खास उपलब्धि हुदै हुन्न । जनाक्रोश मत्थर पार्न छानबिन समिति गठन गर्ने र विगतमा जस्तै प्रतिवेदन सार्वजनिक नगर्ने परिपाटीले छानबिन समितिमा पनि जनसाधारणको त्यति बलियो विश्वास छैन । आँखामा छारो हाल्ने काम हो भनी बुझ्न सजिलो हुन्छ ।

यस्तो दुश्कर्मसँग सांसदहरू पनि उम्लन थालेका छन् । कुनै सांसदहरूले सडक र सदनमा यस बिषयलाई लिएर अनेक टिप्पणी मात्र गरेका गरेका छैनन्, सम्बन्धित मन्त्रीहरूको राजीनामा पनि मागेका छन् । तस्करलाई भित्री सारमा राजनीतिको आड भरोसा छ भनी जनताले पनि शंका गरिरहेका छन् । यदि छैनभने यसलाई चिर्नका लागि सत्यतथ्य बाहिर आउन जरुरी छ । देशको बेइज्जत गर्ने गिरोहका एक एक नाइकेलाई नाङ्गेझार पार्न अनिवार्य छ ।

प्रकाशित मितिः   ७ श्रावण २०८०, आईतवार ०५:०४