बजेट कार्यान्वयनमा तदारुकता

नयाँ आर्थिक वर्ष २०८०/०८१ सुरु भइसकेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै कर्णाली प्रदेश सरकार चालु बजेट कार्यान्वयनमा जुटेको छ । गत असार २६ गते प्रदेशसभाबाट पारित भएको बजेट कार्यान्वयनका लागि मन्त्रालयहरूले तदारुकता देखाएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै मन्त्रालयलाई बजेट कार्यान्वयन सम्बन्धी ६० बुँदे मार्गनिर्देशिका पठाइसकेको छ । प्रदेश सरकारले विकास खर्च बढाउने गरी बजेट कार्यान्वयन कार्यतालिका निर्माण गरेको छ । सोहीबमोजिम मन्त्रालयहरूले पनि आ–आफ्नो बजेट कार्यान्वयन कार्यतालिका बनाउने भएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले योजना कार्यान्वयन गर्ने मातहतका निकायहरूमा बजेट पठाइसकेको छ । प्रदेशगत बजेट सूचना प्रणालीमार्फत सबै निकायमा बजेट पुगिसकेको छ ।

बजेट कार्यान्वयन कार्यतालिकाअनुसार साउन ३० गतेभित्र स्थानीय तहमा बजेट हस्तान्तरण गरिसक्ने व्यवस्था गरिएको छ । त्यसैगरी एकमुष्ट विनियोजित रकम निकायगत बाँडफाँडको काम साउन १५ गतेभित्र गरिसक्नु पर्ने पनि तय गरिएको छ । पहिलो चौमासिकमा कार्यविधि, नियमावली निर्माण, संशोधन गर्ने, सूचना निकाल्ने, ठेक्का आह्वान गर्ने, सम्झौतालगायतका काम गरिसक्नेगरी योजना निर्माण भएको छ । दोस्रो चौमासिकमा भने सम्झौता भएका योजनाको दोस्रो चरणमा काम सम्पन्न गरिसक्नुपर्नेछ । निर्माणका काम जेठ महिनामा नै सम्पन्न गर्नेगरी तेस्रो कार्ययोजना निर्माण गरिएको हो । बजेट कार्यान्वयन कार्यतालिकामा फागुन मसान्तसम्म रकमान्तर वा थप बजेट माग गर्न नपाउने व्यवस्था पनि गरिएको छ । पुँजीगत खर्च नगर्ने तर थप बजेट माग्ने प्रवृत्तिलाई निरुसाहित गर्दै लैजाने गरी विभिन्न नीतिगत व्यवस्था गरिएको हो । मन्त्रालयहरूले पनि आ–आफ्ना कार्यतालिका र योजना बनाउँदै छन् ।

केही मन्त्रालय बजेट कार्यान्वयन कार्यतालिका बनाउँदैछन् भने केहीले गत वर्षको खर्चको अवस्था समीक्षा गर्दैछन् । समीक्षापछि योजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छन् । बजेट कार्यान्वयनमा प्रदेश सरकार सुरुवातदेखि नै सफल हुन सकेको छैन । गत आर्थिक वर्ष २०७९/०८० मा पनि ६७ दशमलव ५६ प्रतिशत मात्रै खर्च भएको छ । हरेक वर्ष बजेट खर्चनमा सधैँ असफल हुँदै आएको सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि बजेटको आकार बढाएर ल्याएको छ । यसरी आकार मात्रै बढाउने तर खर्च प्रर्णालीमा सुधार गर्न नसक्ने अवस्थाको अन्त्य गर्नतर्फ ध्यान दिन जरुरी देखिन्छ । बजेट कार्यान्वयन नभइ योजनाहरू सम्पन्न हुँदैनन् । उपलब्धि हासिल हुन सक्दैन । त्यसैले बजेट कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्दै खर्च बढाउने संरचना विकास गर्न आवश्यक देखिएको छ ।

प्रकाशित मितिः   ७ श्रावण २०८०, आईतवार ०५:०३