कार्यसम्पादनमा ढिलासुस्ती

जिल्ला अदालतबाट हुने मुद्दाको फैसलामा ढिलाइ हुने गरेको छ । कर्णाली प्रदेशमा रहेका पाँच वटा जिल्ला अदालतको मुद्दा फैसलाको तथ्यांक हेर्दा यस्तो देखिन्छ । आर्थिक वर्ष २०७९÷०८० मा कर्णाली प्रदेशमा रहेका पाँच वटा जिल्ला अदालतका गरी जम्मा नौ सय ४१ मुद्दामध्ये पाँच सय २२ वटा फच्छ्र्यौट भइसकेका छन् भने चार सय १९ वटा फच्छ्र्यौट बाँकी देखिन्छ । यो तथ्यांकले अदालतबाट हुने मुद्दाको फैसलामा ढिलाइ भएको देखाउँछ । अदालतमा भएकामध्ये आधाभन्दा कम मात्र मुद्दा फच्छ्र्यौट हुने गरेका छन् ।

अघिल्ला वर्षहरूबाट जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष २०७९÷०८० मा दैलेख जिल्ला अदालतमा परेका ८२ मुद्दामध्ये ४१ वटाको फैसला भएको छ । ४१ मुद्दा फैसला हुन बाँकी छन् । जाजरकोट जिल्ला अदालतमा ५१ मध्ये ३४ मुद्दा फैसला भए भने १७ बाँकी छन् । सल्यान जिल्ला अदालतमा ४६ मध्ये २७ मुद्दा फैसला भएका छन् । १९ फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । रुकुमपश्चिममा दर्ता भएका एक सय ११ मध्ये ८७ मुद्दा मात्रै फैसला भइसकेका छन् । २४ मुद्दा बाँकी रहेका छन् । यस्तै सुर्खेत जिल्ला अदालतमा अघिल्ला वर्षहरूबाट जिम्मेवारी सरी आएका र गत आर्थिक वर्षमा लगत भएका गरी जम्मा ६ सय ५० मुद्दामध्ये तीन सय ३३ फैसला हुँदा तीन सय १८ मुद्दा बाँकी छन् । यसले अदालतबाट हुने फैसला र कार्यान्वयनको अवस्था नाजुक रहेको देखिन्छ । फैसलामा ढिलासुस्ती हुने मात्रै होइन फैसला भएका मुद्दाको जरिवाना असुलीमा पनि कमजोर देखिन्छ । उदाहरणका लागि सुर्खेत जिल्ला अदालतलाई लिन सकिन्छ । सुर्खेत जिल्ला अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका र आर्थिक वर्ष २०७९÷०८० मा लगत भएका गरी ६ करोड ६५ लाख २९ हजार तीन सय ८८ जरिवाना असुल गर्नुपर्ने थियो । तर त्यसमध्ये एक करोड ४४ लाख ३२ हजार सात सय १६ रूपैयाँ मात्र असुल भएको छ । पाँच करोड २० लाख ९६ हजार ६ सय ७२ रूपैयाँ जरिवाना असुली हुन अझै बाँकी छ । यही अवस्था सबै अदालतमा छ ।

न्यायलयको कार्यसम्पादनमै ढिलाई हुनु र फैसलाको कार्यान्वयन समेत पर्याप्त नहुनुले न्यायलयप्रति नागरिक विश्वास कमजोर बनाउँछ । अझ विभिन्न मुद्दामा कैद सजाय तोकिएका ठूलो संख्या सजायविहीन हुनुले यसलाई थप मलजल गरेको छ । त्यसैले अदालतमा परेका मुद्दाहरूको न्यायोचित छिनोफानो गर्ने र फैसलाअनुसार त्यसको कार्यान्वयनको सुनिश्चितता गराउनेतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   ५ श्रावण २०८०, शुक्रबार ०५:०३