ढिस्कोले पुरिएर मृत्यु

सुर्खेत, ३ फागुन । (साबिस)
माटोको ढिस्कोमा पुरिएर सुर्खेतमा एक जनाको ज्यान गएको छ । जिल्लाको गर्पन गाविस–२ मेहेलीमा माटोको ढिस्कोले पुरिएर सोमवार एक जनाको ज्यान गएको हो ।
 गिट्टी कुट्दै गरेका स्थानीय ५१ वर्षीय यामबहादुर शाहीलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको थियो । ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका शाहीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । स्थानीय बासिन्दा देवबहादुर वलीले घाइते भएका शाहीको उपचार हुन नपाएरै ज्यान गएको जानकारी दिए । घाइते भएका शाहीलाई उपचारको लागि स्थानीय सानीलेक स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै ज्यान गएको बताएको छ । घटना सोमवार दिउँसो १ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यसैबीच वीरेन्द्रनगरमा एक महिला रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । सोमवार विहान स्थानीय कुइनेपानीको जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । महिलाले आत्महत्या गरेको हुनसक्ने भन्दै प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।