रोगको पहिचान भएन
दैलेख, ३ फागुन । (साबिस)
दैलेखमा दुई जना शिशुको ज्यान जाने गरी फैलिएको रोगको पहिचान हुनसकेको छैन । शनिवार रातीबाट जिल्लाको तोलीजैसी गाविसमा देखापरेको रोगको संक्रमणबाट गाउँका करिब दुई दर्जन बालबालिका बिरामी भएका छन् । रोगको पहिचान नहुँदा स्वास्थ्यकर्मीहरूले अहिले शंका र अनुमानको भरमा उपचार गरिरहेका
छन् । जिल्ला स्वास्थ्य कार्यालयबाट गएको स्वास्थ्यकर्मीहरूको टोलीले समेत सोमवारसम्म रोगको पहिचान गर्न नसकेको बताइएको छ ।
यसअघि झाडापखालाको संक्रमण भनिए पनि बालबालिकाहरूमा मात्र रोगको संक्रमण देखिएको र उपचारमा समस्या भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् । पाँच वर्षमुनीका बालबालिकाहरूमा रोगको संक्रमण देखिएको र दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरू बढी बिरामी भएका छन् । बालबालिकाहरूमा सुरुमा पखाला लाग्ने, वान्ता हुने र निमोनियाको जस्तो लक्षणहरू देखा पर्ने गरेको स्थानीयले बताएका छन् । झाडा पखालको आशंकामा उपचार गरिएको भए पनि रोग नियन्त्रण सम्भव नभएको स्वास्थ्यकर्मीहरूले बताए । ल्याब र पर्याप्त औषधिको अभाव हुँदा रोगको पहिचान नै गर्न नसकिएको उनीहरूको भनाइ छ ।
स्थानीय मेडिकल र स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सोमवार थप उपचारका लागि पाँच जना बिरामीलाई सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ । उनीहरूको अवस्था गम्भीर भएपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । बाँकी बालबालिकाहरूको स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । औषधि र स्वास्थ्यकर्मीहरूको अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ । प्रभावित क्षेत्रमा ल्याब र आवश्यक औषधि नहुँदा उपचारमा समस्या भएको डाक्टर विकास शाहले बताए । साथै उनले तत्काल ल्याब परीक्षण नगरेसम्म रोगको बारेमा केही भन्न नसकिने बताए । जिल्ला स्वास्थ्य कार्यालयबाट आइतवार राती स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा पुगेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन । संक्रमण फैलिएको तीन दिन बितिसक्दा समेत रोगको पहिचान हुन नसकेपछि मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले मंगलवार थप चिकित्सक र औषधिसहितको टोली प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलले रोगको पहिचान हुन नसकेको भन्दै निमोनिया हुन सक्ने बताए । उनले भने, ‘ल्याब परीक्षण नहुँदासम्म केही भन्न सकिने अवस्था छैन, अहिले शंका र अनुमानको भरमा उपचार भइरहेको छ ।’ बालबालिकाहरूमा मात्र रोगको संक्रमण भएको भन्दै उनले रोग नियन्त्रणका लागि आफूहरूले सक्दो प्रयास जारी राखेको बताए । उनका अनुसार जिल्लाका स्वास्थ्यकर्मीहरूबाट रोगको पहिचान हुन नसकेपछि रोग नियन्त्रण महाशाखा काठमाडौंबाट समेत मंगलवार ल्याब परीक्षणका लागि डाक्टरहरूको टोली प्रभावित क्षेत्रमा आउन लागेको छ । यो रोगको संक्रमणका कारण शनिवार राती उपचारका क्रममा तोलीजैसी– ८ निवासी नैन तिरुवाका सात महिनाका नाती अञ्जल विक र मन्दिरे तिरुवाको आठ महिनाका नाती कृष्ण विकको ज्यान गएको थियो ।
साझा बिसौनी संवाददाता ।