प्रादेशिक अभ्यासमा दलहरू

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ फागुन । 
गत पुस अन्तिम साता एकीकृत नेकपा माओवादीले सुर्खेतमा प्रदेश नं. ६ को भेला तथा प्रशिक्षण आयोजना ग¥यो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरूको उपस्थितिमा भेला सम्पन्न गरियो । २९ माघमा एमाओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको प्रदेशस्तरीय प्रशिक्षण वीरेन्द्रनगरमा नै भयो भने क्रान्तिकारी पत्रकार संघको प्रदेश नं. ६ को भेला पनि शनिवार वीरेन्द्रनगरमा नै सम्पन्न भएको छ । नयाँ संविधानले सात वटा प्रदेशको निर्धारण गरेपछि एमाओवादीले आफ्ना सबै साङ्गठनिक संरचनालाई प्रादेशिक स्वरूपमा रूपान्तरण गरिरहेको छ । प्रादेशिक अभ्यासमा अन्य पार्टीभन्दा एमाओवादी अगाडि देखिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले लगायतका अन्य दलहरूले प्रादेशिक संरचनामा पार्टीलाई लैजाने छलफल गरिरहँदा एमाओवादी भने त्यसलाई कार्यान्वयन गर्न थालिसकेको छ । एमाओवादीले राज्यको पुनर्संरचना अनुसार प्रादेशिक अभ्यासमा पार्टीलाई सञ्चालन गर्न सुरु गरेको हो । उसले ७ वटै प्रदेशमा पार्टीको प्रादेशिक कमिटी गठन गरिसकेको छ भने भ्रातृ सङ्गठनलाई पनि त्यही संरचनामा रूपान्तरण गर्ने काम अघि बढाएको 
छ । प्रादेशिक कमिटी गठन गर्ने मात्र नभएर प्रदेशस्तरीय भेला तथा प्रशिक्षण समेत एमाओवादीले सञ्चालन गरिरहेको छ । औपचारिक रूपमा राज्यकोतर्फबाट सङ्घीय ढाँचा अनुरूप कार्यक्रमहरू आउन नसके पनि प्रमुख राजनीतिक दल तथा अन्य संघ सङ्गठनहरूले प्रादेशिक संरचनाको अभ्यास सुरु गरिसकेका छन् । दलहरूको सहमतिका आधारमा प्रदेशहरूको सीमाङ्कन गरिए पनि नामाङ्कन भने गरिएको छैन । आयोगमार्फत् नामाङ्कन गर्ने जनाइएको छ । प्रदेशको राजधानी कहाँ हुने भन्ने पनि अहिल्यै टुङ्गो लागेको छैन । यद्यपि दलहरूले भने सङ्घीयतालाई आत्मसात् गर्दै प्रदेशको संरचनामा अघि बढेका हुन् । 
पूर्ण रूपमा प्रादेशिक संरचनाको कार्यान्वयन गर्न अझै केही वर्ष लाग्ने देखिन्छ । संविधान कार्यान्वयनकै चरणमा भएकाले पनि दलहरू प्रादेशिक संरचनामा आफूलाई रूपान्तरित गर्न थालेका हुन् । एकात्मक तथा केन्द्रिकृत स्वरूपका कारण हालसम्म देशको सम्पूर्ण साधन स्रोत तथा अवसर काठमाडौं केन्द्रित भएको भन्दै दलहरूले मुलुकलाई सङ्घीयतामा लैजाने निर्णय गरेका हुन् । सङ्घीयताको एजेण्डा केन्द्रिकृत राज्यसत्तालाई विकेन्द्रित गर्ने ध्येयका साथ अघि आएकोले प्रादेशिक सरकारलाई स्रोत र साधनको प्रयोगसहितको अधिकार दिनेगरी सङ्घीय संरचनामा मुलुकलाई लगिएको जिकिर दलहरूले गर्दै आएका छन् । 
शीर्ष दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले अन्य केही प्रदेशमा सङ्घीयताको अभ्यास सुरु गरिसके पनि प्रदेश नं. ६ मा भने सुरु भएको छैन । दुवै दलभित्र आन्तरिक रूपमा प्रादेशिक अभ्यासमा जाने छलफल भए पनि कार्यान्वयनको चरणमा पुगी नसकिएको नेताहरूले बताएका छन् । अन्य साना दलहरूले पनि आन्तरिक छलफल गरिरहेको बताइन्छ । यद्यपि सङ्घीय संरचना कार्यान्वयन गर्नका लागि पार्टी केन्द्रको निर्देशन कुरिरहेको उनीहरूले बताएका छन् । प्रदेशको राजधानी कहाँ हुने निश्चित नभए पनि प्रदेश नं. ६ मा सुरु भएका प्रादेशिक गतिविधि सुर्खेत केन्द्रित छन् । 
विभिन्न दल तथा सङ्गठनहरूलाई सुर्खेतलाई केन्द्रमा राखेर प्रादेशिक गतिविधि सञ्चालन गर्नुले सुर्खेतलाई प्रादेशिक राजधानीको आधारको रूपमा हेर्न थालिएको छ । सुर्खेतलाई नै राजधानी बनाउनेबारे स्पष्ट रूपमा धारणा निर्माण नगरिसकेको एमाओवादीले मूल पार्टी र दुई वटा भ्रातृ सङ्गठनको प्रदेश नं. ६ को भेला र प्रशिक्षण पनि सुर्खेतमा नै सम्पन्न गरिसकेको छ । 
प्रकाशित मितिः   ४ फाल्गुन २०७२, मंगलवार १०:५२