सानीभेरी–३ निर्माण सुस्त

ईआइए तयार, डीपीआरमा ढिलाई

सुर्खेत: वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) तयार भइसक्दा पनि सानीभेरी–३ जलविद्युत आयोजनाको निर्माण अघि बढ्न सकेको छैन । निजी लगानीमा निर्माण थालिएको ४६.७२ मेगावाटको आयोजना निर्माणको काम सुस्त गतिमा छ ।

उक्त आयोजनाका लागि विद्युत विकास विभागले २०७८ सालमा सर्वे अनुमति दिएको थियो । २०७८ मंसिरबाट अध्ययनको काम अघि बढाएको आयोजनाको कामको गति भने सुस्त छ । आयोजना निर्माणको काम अघि बढाउन सानीभेरी हाइड्रोपावर कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भने सम्पन्न गरेको छ । तर अन्य प्रक्रियामा ढिलाइ भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भएको छैन । जसले गर्दा काममा ढिलाइ भएको छ । अहिले डीपीआर बनाउने काम भने भइरहेको आयोजाले जनाएको छ ।

विद्युत विकास विभागले आयोजनालाई सर्वे अनुमति दिएको तीन वर्ष पूरा हुँदा समेत आयोजनाको कामले गति लिन नसकेको हो । प्राविधिकको टोलिले नापजाँच गर्ने बाहेकको कुनै पनि काम अघि नबढाएको मुसिकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष ज्ञानुचन्द्र ठकुरीले बताए । उनले भने, ‘हाम्रो वडाको भलखोलामा विभिन्न समयमो प्राविधिकको टोलि आउने नापजाँच गर्ने गरिएता पनि काम भने सुरु भएको छैन ।’

प्रस्तावित आयोजनाले कर्णाली र लुम्बिनी प्रदेशलाई समेट्छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक÷एक पालिका आयोजनाबाट प्रभावित हुनेछन् । रुकुम–पश्चिमको मुसिकोट नगरपालिका र रुकुमपूर्वको सिस्ने गाउँपालिकामा आयोजना निर्माण हुँदैछ । सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका भएर बग्ने सानीभेरी नदीमा आयोजना निर्माण गर्न लागिएको हो ।

सिस्ने गाउँपालिकाको वडा नं. ७ र ८ को सिस्नेरीमा ‘हेडबक्स’ निर्माण हुनेछ भने कर्णाली प्रदेशको मुसिकोट नगरपालिका वडा नं. १ भलखोलामा पावरहावस निर्माण गरिनेछ । अहिले आयोजना पूर्वअध्ययनको काम भइरहेको आयोजनाका कार्यकारी निर्देशक दिपक पौडेलले जानकारी दिए । आयोजना निर्माणस्थलसम्म विद्युतको सहज पहुँच नभएका कारण समस्या भएको जनाइएको छ । निर्देशक पौडेलले विद्युत प्रसारण लाइन विस्तार नहुँदा आयोजनाको कामको गति सुस्त रहेको बताए । ‘डिपीआर निर्माणको काम भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकनको काम सकियो । आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले ट्रान्समिसन लाइन जडान नगर्दा काममा बाधा पुगेको छ’ पौडेलले भने । विद्युत प्राधिकरणको ढिलाईले हाइड्रोपावरको कामले गति लिन नसकेको उनले जनाए ।

अर्कोतर्फ आयोजनामा लगानीको समेत टुँगो लागेको छैन । लगानीको सुनिश्चितता नहुँदा वित्तिय काम रोकिएको निर्देशक पौडेल बताउँछन् । आयोजनाको १८.५ मिटर अग्लो बाँध निर्माण हुने छ । पानी थिग्राउने पोखरीबाट ६.३ किलोमिटर लामो सुरुङबाट मुसिकोटको भलखोलामा रहने विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

 

दश अर्ब लाग्ने अनुमान

आयोजना निर्माणका लागि १० अर्ब लगानी लाग्ने अनुमान गरिएको आयोजनाका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । पौडेलका अनुसार डिपीआरको रिपोर्टका आधारमा लगानी सुनिश्चित हुनेछ । आयोजनाको पूर्वअध्ययनपश्चात् लगानीकर्ताको खोजी गरिनेछ ।

कर्णालीमा आयोजना निर्माणका लागि उचित वातावरण नहुँदा काम गर्न असहज हुने गरेको पौडेलको भनाइ छ । प्रदेश सरकारले समेत आयोजना निर्माणमा चासो दिएको छैन भने प्राधिकरणले टान्समिसन लाइन जडान गरेको छैन । विद्युत जडान नहुँदा पूर्वअध्ययनकै कामसमेत प्रभावित बनेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २८ असार २०८०, बिहीबार ०५:०५