बजेट खर्चमा कमजोर

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि लक्ष्यअनुसार बजेट खर्च गर्न सकेन । यद्यपि, विगतका वर्षहरूको तुलनामा भने केही प्रतिशतले सुधार गरेको छ । यो वर्ष ६७ दशमलव ५६ प्रतिशत अर्थात् २२ अर्ब २७ करोड ६६ लाख २८ हजार रूपैयाँ खर्च भएको हो । चालु आर्थिक वर्ष २०७९/०८० का लागि कूल ३२ अर्ब ९७ करोड १९ लाख ४२ हजार बराबरको बजेट विनियोजन गरिएको थियो । त्यसको ३२ दशमलव ४४ प्रतिशत भने खर्च हुन सकेन । चालुतर्फ कूल १३ अर्ब १० करोड ८३ लाख १९ हजार विनियोजन गरिएकोमा नौ अर्ब ५४ करोड ७६ लाख १९ हजार खर्च भएको छ । यो ७२ दशमलव ८४ प्रतिशत हो । त्यसैगरी पुँजीगततर्फ सरकारले १२ अर्ब ७२ करोड ९० लाख नौ हजार अर्थात् ६४ दशमलव आठ प्रतिशत खर्च गरेको छ । पुँजीगतका लागि १९ अर्ब ८६ करोड ३६ लाख २३ हजार छुट्याइएको थियो । सरकारले स्थानीय तहमार्फत ८८ दशमलव ७५ प्रतिशत खर्च गरेको छ ।

जेठ मसान्तसम्म १३ अर्ब नौ करोड ६६ लाख १७ हजार आठ सय ३२ रूपैयाँ अर्थात् ४० प्रतिशतमात्रै बजेट कार्यान्वयन गरेको प्रदेश सरकारले असारमा मात्र २७ प्रतिशत अर्थात् नौ अर्ब १८ करोडभन्दा बढी बजेट खर्च गरेको छ । विगतमाजस्त यस वर्ष पनि असार महिनामा मात्रै खर्च हुने प्रवृत्ति दोहोरिएको छ । मन्त्रालयगत रूपमा हेर्दा सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च भने कमजोर देखिन्छ । उक्त मन्त्रालयका लागि ११ अर्ब १२ करोड ८८ लाख ८३ हजार विनियोजन गरिएको थियो । जसमध्ये ५४.९० प्रतिशत मात्रै खर्च भएको छ । ६ अर्ब दश करोड ९२ लाख दश हजार रूपैयाँ खर्च भएको हो । त्यसमा पनि ७०.४८ प्रतिशत चालुतर्फको खर्च हो भने पुँजीगततर्फ ५४.५३ प्रतिशत मात्रै छ । पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएपनि मन्त्रालयले लक्ष्यअनुसार कार्यान्वयन गर्न नसकेको हो । सबैभन्दा कम खर्च मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गरेको छ । मन्त्रालयले ४५.७२ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

प्रदेशको कुल बजेटमध्ये करिब १० अर्बभन्दा बढी बजेट खर्च हुन नसकेर फ्रिज गएको छ । विकासमा पछि परेको प्रदेशमा भएको बजेट समेत कार्यान्वयन गर्न नसक्ने अवस्था विडम्बनापूर्ण छ । बजेट खर्चनमा सधैँ असफल हुँदै आएको सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएर ल्याएको छ । यसरी आकार मात्रै बढाउने तर खर्च प्रर्णालीमा सुधार गर्न नसक्ने अवस्थाको अन्त्य गर्नतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

प्रकाशित मितिः   २७ असार २०८०, बुधबार ०५:०३