बहुमतले बजेट पारित

सुर्खेत: आर्थिक वर्ष २०८०/८१ का लागि कर्णाली प्रदेश सरकारले ल्याएको बजेट बहुमतले पारित भएको छ । मंगलवार प्रदेश सभाबाट बजेट पारित भएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कूल बजेट ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रूपैयाँ बजेट ल्याएको छ । कूल बजेटमध्ये कर्णाली प्रदेश सरकारले नौ अर्ब २० लाख २४ हजार रूपैयाँ अर्थात् २६.९७ प्रतिशत चालुतर्फ खर्च गर्नेछ ।

यस्तै पुँजीगत खर्चका लागि १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रूपैयाँ अर्थात ५८.६५ प्रतिशत विनियोजन गरिएको छ । बाँकी १४.३८ प्रतिशत अर्थात् चार अर्ब ८० करोड चार लाख ४० हजार रूपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्न विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहका अनुसार आगामी आर्थिक वर्ष आन्तरिक राजस्व ८३ करोड ६२ लाख १२ हजार रूपैयाँ उठ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा खर्च नभएर बचेको सात अर्ब ४१ करोड ६ लाख पाँच हजार रूपैयाँ आगामी आर्थिक वर्षको कूल बजेटमा समावेश गरिएको छ ।

कर्णाली प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट राजस्व बाँडफाँटबापत आठ अर्ब ८४ करोड तीन लाख, वित्तीय समानीकरण अनुदानतर्फ १० अर्ब १६ करोड ४१ लाख, सशर्त अनुदानतर्फ चार अर्ब ७५ करोड तीन लाख, समपुरक अनुदानतर्फ ७६ करोड १६ लाख, विशेष अनुदानतर्फ ५९ करोड ७९ लाख रूपैयाँ प्राप्त भएको छ ।

प्रकाशित मितिः   २७ असार २०८०, बुधबार ०५:०१