ऐतिहासिक जीत
पछिल्लो एक महिनामा नेपाली फुटबलले दुई वटा ऐतिहासिक उपलब्धि हाँसिल गरेको छ । फूटबलमा प्राय निराश हुँदै आएका नेपाली खेलप्रेमीहरूलाई एक महिनामा फुटबल खेलाडीहरूले खुशीको बहार दिएका छन् । बंगलादेशमा सम्पन्न बंगबन्धु कप र भारतमा सम्पन्न सागको उपाधि जितेर खेलाडीहरूले प्रशंसा मात्र बटुलेका छैनन् नेपाली फुटबललाई नयाँ युगमा प्रवेश समेत गराएका छन् । फुटबल नेपालमा सर्वाधिक चर्चित खेल हो । तर नेपाली फुटबलले खेलप्रेमीहरूलाई लामो समयदेखि निराश बनाउँदै आएको थियो । यसबीच क्रिकेटमा प्राप्त उपलब्धिमा खेलप्रेमीहरूले सबैखाले अविश्वास, शंका र निराशाबीच नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशमा बंगबन्धु गोल्डकप जितेको एक महिना बित्न नपाउँदै भारतमा गएर उसकै भूमिमा भारतीय टिमलाई पराजित गर्दै २३ वर्षपछि सागको उपाधि कब्जा गर्न सफल भयो । यो नेपाली फुटबलको महŒवपूर्ण उपलब्धिको रूपमा लिइएको छ । उपाधिले मात्र होइन युवा खेलाडीहरूको मेहेनत, लगनशिलता र सुधारिएको प्रदर्शनले थप आशा जगाएको छ । अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षपछि पाएको यो उपाधिले सबै नेपालीलाई नयाँ खुशी ल्याइदिएको छ ।
नेपालमा सर्वाधिक लोकप्रिय खेलका रूपमा रहेको फुटबल पछिल्लो समय बद्नाम हुन पुगेको थियो । तर, बंगबन्धु गोल्डकप र सागमा प्राप्त सफलताले नेपाली फुटबलमा नयाँ आशा जगाइदिएको छ । एकातर्फ जीतविहिन अवस्था, अर्कोतर्फ नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान सागर थापालगायत पाँच खेलाडीमाथि म्याच फिक्सिङ गरेको आरोपमा एसियाली फुटबल महासंघले आजीवन प्रतिबन्ध लगाएसँगै नेपाली फुटबल बद्नाम भएको थियो । फिफा वरियतामा नेपाल दक्षिण एसियाली देशमध्ये पनि पुछारमा पुग्यो । यही अवस्थामा युवा टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि दिलाएको छ । यसले यो पनि साबित गर्न खोजेको छ कि महँगो रकम तिरेर विदेशी प्रशिक्षक राख्दैमा खेलको स्तर बढ्ने होइन । फुटबलमा उपाधि जित्न २३ वर्ष कुर्नुपर्ने अवस्था सिर्जना हुनु नेपाली फुटबलका लागि विडम्बना नै हो । गणेश थापाले एन्फा सम्हाले यता नेपालले उपाधि जितेको छैन । फुटबललाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गरेकै कारण नेपाली फुटबल ओरालो लागेको देखिन्छ । करिब २२ वर्ष अखिल नेपाल फुटबल संघमा एकछत्र राज गरेका गणेश थापाको पतनसँगै नेपाली फुटबलले उत्साह देखाएको छ । थापा आफैं फिफाबाट १० वर्षे प्रतिबन्धमा छन् । राष्ट्रिय खेलकुद परिषद्ले एन्फाभित्रको विवादलाई केलाउँदै निष्पक्ष र स्वार्थरहित रूपमा एन्फालाई अगाडि बढाए नेपाली फुटबलले नेपालको प्रतिष्ठा बढाउनेछ ।
२३ वर्षपछि नेपाली खेलाडीले देशको शान र गौरव बढाएका छन् । यो केवल फुटबल खेलप्रेमीका लागि मात्र नभइ सिङ्गो नेपालीका निम्ति नै अत्यन्त खुशी र आत्मगौरवको विषय हो । यसले फुटबलमा भएका भनिएका भ्रष्टाचार, कलह, म्याच फिक्सिङजस्ता प्रकरणले च¥याइरहेको घाउमा थोरै भए पनि मलमपट्टी लगाएको छ । खेलाडी छनौटमा निष्पक्षता, अभ्यास खेलको उचित व्यवस्थापन, राम्रा प्रशिक्षकको नियुक्ति, विवाद र कलहबाट मुक्ति, खेलाडीको भरणपोषणको राम्रो प्रबन्ध तथा खेलाडीमा राष्ट्रिय दायित्वबोध भए खेलकुद क्षेत्रमा नेपालले सहजै फड्को मार्न सक्ने आशा जागेको छ । यी दुवै जीतमा खेलाडी र प्रशिक्षकले पु¥याएको योगदान नेपाली फुटबल जगत, खेलप्रेमी र नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । एन्फाभित्र देखिएको विवाद र फुटबलमा देखिएको समस्याका बीचमा यो सफलताले नेपाली फुटबलको भविष्यले नयाँ मोड लिएको छ । सबै एकताबद्ध भएर काम गरे सफलता सम्भव छ भन्ने गतिलो पाठ खेलाडीहरूले सिकाएका छन् ।
साझा बिसौनी संवाददाता ।